पोखरा १४ का अटेरी उम्मेद्वारको कार्ययोजनापत्र

समाधान संवाददाता २०७९ वैशाख ८ गते १६:१२

पोखरा l
पोखरा १४ बाट स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका सुजन कार्कीले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । चुनाव लक्षित घोषणापत्रलाई कार्ययोजना नाम दिएर स्वतन्त्र उम्मेद्वारी दिनेको समूह अटेरी अभियानले पोखरा महानगर र यो सँगै ३ वडामा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारले कार्ययोजना सार्वजनिक गरिसकेका छन् ।

कार्ययोजना सार्वजनिकीकरणपछि अटेरी उम्मेद्वारी घोषणा गरेका सुजन कार्कीले वडा बनाउन केन्द्रित हुने बताए । हालको सरकारलाई राजस्व चुहावट रोक्न पट्टि ध्यानै नभएको उनको भनाइ छ । वडामा निर्वाचित भएर आइसकेपछि वडामा पूराना सम्पदा संरक्षण गर्नेदेखि पर्यटकीय गतिविधि बढाउन थप संरचना बढाउने उनले दाबी गरे ।

अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले स्थानीय सरकारले वडा र नगर सुधार्न ध्यानै नदिएको बताए । वडा भित्रका साना बाटोहरु मर्मत गर्न ध्यान नदिँदा नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ थियो । पोखरा १४ मा निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको आर्थिक गतिविधि बढाउने दाबी गरिए पनि वडा नम्बर १४ ले त्यसको कुनै लाभ लिन नपाउने उनले बताए । उनले दलहरुले आफ्नो विचार बिर्सिसकेकाले सबैलाई अटेर गर्नसमेत आह्वान गरे । ‘तपाईंले जिताई रहेको दललाई जिताएर के फरक पाउनुभएको छ ? गरेका त केही पनि होइनन् । अब अटेर गर्नुस्,’ उनले भने ।

Advertisement

पौडेलले अहिले पनि अटेर गर्न छोड्ने हो भने देश अनिश्चयको भुंग्रोमा धकेलिनसमेत दाबी गरे । उनले चुनावी कार्ययोजना पढेर योजना ठिक लागेर सक्षम उम्मेद्वार पाएको महसुस भए मात्रै भोट दिन अपिल गरेका छन् । यद्यपि, चुनावमा एक मतमात्रै प्राप्त गरे पनि देशप्रति सचेत नागरिक आफू एक्लो भएकोमा गर्व महसुस हुनेसमेत उनले सुनाए । अटेरीका १४ नम्बर वडा प्रचार प्रसार संयोजक रामबहादुर थापाले अभियानप्रति साथ सहयोग जनाउन सबैलाई अपिल गरेका थिए । कार्यक्रम सञ्चालन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया