कास्कीमा २६७ जना मतदाताको नाम छुट्यो

सञ्जय रानाभाट २०७८ चैत ५ गते १७:०८

सञ्जय रानाभाट

पोखरा ।
कास्कीमा २ सय ६७ जनाको नाम मतदाता नामावालीमा नाम छुटेको छ । नाम दर्ता गराए पनि मतदाता नामावलीमा नाम नदेखिएपछि निर्वाचन कार्यालय पुगेर कतिपयले गुनासो गरेका छन् ।


शुक्रबार निर्वाचन कार्यालय पुगेका नेकपा एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछाने आफ्नो वडामा धेरै जनाको नामावलीमा नाम छुटेको बताए । निर्वाचन कार्यालयले नाम ढिला पठाएकै कारणले नामावलीमा नाम छुटेको उनले सुनाए । ‘निर्वाचन कार्यालयले समय सीमाभन्दा ढिला नामावली पठायो । २७ नम्बर वडाका धेरै मान्छे छुटेको धेरै गुनासो आएपछि कार्यालय आएर बुझ्दा नाम छुटेको रैछ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेका नागरिकलाई मतदान गर्नबाट बञ्चित गराउन मिल्छ ?’

Advertisement


निर्वाचन कार्यालय गण्डकीले दाबीविरोध पूर्व नै नामावली पठाए पनि निर्वाचन आयोगको केन्द्रीय कार्यालयले नाम छुटाएको निर्वाचन कार्यालय कास्कीका प्रमखु हुमनाथ पराजुलीले बताए । ‘निर्वाचन कार्यालयले समय सीमामै नामावली पठाएको थियो । २६ फागुनसम्म आयोगमा नाम पठाउने म्याद थियो । तर, हाम्रो कार्यालयले २० गते नै पठाउँदा पनि नामावलीमा नाम छैन,’ उनले भने, ‘आयोगले १८ गतेसम्म पठाउनेहरुको नाम समावेश गरेको छ । १९ गते विदा थियो । २० गते पठाउँदा पनि नामावलीमा नाम छैन ।’ निर्वाचन कार्यालयमा आइपुग्ने अधिकांश कास्कीकै अन्य वडाबाट मतदाता नामावली सार्नेहरु छन् ।


कास्कीका २६७ जनाको नाम मतदाता नामावलीमा छुटेको पराजुलीले बताए । ‘बसाइसराइ गरेर आएका, विवाह गरेर आएकाहरुको वा अनुकूल वडामा नामावली सार्न खोज्नेहरुको आयोगमा नाम अप्डेट नहुँदा नामावालीमा नाम छुट्यो,’ उनले भने ।

Advertisement


कास्कीसहित काठमाडौं, सिराहमा पनि मतदाताको नाम छुटेको छ । आयोगका एक कर्मचारीका अनुसार देशभरका ३१ वटा जिल्लाका मतदातामध्ये कतिपयको नाम छुटेको छ । ‘सिराहमा १८ सय जना मतदाता नामावलीमा छुटेका छन् । अरु जिल्लाबाट कति छुटेका छन् । खुलेको छैन,’ उनले भने, ‘यसरी निर्वाचन कार्यालयले ढिला पठाएकै कारणले मतदानबाट बञ्चित गराउनुभन्दा ती नामलाई मतदाता नामावालीमा टिपाउनुपर्छ ।’ कास्कीमा छुटेकामध्ये केही सम्भावित वडाध्यक्ष, वडा सदस्यहरुको समेत खुलेको छ ।


पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले चुनावमा १ मतकै अन्तरले पनि हारजित हुन सक्ने हुँदा मतदाताको नाम छुटाउनै नमिल्ने बताए । ‘नाम छुट्नु मतदाताको त्रुटि होइन, आयोगको कमजोरी हो,’ उनले भने, ‘जसले कमजोरी गरेको हो, उसैले सच्च्याउनुपर्छ नत्र ठूलो अन्याय हुन्छ ।’


निर्वाचन कार्यालयका एक कर्मचारीका अनुसार निर्वाचन आयोगले चाहे अन्तिम नामावलीमा नाम प्रकाशित गर्न सक्छ । तर, निर्वाचन कार्यालयले सानो कुरालाई पहाड बनाएको उनले आरोप लगाए । ‘कार्यालयबाट भएको त्रुटिलाई आयोगले सच्चाउनुपर्छ । विगतका निर्वाचनमा छुटेकाहरुको नाम अपडेट भएको थियो,’ उनले भने, ‘अब आयोगले अन्तिम नामावली प्रकाशन गर्छ । यो बेला छुटेकाहरुको नाम प्रकाशन गरे मतदातालाई न्याय मिल्छ ।’

उम्मेदवारी दर्ता ११ र १२ गते

निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले कार्यक्रम सार्वजनिक गरेको हो ।


आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । यसका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।


आयोगले १२ वैशाख साँझ ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने भोलिपल्ट उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ ।

त्यसपछि आयोगले २ दिन उजुरीमाथि छानबिन गर्ने भएको छ भने १५ वैशाख साँझ उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । १६ वैशाखमा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यही साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

आयोगले १७ वैशाखमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । सरकारले आगामी वैशाख ३० गते शुक्रबारका लागि स्थानीय चुनाव गर्ने घोषणा गरेको छ । त्यसको ४८ घण्टाअघि २७ वैशाख राति १२ देखि मौन अवधि लागू हुने आयोगले जनाएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया