मतपत्र छाप्न साढे ११ करोडको कागज

समाधान संवाददाता २०७८ फागुन १८ गते १३:००

काठमाडौं ।
निर्वाचन आयोगले मतपत्र छपाइका लागि करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ । २०७९ वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइका लागि आयोगले बोलपत्र आह्वान गरेको थियो । सोही अनुसार आयोगले कागज खरिद सम्झौता गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


आयोगले ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा कागज खरिद गर्ने सम्झौता गरेको हो । आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जनाको २० हजार रुपैयाँ बराबरको बिमा गर्ने भएको छ । सोही अनुसार प्रस्ताव आह्वान आयोगले गरेको छ । जसमध्ये आयोगका पदाधिकारी, सचिवालयमा कार्यरत कर्मचारीहरु, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु (काज, स्थायी र करारसमेत) गरी ९ सय जनाको १ सय ४ दिनको बिमा हुनेछ ।


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७ सय ७७ कर्मचारीको ७० दिनको बिमा गरिनेछ । त्यस्तै मतदान केन्द्रमा खटिने ९४ हजार जनाको १५ दिन र मतगणना कार्यमा खटिने ९ हजार ३६ कर्मचारीहरुको १० दिनको बिमा गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया