स्थानीय तह निर्वाचन २०७९

विगतको काम नै जित्ने आधार

कृष्ण थापा मेयर उम्मेदवार, एमाले

समाधान संवाददाता २०७९ वैशाख १३ गते १६:४२

२५ वर्षपछि मेयरमा दोहोरिन चाहनु भयो नि ?
मेयरको उम्मेद्वार बन्न पाउनु मेरा लागि यो सौभाग्यको कुरा हो । २०४९ सालमा पोखरा नगरपालिका हुँदा पनि म मेयरको उम्मेद्वार थिएँ । २०५४ सालमा आईपुग्दा पोखरा उपमहानगरपालिका भयो । यति बेला पोखरा उपमहानगरपालिकाको मेयर भएँ । जनताको सेवा गर्न पाएको थिएँ । फेरि २५ वर्षपछि त्यो सौभाग्य, अहिले पार्टीले उम्मेद्वार बनाएर दिएको छ । संयोगले फेरि देशकै ठूलो महानगरपालिकाको उम्मेद्वार भएको छु । २०४९ सालदेखि २०७९ सम्म आइपुग्दा मेयरको उम्मेद्वार हुन पाउँदा मैले आफूलाई सौभाग्यशाली महसुस गरेको छु । महानगरमा मेयर जितेर फेरि जनताको सेवा खटिनेछु ।

जितको आधार के के छन् ?
मेरो जितका आधारमा धेरै छन् । हाम्रो पार्टीका श्रद्वेय नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको नारा छ । त्यो नाराका साथ पार्टी अध्यक्ष ओलीअघि बढ्नु भएको छ । देशलाई समृृद्धिको बाटोमा अगाडि बढाइरहनुभएको छ । हाम्रो पार्टी राष्ट्रिय आकांक्षालाई पूरा गर्न लागिपरेको छ । हाम्रो प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, जसले विकासको आधार लिएर प्रदेशलाई अघि बढाउनु भएको थियो, त्यो हाम्रो जीतको आधार हो । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले आम पोखरेली जनताको भावना अनुसार काम गर्नुभएको छ । त्यो एउटा हाम्रो जितको आधार हो । उहाँहरुले समग्र रुपमा गरेको विकास, निर्माणका काम नै हाम्रा जितका आधार हुन् । जुन हाम्रो पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ । मुलुकको आर्थिक समृद्धि र दिगो विकास गर्दै पार्टीले समाजवादमा पुग्ने नीतिगत कुरा नै हाम्रो पार्टीले जित्ने मुख्य आधार हो ।

टिकट नपाउँदा आरोपमा उत्रिनुभएको थियो, त्यो कुराले अब असर नगर्ला ?
टिकट नपाउँदा पनि हामी आरोप प्रत्यारोपमा उत्रिएनौं । हाम्रो पार्टी स्वच्छ लोकतान्त्रिक र प्रजातान्त्रिक संस्कारयुक्त छ । हामी स्वस्थ प्रतिस्पर्धा गछौं । हामीले हिजो पनि स्वस्थ प्रतिस्पर्धा गर्‍यौं । अब पनि त्यही हुन्छ । राष्ट्रिय र विकासको मुद्दामा हाम्रो एकमत छ । तपाईंहरुलाई सम्झना छ, ०७४ को चुनावमा पनि हामीले स्वस्थ प्रतिस्पर्धा गर्‍यौं र चुनाव हाक्यौं र हाम्रो पार्टीले दुई तिहाई ल्यायो । अहिले पनि हाम्रो पार्टीको नतिजा त्यहीँ हो । वडा केन्द्रीत गतिविधि गरेर कम्तीमा २७ वडामा हामी जित हासिल गर्ने छौं ।

Advertisement

तपाईको प्रतिक्रिया