स्थानीय तह निर्वाचन २०७९

एमाले गण्डकीको प्रचार डेस्क

समाधान संवाददाता २०७९ वैशाख १५ गते ११:०१

पोखरा l
स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको कामलाई व्यवस्थित गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले बुधबार प्रचार डेस्क स्थापना गरेको छ ।

डेस्कबाट चुनावी गतिविधि, समाचार प्रवाह तथा फेसबुक लाइभ गरिने पार्टीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख रश्मि आचार्यले जानकारी दिए । बिहानी, दिवा र सन्ध्याकालीन सिफ्टको तालिकासहित जनशक्ति व्यवस्थापन गरी प्रचार डेस्क सञ्चालनमा ल्याइएको छ । पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले डेस्क उद्घाटन गरिन् । उनलेस्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने दाबी गरिन् ।

उनले एमाले गण्डकीमा पहिलो पार्टी बन्ने ठोकुवा गरिन् । ‘गण्डकीमा एमालेको जनाधार, जनसंगठन बलियो छ । पार्टी प्रवेशको लहर चलेको छ । जनताको लहर एमालेको पक्षमा छ,’ उनले भनिन्, ‘गठबन्धन देखेर आत्तिनु पर्दैन, यस्ता गठबन्धनलाई एमालेले विगतको स्थानीय तहको निर्वाचनमा समेत परास्त गरिसकेको छ ।’ उनले ५ दलीय गठबन्धनले खासै असर नपर्ने दाबी गरिन् ।
नेकपा (एमाले) गण्डकी अध्यक्ष नवराज शर्मा, उपसचिव एवं प्रचार विभाग प्रमुख आचार्यले स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारको कामलाई व्यवस्थित गरिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया