पोखराका पूर्व मेयर गणेश शेरचन रहेनन्

समाधान संवाददाता २०७८ फागुन २२ गते ९:४६

पोखरा नगरपालिकाका पूर्व मेयर गणेश शेरचनको निधन भएको छ । राप्रपाका नेतासमेत शेरचनको ७८ वर्षको उमेरमा निधन भएको हो ।


मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरेका छन् । प्रवक्ता श्रेष्ठले शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको बताएका छन् ।


पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री भएका थिए ।

Advertisement


पोखरा अर्चलबोटका शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति पनि भएका हुन् । त्यति बेला उनी कम्युनिस्ट पार्टीसँग नजिक थिए । पछि उनी पञ्चायतको समर्थक भएका हुन् । पञ्च भइकन पनि उनी उदारवादी मानिन्थे । उनी पोखराको मेयर हुँदा उनीको स्वच्छ छवि थियो ।


शेरचनले कुनै बेला पोखरामा पत्रकारिता पनि गरेका थिए ।

Advertisement


तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । उनी तत्कालीन राप्रपा नेपालको संस्थापक महामन्त्री थिए । राजाको प्रत्यक्ष शासनकालमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक थिए ।


शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।
शेरचनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् ।

तपाईको प्रतिक्रिया