एमालेले गण्डकीका सांसदलाई उम्मेदवार नबनाउने, कृष्ण थापा र राजीवको च्याप्टर क्लोज

समाधान संवाददाता २०७९ वैशाख ८ गते १७:४८

पोखरा ।

Advertisement

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।

एमालेको बिहीबार बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निष्कर्ष निकालिएको उनले बताए। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था छ।

Advertisement

एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन् । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको नाम पनि छ । प्रदेश सांसदलाई पालिकाहरुमा उम्मेदवार नबनाउने निर्णयसँगै थापा र पहारीको पोखरा महानगरपालिकाका लागि च्याप्टर क्लोज भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमामात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए ।

‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावना छ । त्यसैले गण्डकीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्नसक्छौ’, गुरुङको भनाइ छ ।

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन वैशाख १० गते अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ।

स्थानीय तहमा सबै पार्टीसँग तालमेल हुनसक्ने प्रचार विभाग प्रमुख गुरुङले बताए। ‘स्थानीय तहमा एमालेले तालमेल गरेका बाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि तालेमल हुनसक्छ,’ गुरुङले भने।

तपाईको प्रतिक्रिया