‘काकाकुल’ बन्दै पोखरेली

सञ्जय रानाभाट २०८१ वैशाख १९ गते १२:२२

सञ्जय रानाभाट, पोखरा ।
पोखरा २ विन्ध्यवासिनीको धारापानी मार्गको डोलराज सिग्देलको घरको धारामा मंसिरमा पानी आएको थियो । त्यस यताको पाँच महिनामा उनको घरको धाराबाट पानी नै चुहिएको छैन । सोही ठाउँकी सुनिता पुडासैनीको घरमा भने पानी नआएको २ महिना भयो ।


पानी माग्दै उनीहरु जस्तै धारापानी मार्गका करिब ५० घरधुरी वडा कार्यालय, खानेपानी संस्थान पोखरा धाइरहेका छन् । यसअघि एक दिन बिराएर पानी आउने गरेको थियो । १/२ दिनमा समस्या समाधान हुने भन्दै खानेपानी संस्थाले आश्वासन दिए पनि धारामा पानी आएको छैन । समस्या समाधानको विकल्प पनि नखोजिएको स्थानीयहरु बताउँछन् ।


सिग्देल भन्छन्, ‘धारामा पानी नदेखेको महिनौं भयो । भोलि दिन्छौं भन्छन् । तर, पानी पाइएको छैन । पानीकै लागि वडा कार्यालय धाउने र खानेपानी संस्थाको कार्यालय धाउने काममात्र भएको छ ।’

Advertisement


एउटै टोलमा कसैको घरमा ५ महिनादेखि पानी नआउने, कसैको २ महिनादेखि नआउनुको कारण भने भौगोलिक धरातल हो । खानेपानी संस्थानको पानीको पाइप कुन सतहमा छ, सोही अनुसार नजिक र होचो ठाउँमा रहेका घरमा २ महिनाअघि सजिलै पानी आउँथ्यो । अहिले ती ठाउँमा पनि पानी आउँदैन । सुनिता भन्छिन्, ‘धारामा पानी आउने आशमा बसे त भान्सा पनि चल्दैन । पानीका लागि बोरिङबाहेक अर्को उपाय छैन ।’


आफ्नो घर लगायतका टोलका करिब ५० घरधुरीले यस्तो समस्या व्यहोरिरहेको उनले सुनाइन् । घरमा पानी नआउने परिवारको समूह बनाएर वडा कार्यालय र खानेपानी संस्थानमा पुगे पनि सुनुवाई हुन नसकेको उनको गुनासो छ ।

Advertisement

लामो खडेरी मुल सुक्दा र पानी कम हुँदा अहिले १५ हजार घरधुरीलार्य खानेपानीको समस्या छ


पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांगले पनि पानीको समस्या समाधान गर्न नसकिएको स्वीकारे । उनले पोखरा २ को एउटा क्षेत्रमा मात्र नभएर धेरै ठाउँमा पानीको समस्या रहेको उल्लेख गरे । ‘घरमा पानी आएन भनेर एक ठाउँबाट होइन, दैनिक ५/१० ठाउँबाट डेलिगेसन आउन थाल्यो ।

त्यही भएर आज उठ्नेबित्तिकै मर्निङ वाक गर्दै विन्ध्यवासिनी खानेपानी संस्थानका सरसँग भेटे । उहाँहरुले छिट्टै मिलाउँछौं भनेर आश्वासन दिनुभएको छ,’ वडाध्यक्ष प्रधानांगले भने । बढ्दो खानेपानी समस्या समाधान गर्न आउँदा बजेटको प्रथामिकतामा खानेपानीलाई राखिने वडाध्यक्ष प्रधानांगले जनाए ।


खानेपानी संस्थान विन्ध्यवासिनी इकाइ प्रमुख प्रकाश सिलवालले एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा पानी पुर्‍याउन नसकेको बताउँछन् । ‘खानेपानी समस्या आउँदा पनि कहाँ हो भनेर एक छिन सोच्नुपर्ने बेला आयो । पोखराका धेरै ठाउँमा खानेपानी पुर्‍याउन सकिएको छैन,’ उनी भन्छन्, ‘पानी आएन भनेर कार्यालयमा धेरै हुनुहुन्छ । हामी समस्याको समाधान खोजी गरिरहेका छौं । खानेपानीको नयाँ स्रोत नखोजी त अहिले आवश्यकता पूरा गन सक्ने अवस्थामा संस्था छैन ।’


३० प्रतिशत घरमा छैन पानी
पोखरा महानगरपालिकाका ३३ वटै वडामध्ये १ देखि १९ वडासम्म खानेपानी संस्थाले पानी वितरण गर्दै आएको छ । मर्दीखोला मुहान, भोटीखोला मुहान, कालीमुढा मुहान र बालधारा मुहानबाट ल्याइएको पानी उपत्यकामा वितरण गर्ने गरिएको छ । अहिले ती मुहान पनि पानी कम आउन थालेको छ ।


यी मुलबाहेक संस्थाले पोखराका १५ वटा बोरिङबाट पानी निकालेर वितरण गर्दै आएको छ । फूलबारी, पार्दी, हिमाली टोल, अमरसिंहचोक, चाउथे, माटेपानी र घलेचोक रामबजारको बोरिङबाट पानी निकालेर वितरण गर्दै आएको भए पनि खानेपानी समस्या समाधान गर्न सक्ने अवस्था नरहेको संस्थानका पोखरा शाखा प्रमुख आशीष कार्कीले बताए ।


लामो समय पोखरामा खडेरी पर्दा पानीका मुहान सुकेका छन् । त्यस कारण आवश्यकता अनुसार पानी उपलब्ध गराउन नसकिएको कार्कीको भनाइ छ । ‘पोखराको दैनिक पानीको माग ७ करोड लिटर हो । अहिले साढे ४ करोड लिटरभन्दा बढी हामीले दिन सकेका छैनौं,’ उनले भने । पोखराका ५१ हजार घरधुरीमध्ये ३० प्रतिशत घरमा पानी पुर्‍याउन नसकेको उनी स्वीकार्छन् ।


कार्कीकै शब्दलाई संख्यामा बदल्दा पोखराका करिब १५ हजार घरधुरीले अहिले खानेपनी समस्या बेहोरिरहेका छन् । ‘आकासबाट पानी नपरेपछि उपलब्ध खोलाको पानी पनि सुक्दै गएको छ । यस्तो अवस्थामा तत्काल पानीको समस्या समाधान गर्न कठिन छ,’ उनले थपे, ‘पानी नपरुञ्जेल पोखरामा आवश्यक पानी उपलब्ध हुन सक्ने अवस्था छैन । तैपनि हामी मिलाउने प्रयास गरिरहेका छौं ।’


पोखरामा बढ्दो जनसंख्यासँगै माग पूरा गर्न सरकारले मेलम्ची जस्तो आयोजना छिट्टै सुरु गर्नुपर्ने अवस्था रहेको सरोकारवालाहरु बताउँछन् । जाइकाको सहयोगमा पोखरा उपत्यकामा खानेपानी सुधार आयोजना चलिरहेकाले पनि पानी वितरणमा समस्या भएको छ । यो आयोजना अहिले अन्तिम चरणमा छ । आयोजना सकिएपछि पानीको गुणस्तर र आपूर्ति दुवै सुधारिने संस्थानको दाबी छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया