पाेखरामै ३० हजार घुस खुवाएर लाइसेन्स, नक्कली फेसबुक आइडी बनाउँदै लाखौ ठगी

समाधान संवाददाता २०७८ चैत १० गते १३:१९

पोखरा ।
उनी आफूलाई अर्जुन कटुवाल भनेर चिनाउँथे । त्यही नामबाट फेसबुक आइडी खोलेका थिए । शान्ति सेनाको मिसनमा काम गर्छु भन्थे । खासमा उनी नेपाली सेनामा ५ वर्ष काम गरेर भागेका थिए । सेनामा हुँदा खिचेका फोटा फेसबुकमा हाल्थे र शान्ति सेनामा छु भन्थे । नयाँ नयाँ मान्छेलाई फेसबुकबाट साथी बनाउने अनि सिंगापुरे पुलिसमा लगाइदिन सक्ने आश्वासन बाँड्थे ।


त्यस्तै आश्वासनको विश्वास गरेर कतिपयले अर्जुनलाई पैसा पनि बुझाए । त्यसैमध्येकी हुन् सरिता खड्का र सिर्जना तामाङ । दुवैलाई अर्जुनले फेसबुकबाटै साथी बनाएका थिए । सरिताकी बहिनीलाई सिंगापुरे पुलिसमा भर्ती हुने रहर थियो । अर्जुनले भर्ती गराइदिनसक्ने भनेपछि उनी लोभिइन् । अर्जुनले डेढ लाख रुपैयाँ मागे । सरिताले अर्जुनका साथीको नाममा ५० हजार रुपैयाँ पठाइदिइन् । तर त्यसको भोलिपल्टै अर्जुनको फेसबुकबाट उनी ब्लक भइन् ।


पैसा पठाउनासाथ फेसबुकबाट ब्लकमा परेकी सरितालाई आफू ठगिएको थाहा भइहाल्यो । सिर्जना तामाङ भने सरिताभन्दा बढी ठगिइन् । तामाङ पनि फेसबुकबाट अर्जुनसँग जोडिएकी थिइन् । आफू नेपाली सेनाको क्याप्टेन भएको अर्जुनले सिर्जनालाई बताएका थिए । सिर्जनालाई चाहिँ २ जना भाइलाई सिंगापुरे पुलिस बनाउनु थियो । अर्जुनले १५ लाख रुपैयाँ दिए आफूले त्यति रहर पूरा गरिदिनसक्ने बताए । ‘१५ लाख रुपैयाँ पूरै पहिल्यै दिनुपर्दैन, भर्ती भइसकेपछि १० लाख दिए हुन्छ र अहिले ५ लाख भए पुग्छ,’ अर्जुनले सिर्जनालाई भनेका थिए । सिर्जनाले ५ लाख सरिताले जस्तै गरी आइएमई गरिदिइन् । त्यसपछि उसै गरी सिर्जनालाई पनि अर्जुनले फेसबुकमा ब्लक ठोकिहाले ।

Advertisement


अर्जुन कटुवालको वास्तविक नाम त्यो थिएन । धनबहादुर परियार थियो । त्यो भेद कहिले खुल्यो भने जब सरिताले आफू ठगिएको भन्दै प्रहरीमा जाहेरी दिइन् अनि कास्की प्रहरीले फागुन ३० गते उनलाई पक्राउ ग¥यो । परियार पोखराको अमरसिंह चोक बस्थे । खास घर भने ओखलढुंगाको मानेभन्ज्याङ हो । धनबहादुरबाट ठगिएका सिर्जना र सरिता पनि ओखलढुंगाकै हुन् ।
धनबहादुरले घुस खुवाएर मोटरसाइकलको लाइसेन्स पनि निकालेको भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले ३० हजार रुपैयाँ घुस खुवाएर पोखराबाटै लाइसेन्स निकाल्न सफल भएका हुन् ।


धनबहादुरबाट थुप्रै नक्कली कागजात प्रहरीले बरामद गरेको छ । तर लाइसेन्स भने घुस खुवाएरै सक्कली नाममा सक्कली नै निकाल्न सफल भएको देखिएको छ । जग्गाधनी प्रमाणपुर्जा भने अर्जुन कटुवालको नाममा बनाएको फेला परेको छ । धनबहादुरले धन कमाउने लोभमा दोलखाका अर्जुन बस्नेतलाई पनि ठगेको देखिएको छ । अर्जुनका छोरालाई नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाइदिने भनेर उनले सबा ४ लाख रुपैयाँ ठगेका थिए ।
उनले आफू शान्ति सेनाको मिसनमा कार्यरत भएको भन्दै फेसबुकबाट विभिन्न व्यक्तिलाई प्रलोभन देखाउँदै ठगी गरेको कास्की प्रहरीका डिएसपी सुन्दर तिवारीले बताए । ‘फरक नामबाट फेसबुक एकाउन्ट खोल्ने, यसबाट नयाँ नयाँ व्यक्तिसँग कुरा गर्ने र अन्तिममा आइएमीबाट पैसा पठाउन लगाउने र पैसा पाएपछि ब्लक गर्ने खुलेको छ,’ डिएसपी तिवारीले भने ।

Advertisement


प्रहरी अनुसन्धानमा उनले व्यक्तिलाई प्रभावित पार्न शान्ति सेनामा गएका फोटोहरु हाल्ने, नेपाली सेनाको पोसाक देखाउनुका साथै सेनाको क्याम्पकै सिपाहीसँग फोटो हालेर प्रभावित बनाउँदै आएको खुलेको छ । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले कास्की अदालतबाट अनुमति पाइसकेको छ ।


परियारको साथबाट अर्जुन कटुवालको नामबाट लिएको एसएलसीका प्रमाणपत्र, प्रेरणा बोर्डिङ स्कुलको चारित्रिक प्रमाणपत्र, दज्र्यानी चिह्न, नामको चेसप्लेट, धनबहादुर परियार नामबाट लिएको सवारी चालक अनुमतिपत्र, नेपाली सेनाको सहसेनानी दर्जाको नक्कली परिचयपत्र, नेपाली सेनाले प्रयोग गर्ने एक सेट चुस्ता प्रहरीले बरामद गरेको छ । परियारको साथबाट अर्जुन कटुवालको नाममा रहेको जग्गाधनी पुर्जा, बा८४प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।


डिएसपी तिवारीका अनुसार उनको साथबाट प्रहरीले थप सेनाको ज्याकेट, तम्लेट, बेल्ट, दापसहितको खुकुरी, सेनाको आधिकारिक लोगोको उपसेनानी पदको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागको जंगी अड्डाको उम्मेदवार फारम, ड्रेस, ट्रयाकसुट बरामद गरेको छ ।


कास्की प्रहरी प्रमुख एसपी रमेश थापका अनुसार धनबहादुर ५ वर्ष नेपाली सेनामा काम गरी छोडेर मलेसिया पुगेका थिए । परियारले मलेसियाबाट ठगी गर्न थालेको खुलेको छ । उनले विदेशबाट आएपछि पोखराको अमरसिंहमा मासु पसल खोलेको पनि अनुसन्धानमा देखिएको एसपी थापाले बताए । कास्की प्रहरीले उनलाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बधी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिहेको छ ।

तपाईको प्रतिक्रिया