सरकारी निर्णय लत्याएर कास्कीमा दूधको नयाँ मूल्य तोकियो

श्याम कुँवर २०७८ माघ २६ गते १४:४१

पोखरा ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँको दरले बढाउन सिफारिस गरेको भन्दै कास्कीका किसानले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाएका छन् । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल कास्कीले फागुन १ गतेदेखि लागु हुने गरी प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको हो ।


नेपाल सरकार मन्त्रिपरिषद्को बैठकलेसाबिकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसामात्र बढाएको छ । समितिको सिफारिस अनुसार अहिले बढेको मूल्य अनुसार किसानले ७ रुपैयाँ र उद्योगले ३ रुपैयाँ पाउनुपर्ने हो।कृषक समाजले किसानले प्रतिलिटर १ सय२० पाउने गरी भैसीको दूधको मूल्य १सय३० कायम गरेको कास्की अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए । नयाँ मूल्य निर्धारण अनुसार गाईको दूध प्रति लिटर १ सय कायम गरिएको छ । दही प्रतिलिटर १ सय ४०,पनिर प्रति केजी ८ सय, घिउ प्रति लिटर १ हजार २ सय र नौनी प्रतिकेजी १ हजार कायम गरिएको छ ।

भैंसीको दूध प्रतिलिटर १२०, गाईको दूध प्रतिलिटर १ सय, दही प्रतिलिटर १ सय ४०

Advertisement


अध्यक्ष तिमिल्सिनाले किसानको व्यवसायिक उत्पादनमा पर्न गएको लागत मूल्य वृद्धिका कारण दूधको मूल्य समायोजनन गरेको दाबी गरे । दाना, चोकरमा अत्यधिक मूल्य बढेका कारण सबै किसानलाई व्यवसाय सञ्चालनमा पर्न गएको विविध समस्याले मूल्य बढाएको उनले उल्लेख गरे ।‘किसानको उत्पादन लागत अनुसार दूधको मूल्य बढेको छैन,’अध्यक्ष तिमिल्सिनाले भने, ‘उत्पादन लागतमा भएको दोब्बर मूल्यवृद्धिको कारण बाध्यात्मक रुपमा दूधको मूल्य बढाएका छौं ।’


गत माघ २२ गतेको कार्यसमिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । किसानले प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाउन माग गर्दै आएका थिए । कृषक समाज नेपाल कास्की सचिव जीवन अधिकारीले सरकारको निर्णयले केही हदसम्म भएपनि माग सम्बोधन गरेको बताए । उनले आफू बाँचेर अरुलाई बचाउन बाध्यकारी रुपमा निर्णय गरेको जनाए । कृषक समाज नेपाल कास्की कोषाध्यक्ष वीरेन्द्र भण्डारीले राज्यले नै लागत मूल्य निर्धारण गर्ने बताए । राज्यसँग कति लामो समयसम्म किसान भर पर्ने भन्नेमा प्रश्नचिह्न खडा भएको उल्लेख गर्दै उनले अहिलेको दूधको मूल्यवृद्धि वैज्ञानिक र समय सान्दर्भिक नभएको दाबी गरे । उनले समाजमा आवद्ध सबै किसानले दूधको मूल्यवृद्धिको निर्णय कार्यान्वयन गर्ने जानकारी दिए ।

Advertisement


कास्कीमा दैनिक ४९ हजार लिटर दूधको माग छ । कास्कीमा २३ हजार लिटर दूध उत्पादन हुन्छ । कास्कीमा कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा ७देखि १० हजार लिटरसम्म दूध आयात हुन्छ । कास्कीमा २ सय ५७ दूध उत्पादन गर्ने किसान सूचीकृत छन् ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया