स्थानीय तह निर्वाचन २०७९

कास्कीमा ३७० पदमा १४९१ को उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख १४ गते १०:१९

पोखरा l
कास्कीमा ३ सय ७० पदका लागि १ हजार ४ सय ९१ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन कार्यालय कस्कीका अनुसार कास्कीमा ३ सय ७० जना जनप्रतिनिधिका लागि चौबर उम्मेदवारी परेको हो ।

कास्कीमा पोखरा महानगरपालिका, रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको संख्या ७२ छ । ७२ वडा र ५ पालिका गरी कास्कीमा ३ सय ७० जना जनप्रतिनिधि चुनिन्छन् । तर, कास्कीमा दलीय, स्वतन्त्र गरी उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ ।

महानगरमा प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष हुन्छन् । पालिका प्रमुख, उपप्रमुख, वडामा वडाध्यक्ष र ४ जना सदस्यका लागि वैशाख ३० गते मतदान हुँदै छ । कास्कीमा निर्वाचित हुने संख्याभन्दा चार गुणा उम्मेदवारी परेको मंगलबार निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।

Advertisement

पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । ०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो । वैशाख ३० गते हुने चुनावका लागि १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने समय तालिका छ ।

१५ वैशाख बेलुकी ५ बजेसम्म मनोनयनको उजुरीउपर छानबिन हुने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोही दिन साँझ ६ बजे मनोनयन गर्ने उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ वैशाख साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छुट्याइएको छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ वैशाखमा चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

Advertisement

गठबन्धनको विरोध गर्दै मेयरमा कांग्रेसका ३ वागी
पोखरामा गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेसका ३ नेताले मेयरमा वागी उम्मेदवारी दिएका छन् । तीनै जनाले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारिएको विरोधमा आफूहरुले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेका छन् ।
कांग्रेसका नन्द तिवारी, ऋषि सापकोटा र विमल कार्कीले मेयरमा वागी दिएका हुन् । ‘कांग्रेसले आफ्नो मूल्य–मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई भोट दिन लगायो । यसैको विरोध स्वरूप मेरो उम्मेदवारी हो,’ सापकोटाले भने । तिवारी पूर्व नेपाली कांग्रेस कास्की सचिव हुन् । सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने कार्की कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति हुन् ।

सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार, पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्यलाई उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसकी प्रदेश महामन्त्री कोपिला रानाभाटको उम्मेदवारी दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया