स्थानिय तह निर्वाचन २०७९

समृद्ध पोखरा, सुखी पोखरेलीका लागि उम्मेदवारी

कोपिला रानाभाट उपमेयर उम्मेदवार, नेपाली कांग्रेस

समाधान संवाददाता २०७९ वैशाख १३ गते १०:५२

सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार बन्नुभयो, यहाँका एजेन्डा के छन् ?
आज मैले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै पोखरा महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएँ । यो मेरो पार्टीको मात्र होइन, ५ दलको तर्फबाट दर्ता भएको उम्मेदवारी हो । पोखरालाई सफा, सुन्दर र हराभर बनाइराख्नु र भावी पुस्तालाई अझ राम्रो पोखरा प्रदान गर्नु जरुरी छ । हामी समृद्ध पोखरा र सुखी पोखरेली बनाउन लाग्नेछौं । गठबन्धनको उम्मेदवार भएकाले चाडै हामी सबै बसेर साझा घोषणापत्र ल्याउँछौं । हाम्रा एजेन्डा त्यो घोषणापत्रमा समावेश हुनेछन् । म कांग्रेसको इमान्दार कार्यकर्ता हुँ । महिला पनि भएकाले महिला, दलित, जनजाति, पछि परेका वर्ग, समुदायको उत्थानका लागि लाग्ने प्रण गर्दछु । यहाँ पार्किङका समस्या छन्, भूमि व्यवस्थापनको समस्या पनि छ । पोखरालाई नागरिकको अपेक्षा अनुरुपको आधुनिक सहर बनाउन हामी लाग्छौं ।

यहाँको जितका आधार के के हुन् ?
म नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुँ । जनताले कांग्रेसलाई विगतदेखि नै विश्वास गर्दै आएका छन् । जनताको विश्वासमा हामीले ठेस पुर्‍याएका छैनौं । म पार्टीको निष्ठावान् कार्यकर्ता हुँ । लामो समयको क्रियाशीलतापछि पार्टीले अहिले यो जिम्मेवारी दिएको छ । मेरो लगन, त्याग र योगदानबारे हाम्रा कार्यकर्ता, नेता जानकार हुनुहुन्छ । त्यतिमात्र होइन, यसबारे गठबन्धनका नेता, कार्यकर्ता र आम पोखरेली पनि जानकार हुनुहुन्छ । कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र गठबन्धनका नेता, कार्यकर्ता र शुभेच्छुकको मत पाउने अपेक्षा गरेकी छु । सँगसँगै मेरो योगदान, निष्ठा र हाम्रा एजेन्डालाई मन पराएर आम पोखरेलीले मलाई चुन्नुहुनेछ भन्ने ठानेकी छु ।

कांग्रेस पार्टीभित्रै विवाद देखियो, गठबन्धन पनि तलसम्म हुन सकेन, यसले असर गर्दैन ?
कास्कीका गठबन्धन विभाजित छैन । लोकतन्त्रका बोल्ने, अघि बढ्ने स्वतन्त्रता हुन्छ । पार्टीमा भएको छलफल हो, कार्यकर्ताको गुनासो हो । विवादै चाहिँ होइन । भोलिसम्म सै सल्ट्याउँछौं । वडा तहसम्म गठबन्धन गर्छाैं । तर वडाहरुको गठबन्धन गर्ने तरिका भने वडा समितिहरुले त्यहाँको वस्तुगत अवस्था हेरेर तय गर्छन् ।

Advertisement

महानगरवासीलाई के भन्नुहुन्छ ?
सोमबारमात्र मनोनयन दर्ता भएको छ । जनतामा जाने योजना, एजेन्डाहरु तय गर्न बाँकी छ । हाम्रो पार्टीसहित गठबन्धनको बैठकबाट त्यो तय गर्छाैं । यो पटक साबिक लेखनाथ बासीले आँगनको उम्मेदवार पाउनुभएको छ । मलाई पोखरबासीले माया गर्नुहुन्छ, लेखनाथबासीको पनि हृदय जितेकी छु । गठबन्धनका सबै दलका नेता, कार्यकर्ता र शुभेच्छुकको मत पाउँछु । सबै पोखरेलीसँग समृद्ध पोखरा र सुखी पोखरेलीका लागि मसहित गठबन्धनका उम्मेदवारीलाई मत दिएर विजयी गराउन आग्रह गर्दछु ।

Advertisement

तपाईको प्रतिक्रिया