हेली जान नसकेपछि सम्भावित दुर्घटनास्थलतिर पैदलै जाँदै सुरक्षाकर्मी

समाधान संवाददाता २०७९ जेठ १५ गते १३:५९

पोखरा ।

मुस्ताङका लागि पोखराबाट उडेको तारा एयरको जहाज खोज्न गएको हेलिकोप्टर खराब मौसमका कारण जान नसकेपछि सुरक्षाकर्मीहरु पैदलै सम्भावित दुर्घटनास्थलतिर गएका छन् ।

दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताएर अनुसार कालिगण्डकी नदीको बीच भाग हुँदै उड्नुपर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले  थासाङको नाउरिकोटमाथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा दुर्घटना भएको अनुमान गरिएको छ ।

Advertisement

पोखराबाट मुस्ताङ आउँदै गर्दा मुस्ताङकै आकाशमा हराइरहेको जहाजको खोजीकार्य तीब्र भइरहेको प्रजिअ नेत्रनाथ शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार मौसम प्रतिकुलताका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेकाले खोजी कार्य प्रभावित भएको छ । बिहान १२ बजे फिस्टेल एयरको हेली थासाङक्षेत्रमा गएपनि मौसमका कारण जोमसोममै फिर्कएको थियो । 

Advertisement

अहिले पुन दोस्रो पटक फिस्टेलको हेली दुर्घटना अनुमान गरिएकोक्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।

जहाज खोजीका लागि सूचना संकलन र माइकिङ गर्ने काम भइरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ । 

जहाज खोज्नका लागि सुरक्षाका सबै युनिटलाई निर्देशान दिएको प्रजिअ शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया