६ वर्षमै बुवा गुमाएकी राधिका बनिन् पोखरा १७ की अभिभावक

दुर्गम कर्णालीको कालीकोटदेखि पोखरासम्मको संघर्षयात्रा

समाधान संवाददाता २०७९ जेठ १० गते १२:५६

पोखरा ।
जिल्ला कमिटी सदस्यलाई टोल कमिटी सदस्य बनाए के होला ? धेरैले इन्कार गर्लान्, केहीले पार्टी छोड्लान् । तर राधिका शाही योगीले स्वीकारिन्, हिनताबोध गरिनन् । एमाले कालिकोट जिल्ला कमिटी सदस्य राधिका ०५८ मा पोखरा १७ को एमाले घारीकुलो टोल कमिटी सदस्य बनिन् । उनी काखे छोरालाई बोकेरै भए पनि बैठकमा हम्मेसी गयल भइनन् ।

लगाव, संगठन क्षमता र योगदानले विस्तारै माथिल्लो जिम्मेवारी पाउँदै गइन् । सोमबार उनी देशकै ठूलो महानगर पोखराको एकमात्र महिला वडाध्यक्ष चुनिएकी छन् । उनी कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराएर अध्यक्ष बनेकी हुन् । राधिकाले २ हजार ६ सय २५ मत ल्याउँदा देवराजले २ हजार ५ सय ४२ मत पाएका छन् ।

अघिल्लो पटक वडा सदस्य चुनिएकी राधिकाले कार्यपालिका सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छन् । ०७४ को निर्वाचनमा वडामा सानदार जित निकालेको एमालेले यसपालि पनि प्यानलै जितेको छ । मतान्तर भने निकै साँघुरिएको छ । दलित सदस्यमा तारा परिवार दोहोरिएकी छन् भने राधिकाको टिममा महिला सदस्यमा विष्णु थापा भुजेल र खुला सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङ छन् ।

Advertisement

कालिकोटबाट राजनीति थालेकी राधिका पोखरा महानगरकी निवर्तमान कार्यपालिका सदस्य हुन् l

कर्णालीको कालिकोटमा जन्मिएकी राधिकाको कर्मक्षेत्र पोखरा बनेको छ । अहिले उनी एमाले जिल्ला कमिटी सदस्य हुन् । पार्टीको प्रदेश क्षेत्रीय कमिटीको इन्चार्ज पनि छिन् । त्यो बेला कालिकोटमा छोरीलाई पढाउने चलन थिएन । घरबाट ३, ४ घन्टा हिँडेपछि बल्ल स्कुल पुगिन्थ्यो । भाइलाई पढाउनुपर्ने भएपछि उनलाई स्कुल जाने अवसर आयो । उनी सम्झिन्छिन्, ‘भाइ स्कुल जान नमानेपछि साथीको रुपमा मलाई पछि स्कुल पठाइयो । ७ वर्षकी भएपछि स्कुल गएँ म ।’

Advertisement

उमेर धेरै भएकाले उनलाई ३ कक्षा नपढी ४ मा लगियो । उनी कक्षामा दोस्रो कहिल्यै भइनन् । प्रस्तावित राजदेव माविको पहिलो ब्याचमा उनले एसएलसी पास गरिन् । बाल्यकाल कालिकोटमै बित्यो । ६ वर्षकै हुँदा वुबाको निधन भए पनि उनले परिवारका अरु सदस्यको माया पाइन् । त्यो बेलाको दुर्गम गाउँमा एकल महिला हुँदाको आमाको पीडा, बाध्यता देख्दै, सघाउँदै उनी हुर्किइन् ।

त्यहाँको जातीय विभेद देखिन् । छाउपडी प्रथा र छुवाछुतको डरलाग्दो पर्खाल देखिन् । भोगिन् पनि । उनी भन्छिन्, ‘त्यो बेला विद्रोहको कुरा त कसरी हुन्थ्यो र किन यस्तो हुन्छ भन्नेचाहिँ लागिरहन्थ्यो ।’ बहुदल आएपछि उनी राजनीतिमा जोडिइन् । ७ कक्षामै उनी अनेरास्ववियु पाँचौंको जिल्ला कोषाध्यक्ष बनिन् । खेलमा उनको रुचि थियो तर महिलालाई खेलाउने चलनै थिएन । राधिका भन्छिन्, ‘मलाई नखेलाउने भएपछि बल समातेर दिँदै दिइनँ, त्यसपछि मलाई सर्भिसमा राख्न थाले । अहिले पनि म भलिबल खेल्छु ।’

सुर्खेत क्याम्पसबाट आइए पास गरेपछि उनको औपचारिक अध्ययन रोकियो । विवाहले उनको जीवनमा अर्काे मोड ल्यायो । उनले आइए पास गरेकी थिइन् । पढेलेखेका ठकुरी युवा भेटिनै मुस्किल । उनलाई जात मिलाएर नपढेको केटा खोजेर बिहे गरिदिने परिवारले चाँजोपाँजो गर्न लागेको थाहा भयो ।

उनी सुर्खेत क्याम्पसकी स्ववियु कोषाध्यक्ष थिइन् । उनले अन्तरजातीय विवाह गर्ने हिक्मत गरिन् । ०५२ मंसिर ११ गते सहपाठी गोविन्दनाथ योगीसँग उनको विहे भयो । ०५३ जेठबाट उनले ७ वर्ष शिक्षण गरिन् । श्रीमान् गोविन्द हिमालय आँखा अस्पतालमा कार्यरत रहेकाले उनी पोखरा आइन् । पोखरा आएपछि उनी टोल कमिटी हुँदै वडा कमिटी र जिल्ला कमिटीमा पुगिन् ।

पोखरा १७ मा धार्मिक पर्यटकीय सर्किट बनाउने योजना अबको कार्यकालमा साकार पार्ने उनी प्रतीज्ञा गर्छिन् । भन्छिन्, ‘केही काम अधुरा छन् । ती योजना पूरा गर्दै वडालाई नमुना बनाउन लाग्छु । वडाबाट हुने काम व्यवस्थित गर्ने, पेपरलेस बनाउने उनका प्राथमिकता हुन् । राधिका भन्छिन्, ‘सबैभन्दा पहिला त नागरिकलाई सहज सेवा दिन हेल्प डेस्क राख्छौं । आफ्ना योजना लागू गर्न कार्यकारी भूमिकामै हुनुपर्छ भन्ने ठानेर अध्यक्ष बन्न चाहेँ, जनताले अनुमोदन गरिदिए ।’

पोखरा १७ का विभिन्न ठाउँमा भूमिहीन र अव्यवस्थित बसोबासी छन् । यो समस्या समाधान गर्ने उनले प्रतिवद्धता गरेकी छन् । उनी भन्छिन्, ‘सुकुम्बासी समस्या समाधान गर्नु छ । कोभिडको बेला ज्यानको परवाह नगरी घर घर गएर हामीले फार्म भरेका छौं ।’ महानगरको कार्यपालिका सदस्य बनेर नीति, नियम बुझेकाले अब योजना बनाएर कार्यान्वयन गर्न सहज हुने उनी सुनाउँछिन् । राधिका भन्छिन्, ‘म निम्न वर्ग आएकी महिला हुँ । ती वर्गलाई कसरी संरक्षण र प्रोत्साहन गर्न सकिन्छ भन्ने मलाई थाहा छ । सबैको जनप्रतिनिधि बनेर वडाको समृद्धिमा लाग्छु ।’

तपाईको प्रतिक्रिया