बजेटबारे सांसदसँग छलफल

कृषिलाई प्राथमिकता दिन तथा क्रमागत योजनामा उचित बजेट विनियोजन गर्न सुझाव

समाधान संवाददाता २०७९ वैशाख १५ गते १०:४५

पोखरा l
कृषिलाई विकासका पूर्वाधारको प्राथमिकतामा राख्नुपर्ने गण्डकी प्रदेशका सांसदहरुले सुझाव दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार आयोजना गारेको बजेटसम्बन्धी छलफलमा सांसदहरुले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिलाई विकासको पहिलो प्रथामिकता दिनुपर्ने विचा राखे ।

खाद्य वस्तु तथा कृषिमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन गर्न नेपालको भूगोल अनुसारको कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । कृषिलाई आधुनिकीकरण तथा व्यावसायीक बनाउनुपर्ने उनीहरुको जोड छ ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका योजनलाई उचित बजेट व्यवस्था गर्नसमेत माग गरे ।

प्रदेश सांसदले दिएका सुझावलाई अर्थ मन्त्रालयले सकेसम्म सम्बोधन गर्ने अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बताए । आगामी आर्थिक वर्ष २०७९÷०८० मा समेटिने योजना सम्बन्धित कार्यालयबाट ल्याउन उनले आग्रह गरे । खुसुखुसु आएका टुक्रे योजनालाई आगामी बजेटमा सकभर प्रथामिकता नदिइने उनको भनाइ छ ।

Advertisement

प्रदेशको भएको सिमित स्रोतलाई विकास, निर्माणमा अधिकतम प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिँदै आएको मन्त्री बरालको भनाइ छ । तनहुँका सांसद हरिबहादुर चुमानले ठाँउ ठाँउमा चार्जिङ सेन्टर स्थापना गरेरमात्र विद्युतीय सवारी साधन ल्याउनुपर्ने बताए ।स्वास्थ्यमा उचित ढंगले काम गर्न नसकिएको बताउँदैे चुमानले प्रदेशले बिशिष्टिकृत अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिए ।

नवलपुरका सांसद रोशनबहादुर गाहाले योजना छनोटमा हाल पनि पुरानै शैलीको भएको गुनासो गरे । हिमाल, पहाड र तराईलाई समेट्ने गरी बजेट विनियोजन गर्न माग गर्दै उनले प्रदेशका गौरवका योजनालाई प्राथमिकता दिना माग गरे ।
मुस्ताङका सांसद चन्द्रमोहन गौचनले मुस्ताङमा स्याउ उत्पादन गर्ने गरी प्रदेश सरकारले ७५ प्रतिशत अनुदान कार्यक्रम ल्याए पनि करिब ५० प्रतिशत बिरुवा मर्न थालेको सुनाए । अघिल्लो सरकारले ल्याएको क्रमागत योजनामा अहिलेको सरकारले न्यून बजेट विनियोजन गरेको उनले गुनासो गरे ।

Advertisement

अर्का सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङमा अब बाढी, पहिरोको उच्च जोखिम बढ्ने हुँदा विपद् व्यवस्थापनमा बजेट व्यवस्था गर्न आग्रह गरे । स्याङ्जाका सांसद मीनप्रसाद गुरुङले एक निर्वाचन क्षेत्र, एक सडक, सदरमुकाम जोड्ने सडकमा जोड दिँदै दिगो विकास हुने गरी बजेट केन्द्रित गर्न माग गगरे । ८५ वटै तहका वडादेखि पालिकासम्म जोड्ने सडक आवश्यक भएको उनको भनाइ छ ।

तनहुँका सांसद रामबहादुर गुरुङले रिसर्च गरी सम्भावना भएका ठाँउ पहिचान गरी कृषि उत्पादनमा जोड दिन आग्रह गरे । विदेश जाने युवालाई स्वदेशमै रोक्नका लागि अन्तर्राष्ट्रिय स्तरकै गुणस्रीय वस्तुको उत्पादन गर्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
बागलुङकी सांसद पियारी थापाले प्रदेशले कृषिलाई पहिलो प्रथामिकता दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव राखिन् । अनुउत्पादन क्षेत्र, मठ मन्दिर, गुम्बा लगायतको क्षेत्रमा हाल लगानी गर्न नहुने सांसद थापाको भनाइ छ । कास्कीकी सांसद डा पुष्पा केसी भण्डारीले सडक र बस्ती विस्तार गर्ने क्रममा पानीका मुहान सुक्न थालेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।
सांसद मित्रकुमारी गुरुङ सुवेदीले बजेट विनियोजना असमान ढंगले भएको गुनासो गर्दै अघिल्लो सरकारले ल्याएका क्रमागत योजनालाई निरन्तरता दिन माग गरिन् । प्रदेश नीति तथा योजना आयोेगका उपाध्यक्ष डा.रघुराज काफ्लेले प्रदेश गौरवका रुपान्तरणका योजनालाई प्रथामिकता दिँदै आगामी वर्ष उत्पादन बढाउने कार्यक्रम जरुरी भएको बताए । आगामी वर्ष उत्साह र समृद्धिको आधारको वर्ष बन्ने उनको भनाइ छ ।

मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले आर्थिक वर्ष २०७९÷०८० को बजेटसम्बन्धी प्रस्तुति राखे । उनले प्रदेश सरकारले यस चालु आर्थिक वर्षमा ५ अर्ब राजश्व संकलनको लक्ष्य राखे पनि हाल ३ अर्ब ६० करोड राजस्व संकलन भएको जानकारी दिए । प्रदेश सरकारले राखेका लक्ष्य पूरा गर्न कोरोनाले चुनौती दिएको दाबी गरे ।

तपाईको प्रतिक्रिया