पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता, उपमेयरमा २

समाधान संवाददाता २०७९ वैशाख ११ गते १७:३७

पोखरा ।
पोखराको मेयरमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ४ जना पार्टीका उम्मेदवार छन् भने ६ जनाले स्वतन्त्र उम्मेवारी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा लेखक गनेस पौडेल (खडकराज पौडेल), विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् ।

सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टीबाट उम्मेदवारी दिएका छन् । सचेत नेपाली पार्टीबाट भोजराज खनालको उम्मेदवारी परेको छ । नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गराएका छन् ।

Advertisement

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो । ठूला राजनीतिक पार्टीले उम्मेदवार तय गर्ने ढिला गरिरहेको हुँदा आइतबार स्वतन्त्र र साना पार्टीका तर्फबाटमात्रै उम्मेदवारी परेको छ ।

पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुका अनुसार उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार ५ बजेसम्म मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको छ । आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।

मेयरमा उम्मेदवारी दर्ता गराएकामध्ये लेखक पौडेल अटेरी अभियानका संयोजक हुन् । कार्की कांग्रेसका वागी उम्मेदवार हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका मतदातालाई अरु पार्टीका चिह्नमा भोट हाल्न लगाएको भन्दै वागी उम्मेदवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया