पोखरा २७ मा ७५ प्रतिशत मतदाताको घरदैलोमा पुग्यो : एमाले

समाधान संवाददाता २०७९ वैशाख १३ गते १८:३९

पोखरा ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा २७ ले स्थानीय निर्वाचनमा आफ्नो पोल्टामा अधिकतम मत तान्दै विजयी हुने लक्ष्यका साथ घरदैलो अभियानलाई तीव्रता दिएको छ । वडाबाट सर्वसम्मत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारमा केन्द्रीत भएको एमालेले वडाका ७५ प्रतिशत मतदाताको घरदैलोमा पुगेको वडा इन्चार्ज एवं निर्वाचन परिचालन संयोजक गणेशराज धमलाले जानकारी दिए ।


‘उम्मेदवार चयन प्रक्रिया सकिएसँगै हामी मतदाताका घरदैलोमा पुग्ने अभियानलाई अघि बढायौं,’ उनले भने, ‘घरदैलो अभियान अन्तिम चरणमा पुग्न लागेको छ । त्यसपश्चात्त रणनीतिक निर्वाचन परिचालनका विकल्पमा हामी केन्द्रीत हुने छौं ।’

Advertisement


एमालेबाट पोखराको मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । मेयर र उपमेयरसहित वडाका उम्मेदवारहरुको चुनावी कोण सभाका कार्यक्रम केही दिनभित्र तय गरिने इन्चार्ज धमलाले जानकारी दिए । एमाले २७ बाट अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापामगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडी चुनावी मैदानमा छन् ।

Advertisement


हालसम्म एमालेले पोखरा २७ का क्षेत्रहरु रिठेपानी, कुमाल गाउँ, लमतरा, भण्डारी टोल, छत्रे ढुंगा, एकता टोल, तीन तहरा, कालीमाटी, पण्डित थर, आवासनगर, गोलपाटन, मरेखरे, भुवन कुना, तालचोक, डाँडाकोनाक, डाँडाबारी, जरुवा, बिर्ता, खरानेफाँट, कालीगण्डकी, गन्दर्वटोल, धर्मशाला, बडहरेमा घरदैलो अभियान सम्पन्न गरेको छ । अर्घौबेँसी, नहरचोक, सतीफाँट, पुरानो लेखनाथ नपा कार्यालय वरिपरि, अर्चले, बाह्रघर, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल, ठूलीपोखरीमा भोलिदेखी घरदैलो केन्द्रीत गरिने भएको छ ।


घरदैलोका बेला अध्यक्षका उम्मेदवार सूर्यमणि लामिछानेले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए छन् । ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा एमाले २७ बाट र हामी उम्मेदवारबाट फरक पाउनुहुन्न,’ मतदाताहरुसमक्ष भोट माग्दै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’


उम्मेदवार लामिछानेले निर्वाचनमा आफूसहितका उम्मेदवार मतदान गरी आगामी पाँच वर्ष सेवक हुने मौका प्रदान गर्न अनुरोध गरे । वडा २७ लाई महानगरस्तरीय मोडलमा विकास गर्न भएपनि एमालेलाई जिताउन मतदाता समक्ष उनको आग्रह छ ।


पोखरा २७ मा यस स्थानीय निर्वाचनमा ६ हजार ९ सय ३२ मतदाता छन् । यस वडामा चार मतदान स्थल रहने छन् भने, आठ वटा मतदान केन्द्र रहने निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये वीर आधारभूत विद्यालय रिठेपानीमा १ हजार ९ सय ४२, महिला विकास समाज घरेलुचौरमा १ हजार ४ सय ६७, तरुण आधारभूत विद्यालय अर्चलेमा १ हजार ४ सय ७२, लक्ष्मी आदर्श मावि ज्यामिरकुनामा २ हजार ०५१ मतदाता रहेका छन् ।


गत स्थानीय निर्वाचनमा भन्दा यसपटक १ हजार ८ सय ८० मतदाता यस वडामा थपिएको निर्वाचन आयोगको तथ्यांक छ ।
पोखरा २७ मा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले समेत प्रचार थालेका छन् ।

तपाईको प्रतिक्रिया