पोखराको अटोभिलेज राजमार्गनजिक, बस्तीबाट टाढा

समाधान संवाददाता २०७९ वैशाख ६ गते १०:३२

सञ्जय रानाभाट
पोखरा l

पोखरामा अटो भिलेज बनाउने स्थान खोज्न गठित कार्यदलले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले मेयर जिसीलाई प्रतिवेदन बुझाएको मयेरका प्रेस संयोजक माधन बरालले बताए । कार्यदलले अटो भिलेजका लागि ४ ठाउँ सिफारिस गरेको छ । बढ्दो सहरीकरण, अव्यवस्थित ट्राफिक जाम, गल्लीमा लत्पतिएको मोबिल, गाडीको भीड, फलाम र टिन ठोक्दाको कर्कश आवाज व्यवस्थित बनाउन अटोभिलेजको अवधारणा ल्याइएको हो ।

महानगरको कार्यदलले मसिना बगर, फेदी बाँसबोट, पावरहाउस र बाच्छेबुडुवामा अटो भिलेज बनाउन सिफारिस गरेको छ

कार्यदल संयोजक धनबहादुर नेपालीले पोखरामा सम्भावित ठाउँ समेटेर प्रतिवेदन बुझाएको जानकारी दिए । ‘हामीलाई जग्गा खोज्ने जिम्मा थियो । कार्यभार पूरा गरी हामीले प्रतिवेदन बुझाएका छौं । जग्गा छनोट गर्दा सहरबाट टाढा, पृथ्वी हाइवेलाई मध्येनजर गरिएको छ,’ कार्यदल संयोजक धनबहादुर नेपालीले भने । कार्यदलले मसिना बगर, फेदी बाँसबोट, पावरहाउस र बाच्छेबुडुवामा अटो भिलेज बनाउन उपयुक्त हुने प्रतिवेदन बुझाएको छ । समितिले हाइवेबाट नजिक, बास्तीबाट टाढा जग्गा खोजेको हो ।

Advertisement


कार्यदलले एक अटो भिजेलका लागि कम्तिीमा १ सय २० सय रोपनी जग्गा खोजेर प्रतिवेदन बुझाएको हो । एक अटोभिलेजमा ६ सय वर्कसपसहित पार्किङ भएको अटोभिलेज बनाउने योजना छ । पोखराका विभिन्न ठाउँमा ३ सय ६० चारपांग्रे गाडीका वक सर्प रहेको अटोमेकानिकाल वर्क सप एसोसियसन अध्यक्ष मिश्रले बताए । ‘दर्ता भए पनि कानुनी रुपमा सञ्चालन भएका केहीमात्र छन् । राजस्व बुझाउने दर्ता भएकाभन्दा नभएका बढी छन्,’ उनले भने ।


एउटा वर्कसपका लागि स्पिङ पत्ता, वाइरिङ, इन्जिनियरिङ, बडी, लेथ, रंगरोगनलाई ४ देखि ५ रोपनी जग्गा आवश्यक पर्ने मिश्र बताउँछन् । यही तथ्यलाई मध्यनजर गरी महानगरले जग्गा खोजी गरेको संयोजक नेपालीले सुनाए । अटोभिलेज बनाउँदा अटो मेकानिकल व्यवसायी र अटोमोबाइल डिलर्सलाई एकै ठाउँमा राख्ने योजना छ ।

Advertisement


पोखराबासी साँघुरो सडक, बढ्दो जनघनत्व र अव्यवस्थित ट्राफिक जामबाट आजित छन् । दुर्घटना हुने जोखिमसमेत उच्च छ । दर्ता नगरी चलेका धेरै वर्कसपले महानगरलाई करसमेत तिरेका छैनन् । राजस्व छलीमात्र होइन, सहरमा प्रदूषणसमेत बढेको छ । अव्यवस्थित ग्यारेजका कारण पैदलयात्रीले समेत सास्ती भोगिरहेका छन् ।

तपाईको प्रतिक्रिया