महानगरमा गठबन्धनको एउटै घोषणापत्र

समाधान संवाददाता २०७८ चैत २० गते १२:२९

पोखरा ।
आसन्न स्थानीय चुनावमा कास्कीमा सत्ता गठबन्धनका दलले मिलेर जाने संकल्प गरेका छन् । दलका नेताहरुले पोखरा महानगरपालिकाको मेयरका लागि साझा घोषणपत्र बनाएर जनतामा जाने उल्लेख गरे ।


शनिबार आयोजित समृद्ध पोखराका लागि ‘मेरो मेयरको योजना’ कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछाने र नेकपा एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्य तालमेल गरी अघि बढ्ने बताएका हुन् । यद्यपि तिनै दलले मेयरमा दाबेदारी गरेका छन् ।


कांग्रेस सभापति बरालले गठबन्धनमध्ये बलियो दाबेदार र अघिल्लो चुनावमा ल्याएको मतलाई हिसाब गर्दा कांग्रेसले मेयर पाउनुपर्नेमा जोड दिए । ‘यो स्वाभाविक र प्राकृतिक कुरा हो, कांग्रेसले टिकट पाउनुपर्छ । महानगरमा अरु पार्टीभन्दा कांग्रेस बलियो छ र सबैभन्दा ठूलो संगठन हाम्रो छ,’ बरालले भने ।

Advertisement


पोखरालाई परिवर्तन गर्न आफ्नो पार्टीले मेयरको टिकट पाउनुपर्ने माओवादी केन्द्रका नेता लामिछानेले बताए । ‘५ वर्षअघि पनि हामीले गुन लगाएका थियौं । अब पंैचो तिर्ने बेला भएकाले पार्टीले टिकट पाउनेमा म आशावादी छु,’ लामिछानेले भने ।


एकीकृत समाजवादी कास्की अध्यक्ष आचार्यले आफूहरुले पार्टी फोरेर गठबन्धनलाई सहयोग गरेकाले पोखराको मेयर आफूहरुको भागमा पर्नुपर्ने तर्क गरे । उनले आफ्नो पार्टीले टिकट पाए एमालेबाट भोट तान्न सक्ने दाबीसमेत गरे । अघिल्लो सत्ता गठबन्धनको बैठकले महानगरपालिकाको उम्मेदवारीबारे निर्णय केन्द्रबाटै गर्ने र तल्लो तहमा स्थानीय तहबाटै निर्णय गर्ने जनाएको थियो ।

Advertisement


कुन दलले कुन महानगरमा पाउने अहिलेसम्म टुंगो लागेको छैन । देशभर ६ महानगर छन् । एकृकीत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
गठबन्धनबाट जोसुकै उम्मेदवार भए पनि एउटै संकल्प लिएर चुनावमा जाने विषयमा ३ दलका नेताको मत एकै देखिएको छ । उनीहरुले आ–आफ्नो पार्टी कार्यकर्तालाई सम्झाएर तालमेल गरी अघि बढ्ने उल्लेख गरे । ‘निर्वाचन जित्नकै लागि गठबन्धन होइन । गलत प्रवृत्ति हाबी हुन नदिन गठबन्धन आवश्यक भएको हो,’ कांग्रेस सभापति बरालले भने । उनले गठबन्धन मिलेर जाँदा ३३ वटै वडामा जित्न सकिने सुनाए । ‘कांग्रेस एक्लै हिँड्दा पोखरामा २२ वटा वडा जित्न सक्ने क्षमता बनाएको छ । गठबन्धनबाट गए ३३ वटै वडाको जित सुनिश्चित हुन्छ,’ बरालले भने, ‘यसरी जाँदा पोखरा बन्छ । पोखरालाई साच्चिकैको पोखरा बनाउन सकिन्छ ।’


एमालेबाट आफूहरु विद्रोह गरी आएकाले अबको पोखरा कस्तो बनाउने आफूहरुसँग भिजन भएको एकीकृत समाजवादी कास्की अध्यक्ष आचार्यले बताए । उनले एमालेले बीचमा गएर लय छोडेकाले त्यसबाट अलग भएर नयाँ विचारका साथ अघि बढेको तर्क गरे । ‘अघिल्लो घोषणपत्र तयार गर्दा म पनि संलग्न थिएँ । त्यसको जस धेरथोर मैले पनि लिनुपर्छ । अब पनि गल्ती गर्ने छुट छैन । त्यसका लागि हाम्रो विद्रोह भएको हो,’ आचार्यले भने ।


देशलाई संकटबाट बचाएर गठबन्धन अघि बढेकाले जोसुकैले टिकट पाए पनि सबैको उद्देश्य पोखरा बनाउने भएको माओवादी केन्द्रका नेता लामिछानेको भनाइ छ । नेता लामिछानेले चुनावमा गठबन्धन नभए माओवादी एक्लै जानसमेत तयार भएको बताए । ‘पार्टीले एक्लै जाने तयारीसमेत गरेको छ । त्यसका लागि पार्टीको घोषणापत्र तयार छ । मिलेर जाने भनेपछि एउटै घोषणपत्र बनाएर जान हामी तयार छौं,’ लामिछानेले भने । कांग्रेसले पनि पार्टीको तर्फबाट घोषणापत्र बनाइसकेको कांग्रेस अध्यक्ष बराल बताउँछन् । ‘अब पोखरा बनाएर जाने हाम्रो संकल्प हो । गठबन्धनबाट जसले टिकट पाए पनि गठबन्धनको साझा घोषणापत्र हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया