फोहोर नउठ्दा पोखरा दुर्गन्धित

सञ्जय रानाभाट २०७८ चैत ५ गते १७:१२

सञ्जय रानाभाट

पोखरा ।
पोखरा महानगरपालिका कार्यालयको गेट छेउमै फोहोर थुप्रिएको छ । सडक पेटीमा थुपारिएका फोहोरm मैलाले सडक कुरुप बनेको छैन, रोग फैलिने डर पनि उत्तिकै बढेको छ । बाटोमा हिँड्नेहरु नाक छोपेर हिँडिरहेका देखिन्छन् ।


अहिले महानगरबासीको घर घरमा फोहोर थप्रिएको छ । व्यवसाय, उद्योग, कलकारखानामा फोहोर जम्मा भएको छ । यसको मुख्य कारण हो, महानगरले फोहोर मैला व्यवस्थापन गर्न नसक्नु र स्थानीयका माग पूरा नगर्नु ।

Advertisement


अहिले पोखरा महानगरले फोहोर, मैला व्यवस्थापन गर्दै आएको पोखरा १४ मा निर्माण गर्नुपर्ने विकास, निर्माणका पूर्वाधार नबनाउँदा स्थानीयले फोहोर मैला लैजाने गाडीलाई ल्यान्डफिल साइट पुग्नुभन्दा अघि नै रोकेर फर्काएका छन् । वडामा फोहोर, मैला व्यवस्थापनसँगै स्वास्थ्य र विकास निर्माण नगरेपछि आफूहरु आन्दोलनमा उत्रिएको संघष समिति अध्यक्ष बोधराज कार्की बताउँछन् ।


‘वडामा फोहोर मैला व्यवस्थापन गर्दा स्वास्थ्यका मापदण्ड पालना गर्नुप¥यो । यसका लागि स्वास्थ्य ल्याबसहितको सहरी स्वास्थ्य चौकी बनाउनुप¥यो,’ कार्कीले भने, ‘दाह संस्कारका लागि आवश्यक घाट निर्माण, सडक र पोखरा १४ र पोखरा २१ निर्मलपोखरी जोड्ने पुल हाम्रा माग हुन् ।’ उनले महानगरपालिकाले ल्यान्डफिल साइड सञ्चालन गर्दा आफूहरुका माग पूरा नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको सुनाए । ‘हामीले ४ दिन भयो गाडी रोकेको । माग पूरा नहुँदासम्म हाम्रो आन्दोलन जारी हुन्छ,’ कार्कीले थपे ।

Advertisement


फोहोर व्यवस्थापनमा अन्योल हुँदा पोखराका मुख्य चोकहरु महेन्द्रपुल, चिप्लेढुंगा, भैरव टोल, बगर, न्युरोड, नयाँबजार, हस्पिटल, अमरसिंह चोक, लेकसाइड आदिमा फोहोरले दुर्गन्ध फैलाएको छ ।


‘अहिले पोखराको सडकमा देखिएको फोहोर वडा नम्बर १४ ले गरेको राजनीति होइन । अपमान र विभेदले आजित भएपछि गरेको विद्रोह हो । अटेर हो । यसले सर्वसाधारणलाई मर्का त परेको छ, तर तपाईंहरूलाई परेको २÷४ दिने मर्काको तुलनामा हामीले खेपेको ऐतिहासिक विभेदको प्रताडना कयौँ गुणा पीडादायी छ,’ स्थानीय गणेश पौडेले आफ्नो फेसबुकमा लेखेका छन् । पौडेलले आगामी ३० वैशाखमा हुने स्थानीय चुनावमा मयेरमा लड्ने घोषणसमेत गरेका छन् ।


आन्दोलनमा उत्रिएसँगै महानगरको फाहोरमैलामा व्यवस्थापन समस्या भएको महानगरपालिकाकी सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले बताइन् । उनका अनुसार पोखरामा दैनिक सय टन फोहोर व्यवस्थापन गर्नुपर्छ । बरालले समस्या समाधानका लागि शुक्रबार स्थानीय संघर्ष समितिसँग कुरा भएको सुनाइन् ।


‘४ दिन भयो हामी पोखरामा फाहोर मैला व्यवस्थापन हुन नसकेको । यसमा हामी चिन्तित छौं । स्थानीयको चासोमा गम्भीर छौं । स्थानीयका माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भनिन् । ल्यान्डफिल सञ्चालनपछि वडामा विकासबारे २८ बँुदे समझदारी भएको समितिका अध्यक्ष कार्कीले बताए । ‘माग पूरा भएनन् । बारम्बार हाम्रो मेयर उपमेयरसँग वार्ता भयो । तर माग सम्बोधन नहुने देखिएपछि आन्दोलनमा उत्रिनुपरेको हो ।’ महानगरले वास्ता नगर्दा आफूहरुले आन्दोलन गर्नुपरेको उनले जिकिर गरे । स्थानीयसँग भएको सहमति महानगरले यथाशीघ्र पूरा गर्नुपर्ने उनको भनाइ छ ।


यसरी महानगरपालिकाको फाहोर मैला व्यवस्थापन गर्न नसक्नु विडम्बना भएको नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन् । उनले फाहोरमा राजनीति भएको टिप्पणीसमेत गरे । पौडेलले फेसबुकमा लेखेका छन्, ‘पोखराको फोहोरमाथि राजनीति गर्ने आन्दोलनकारी र यसको बेवास्ता गर्ने महानगरका पदाधिकारीहरु वातावरणीय प्रदूषणका लागि उत्तिकै जिम्मेवार छन् ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया