पाेखरामा १ लाख दिएर आमा मार्न लगाउने कुपुत्र

सञ्जय रानाभाट २०७८ चैत ८ गते ९:५२

पोखरा ।
घर बेच्न नमानेपछि साथीलाई १ लाख रुपैयाँ दिएर आमा मार्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ शीतलमार्ग बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ । हत्या गरेको आरोपमा ओमका साथी कुमार गुरुङ पनि पक्राउ परेका छन् ।
३६ वर्षे ओमले चैत ३ गते ३७ वर्षीय कुमारलाई आफ्नै आमा नौमाया नेपालीलाई मार्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ओमको पुख्र्याैली घर मादी १० हो भने कुमार मादी ५ का बासिन्दा हुन् ।


‘ओमबहादुरको ऋण रैछ । पटकपटक आमालाई जग्गा बेच्न भनेपनि आमाले घरजग्गा बेच्न तयार नभएपछि आमालाई मारेर सम्पति लिने योजना बनाउनुभएको रैछ,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने । ओम नौमायाका जेठा छोरा हुन् । आमा मारेको भनी कान्छा छोरा टेकबहादुरले दाजु ओम र कुमार विरुद्ध किटानी जाहेरी प्रहरीलाई दिएका छन् ।


प्रहरीका अनुसार ओमबहादुर यसअघि रोजगारीका लागि दुबईसम्म पुगेका थिए । उनी दुबई गएर फर्केपछि नेपालमा औधी जाँड खाने थाले । पैसाको अभाव उनलाई दिनहुँ खट्किथ्यो । डिएसपी तिवारीका अनुसार पैसाको अभाव मुख्य कारण देखिन्छ । ‘नेपालमा आम्दानीको बाटो केही भएन । आमालाई जग्गा बेच्न पनि भने तर, आमा तयार नभएपछि हत्या गर्ने योजनामा पुगे,’ तिवारीले भने ।

Advertisement


चैत ३ गते पनि सधैं झै ओमले रक्सी खाएका थिए । कुमारसँगसँगै रक्सी खाएर उनीहरुले आमा मार्ने योजना बनाएको खुलेका छ । रक्सीको नसाकै सुरमा ओमले आमालाई मारे पैसा दिने प्रस्ताव कुमारलाई राखे । ‘कुमार आमा मार्दे म यसमा सहयोग गर्छु । आमाले घरजग्गा बेच्न मान्नुभएन । यसबापत म तलाई १ लाख दिन्छु,’ आरोपित ओमबहादुरले त्यस दिनको घटनाबारे प्रहरीलाई बयानमा भनेका छन् । घर पुगेपछि ओमले कुमारलाई घरभित्र पठाउँछन् । कुमारले आमाको घाँटी थिचेर हत्या गर्छन् । दुवैजना फेरि कुमारकहाँ गएर सुत्छन् ।


भोलिपल्ट घर आएर ओमले आमाको हत्या भएको भन्दै टोलमा हारगुहार मच्चाउँछन् । प्रहरीकै भनाइमा टोलका कसैले पनि ओममाथि नै शंका गरेनन् । किनभने बिरामी आमाको हेरचाह उनैले गर्दै आएका थिए । ओमले भोलिपल्ट ४ गते बिहान ओमबहादुर नेपालीले आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी आफैले प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

Advertisement


ओमले घरमा आफू नहुँदा कसैले आमा मारेको भन्दै बिहान टोलका मान्छे र प्रहरीलाई पनि खबर गरेका थिए । वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर विक्रम कुँवर नेतृत्व टोलीले तुरुन्तै अनुसन्धान थाल्दा ओम र कुमार शंकाको घेराभित्र परिरहालेका थिए । त्यसपछि पक्राउ गरी थप अनुसन्धान गर्दा उनीहरुलाई प्रहरीले ‘दोषी’ भेटेको थियो ।


प्रहरीले ओम र कुमारलाई थुनामा राखी थप अनुसन्धान गर्न कास्की अदालतबाट अनुमति लिइसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन् । उनीहरुमाथि अनुसन्धान गर्न ५ गते अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको हो ।
सुकुम्बासी बस्तीको घर बेच्न जेठा छोरा ओमबहादुरले आमा नौमायालाई दबाब दिँदै आएका थिए ।

कास्कीको मादी गाउँपालिका १० स्थायी ठेगाना भएको नेपाली परिवार पोखरा १२ शीतलदेवीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएको थियो । हत्या आरोपमा पक्राउ परेका ओमका साथी कुमारको घर पनि मादी गाउँपालिका वडा नम्बर ५ हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया