तनहुँमा ७ मतदान केन्द्र अति संवेदनशील

समाधान संवाददाता २०७९ वैशाख ८ गते १३:३६

दमौली l
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउन तनहुँमा संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लामा १ सय ३६ वटा मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । जस अनुसार ७ वटा अति संवेदनशील, ३८ वटा संवेदनशील र बाँकी ९१ मतदान स्थल सामान्य अवस्थामा वर्गीकरण गरिएको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले मतदान स्थलहरुलाई भूगोल, सीमा, सडक सञ्जाल लगाएतको अवस्थालाई मध्यनजर गर्दै बर्गिकरण गरिएको हो । १ सय ३६ वटा मतदान स्थलमा २ सय ९७ मतदान केन्द्र तोकिएको छ । यसरी वर्गीकरण गरिएको मतदान केन्द्रहरुमा सुरक्षामा विशेष ध्यान दिइने छ । सुरक्षाकर्मीहरुको उपस्थित धेरै हुने, सुक्ष्म ढंगले सुरक्षा रणनीति लागु गर्ने र निगरानी बढाउने छ ।

निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन, निर्वाचन अधिकृतहरुलाई आवश्यक पर्ने सामग्रीहरु छपाइ र व्यवस्थापनको काम सकिएको जानकारी दिएको छ । १० वटा स्थानिय तह रहेको तनहुँमा निर्वाचनका लागि २ हजार ३ सय ७४ जनशक्तिको आवश्यक रहेको कार्यालय प्रमुख ढकालले बताए ।

Advertisement

यसपालिको निर्वाचनमा मतदान स्थलमै मतदाताहरुलाई मतदान गर्न सिकाइने भएको छ । मतदान स्थलबाहिर दुई जना कर्मचारी राखि मतदान गर्न आउने सबैलाई मतदान गर्न सिकाइने ढकाले बताए । तनहुँमा स्थानीय निर्वाचनका लागि २ लाख ४४ हजार ३ सय ४० मतदाता छन् । १ लाख २७ हजार २ सय ६ जना महिला, १ लाख १७ हजार १ सय ३४ पुरुष छन् ।

Advertisement

तपाईको प्रतिक्रिया