कास्कीमा करिब २३ सय किसान

समाधान संवाददाता २०७९ वैशाख ५ गते १४:४२

पोखरा l
कास्कीमा कृषि गणनाका लागि ३६ गणक र ९ सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोही अनुसार यस वर्ष देशमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरिवेक्षक अहिले तालिम लिइरहेका छन् ।


तालिम वैशाख ३ गतेसम्म चल्नेछ । जिल्लामा ९२ गणना क्षेत्र तोकिएकोे कार्यालय तथ्यांक कार्यालयका प्रमुख जगु बस्यालले जानकारी दिए । उनका अनुसार कृषि गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा २ चरणमा गणना गर्ने तय छ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिनेछ ।


कास्कीमा ७२ वडा रहेकोमा ५३ वडामा मात्र कृषि गणना हुने बस्यालले उनले बताए । गणनामा कृषक परिवार, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, मसला बाली, तरकारी बाली, तेलबाली, नगदेबाली, जग्गाको उपभोग संकलन गरिनेछ । यस्तै, जग्गाको उपयोग, कित्ताको विवरण, फलफूल लगाएको जग्गाको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादन, विषादी बीउविजन, मलखादको प्रयोग लगायतका विवरण पनि संकलन गरिनेछ ।

Advertisement


जातअनुसार पाल्तु पशुपक्षीको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्थासमेत संकलन गरिनेछ । माछापालन, मौरीपालन, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, पिबमा, कृषि औजार र खाद्यान्नको पर्याप्तताका बारेमा पनि जानकारी संकलन हुनेछ ।


२०१८ सालबाट नेपालमा कृषिगणनाको सुरु भएको हो । प्रत्येक १० वर्षको अन्तरमा कृषिगणना हुँदै आएको छ । २०७८ को राष्ट्रिय कृषिगणना नेपालको सातौं र २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो हो ।
७ औं गणनामा व्यवसायिक रुपमा कृषि गर्नेको अनिवार्य गणना हुने बस्यालले बताए । उनी भन्छन्, ‘व्यावसायिक रुपमा गर्नेहरुको गणना अनिवार्य हुन्छ । गैर व्यावसायिक कृषि गर्नेहरुको नमुना गणनाको आधारमा तथ्यांक संकलन हुन्छ ।’
कृषिगणना आर्थिक स्रोत, साधन र जनशक्ति परिचालनको हिसाबले केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने जनगणना पछिको ठूलो अभियान हो । ‘जग्गाको क्षेत्रफल वा पशुपंक्षीको संख्या मापदण्ड पूरा भएमा मात्र कृषि चलन मानिनेछ । हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना र तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको वा कम्तीमा १ वटा गाईभैँसी जस्ता ठूला चौपाया पालेको भएमा वा कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा, वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको हुनुपर्छ,’ बस्यालले भने ।

Advertisement


गणनामा कृषकसँग कृषि वन, कृषि ऋण, बिमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विविध विषयमा जानकरी लिइनेछ ।
पहिलो चरणमा गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवार सूचीकरण कार्य गर्ने गरिनेछ । दोस्रो चरणमा निश्चित तथ्यांक छनोट विधिबाट सुपरिवेक्षकहरुद्वारा छानिएका कृषक परिवारमा पुगी गणकले कृषक परिवार प्रश्नावली फाराम भर्ने छन् । कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेती, वातावरण लगायतका विस्तृत विवरण गणकले संकलन गर्ने बस्यालले जानकारी दिए । दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेको गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक, आर्थिक अवस्थबारे तथ्यांक समेटिनेछ । सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवा, सुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरणसमेत संकलन हुनेछन् ।


गणनाका लागि सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय गर्ने, जिल्ला स्तरमा खटिने गणक तथा सुपरिवेक्षकको आवश्यक व्यवस्था गर्ने, जिल्ला स्तरमा हुने कृषि गणना तालिम सञ्चालन गर्ने साथै उनीहरुलाई स्थलगत तथ्यांक संकलन गर्न लगाइने बस्याले बताए ।


कृषि गणना हुन कृषिचलनमा खाद्यान्न बाली, तरकारीवाली, तेलहनबाली, मसलाबाली, फलफूलबाली, नगदेबाली (चिया÷कफी÷अलैची÷उखु÷सनपाट÷सुर्ती), माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, रेशमखेती, गाईपालन, भैंसीपालन, राँगापालन, बाख्रापालन, च्यांग्रापालन, भेडापालन, बंगुर÷सुंगुर पालन (पाठापाठी उत्पादनका लागि ) बंगुर÷सुंगुर पालन (मासुका लागि), ब्रोइलर कुखुरापालन, लेयर्स कुखुरापालन, प्यारेन्ट÷ग्रान्डप्यारेन्ट कुखुरापालन पेशा व्यवसाय गरेको हुनुपर्ने छ ।
व्यावसायिक रुपमा गणना हुन दिनमा दूध दिने उमेर समूहका कम्तीमा ३५ वटा गाई, भैसीपालनको हकमा दूध दिने उमेर समूहका कम्तीमा २५ वटा भैसी, राँगापालन २५ वटा राँगा पालेको, १ सय ५० वटा खसीबाख्रा गरेको, च्यांग्रापालनमा कम्तिमा १५० वटा च्यांग्रा पालेको हुनुपर्छ । भेडापालनमा कम्तीमा १५० वटा, बंगुर÷सुंगुरपालन कम्तीमा ३० वटा माउ पालेको, ६ महिना उमेर पूरा भएका कम्तीमा ६० वटा बंगुर÷सुंगुर पालेको, ब्रोइलर कुखुरापालनमा कम्तीमा ५ हजार, लेयर्स कुखुरापालनमा एक लटमा कम्तीमा १० हजार लेयर्स कुखुरा पालेको हुनुपर्छ ।


यो गणनामा छाडा चौपाया र कुकुरको पनि तथ्यांक लिइनेछ ।
कास्कीमा कृषिगणना गरिने गणना क्षेत्रहरु स्थानीय तह गणना क्षेत्र संख्या समेटिएका वडा संख्या सूचिकृत गरिने अनुमानित कृषक परिवार मुख्य फाराम भर्ने अनुमानित कृषक परिवार
पोखरा ३१ १७ ४४६० ७७५
रुपा १४ ७ १९३७ ३५०
मादी १६ ११ २२०७ ४००
माछापुच्छ्रे १५ ९ २३७८ ३७५
अन्नपूर्ण १६ ९ २७९० ४००
जम्मा ९२ ५३ वडा १३,७७३ २,३००

तपाईको प्रतिक्रिया