पाेखराकाे ‘फूलबारी रिसोर्ट’ लिलामीमा

समाधान संवाददाता २०७९ असार ३ गते १६:५९

पोखरा ।
ऋण लिएर वर्षाैंसम्म नतिरेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिमिटेड लिलामीमा चढेको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत अगुवा नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको हो ।

होटल अहिले बन्द छ । होटलका संरचना खण्डहर बन्न लागेका छन् । बैंकले जग्गा भवनलगायत अन्य चलअचल सम्पत्ति लिलामी गर्नका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न बैंकले अनुरोधसमेत गरेको छ । धेरै पटक प्रयास गर्दा पनि ऋण नतिरेकाले लिलामीको प्रक्रिया अघि बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए । ३५ दिनभित्र होटलले ऋण तिरेर आफ्नो सम्पत्ति फिर्ता लैजान पाउने उनले बताए । धेरै पुरानो ऋण भएकाले अब पर्खन नसक्ने उनको भनाइ छ ।

होटलले नेपाल बैंकका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम ( हाल राष्ट्रिय वाणिज्य बैंक) र कर्मचारी सञ्चय कोषबाट लिएको ऋण र सोको सावाँ र ब्याज गरी ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । होटलका सञ्चालक पीयुषबहादुर अमात्यले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सम्झौताको सर्तहरुसमेत पालना नगरेकाले होटल लिलामी गर्नुपरेको सीईओ अधिकारीले स्पष्टपारेको छ । तिर्ने सर्तमा धेरै पटक ऋणको पुनरसंरचना र पुनर्तालिकीकरण गरिएको उनले सुनाए ।

Advertisement

बैंकले पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले जनाएको छ । साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा १६५ कोठाहरु छन् ।

२०५३ सालमा नेपाल बैंकको अगुवाइमा एनआईडीसी र सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड, एनआईडीसीले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो । अमात्य ग्रुपको लगानी रहेको रिसोर्ट सञ्चालन हुने बेला मुलुक माओवादी द्वन्द्वमा फस्यो । विदेशबाट पर्यटक आउन बन्द भएपछि आम्दानी भएन र उसले ऋण तिर्न सकेन । २०५८ सालको दरबार हत्याकाण्ड र ऋतिक रोशन काण्ड र भारतीय विमान अपहरण जस्ता ठूला काण्डले गर्दा नेपालमा पर्यटक आउने संख्या घटेपछि होटलले कमाउन सकेन् र ऋण पनि तिर्न असफल भयो ।

Advertisement

फूलबारीसँगै खुलेको काठमाडौंको बौद्धमा रहेको पाँचतारे ह्यात होटल अहिले सञ्चालनमा छ । उसले राम्रो बिजनेस गरिरहेको छ । लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले उद्धार गर्दा ह्यात बाँच्न सफल भएको हो । ह्यात होटलले अहिले राम्रो बिजनेस गरेर लगानीकर्तालाई आकर्षक प्रतिफलसमेत दिंदै आएको छ । ह्यात ऋणमुक्त भइसकेको छ । तर, व्यवस्थापकीय कमजोरीका कारण फूलबारी रिसोर्टले आफूलाई सम्हाल्न सकेन । अन्ततः रिसोर्टको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ ।

नेपाल बैंकले २०५७ सालदेखि पटक पटक ऋण तिर्ने र लिलामी गर्ने सूचना दैनिक पत्रिकाहरुमा प्रकाशित गर्दै आएको छ । अमात्य ग्रुपको बिजनेस बिग्रिएपछि ऋण तिर्न नसकेर कालोसूचीमा परेको छ । अमात्य ग्रुपका लागि त्यसबेला फूलबारी रिसोर्ट ट एउटा ड्रिम प्रोजेक्ट थियो । फूलबारी पर्यटकीय नगरी पोखरामा पहिलो ठूलो डिलक्स रिर्सोट थियो । यही प्रोजेक्टका कारण अमात्य ग्रुपको नेपाल स्टिल र एभरेष्ट आइसक्रिम उद्योग बन्द भए ।

यस्तै ग्रुप जापानको मित्सुविसी गाडीको नेपालका लागि आधिकारिक वितरक थियो । पछि उसको डिलरसीप खोसियो । कुनै बेला प्रख्यात ब्राण्ड फिलिपिन्सको सानमिगेल बियर ग्रुपको माउन्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको थियो । सानमिगेलको राम्रो बिजनेस थियो । डेनमार्कको काल्सबर्ग ग्रुपले किनेपछि सानमिगले नेपालको गोरखा ब्रुअरीमा गयो । पछि एभरेष्ट बियर उत्पादन गरे पनि बजार लिन सकेन र माउन्ट एभरेष्ट ब्रुअरी पनि बन्द भयो । ऋण तिर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ सालमा होटलको ब्याज मिनाहाको तयारी भएको थियो । तर, विरोधपछि त्यो हुन सकेन ।

होटल र जग्गा बेच्न लगानीकर्ता खोज्दै अमात्य
रिसोर्टले ओगटेको जग्गाको मूल्य अर्बौ रुपैयाँ छ । बैंकले लिलामीको प्रक्रिया अघि बढाएपछि पीयुषबहादुर अमात्यले बैंकलाई लिखत गरेको होटल तथा रिसोर्टले चर्चेको, आफ्नो स्वामित्व र श्रीमती गंगा अमात्यको नाममा रहेको जग्गा बेच्न लागि परेका छन् । अहिले उनको सबै सम्पत्ति १२ अर्बमा बेच्न खोजिरहेको जानकारी पाएको सीईओ अधिकारले बताए ।

पुनः सञ्चालन गर्ने योजना असफल
बन्द अवस्थामा रहेको फूलबार रिसोर्टलाई अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको व्यवस्थापनमा पुनः सञ्चालनमा ल्याउने तयारी भएपछि सफल हुन सकेन । सरकारले पर्यटन वर्ष २०२० मनाउन तयारी गरेका बेला सो फूलबारीलाई पुनः सञ्चालनमा ल्याउन तयारी भएकोमा कोरोना महामारी सुरु भएपछि असफल भएको हो ।

म्यारियटको व्यवस्थापनमा होटल सञ्चालन गर्न नेपाल बैंक र अमात्यबीच फूलबारी रिसोर्टको ऋण पुनर्संरचना र रिसोर्ट सञ्चालनका विषयमा सैद्धान्तिक सहमति भइसकेको नेपाल बैंकका सीईओ अधिकारीले बताए । त्यतिबेला म्यारियट समूहले सञ्चालन गर्ने शर्तमा होटल सञ्चालन गर्नका लागि रिनोभेसनको काम थाल्ने भनेर ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण गरिएको थियो । त्यसको २ वर्ष बितिसक्दा पनि अमात्यले ऋण नतिरेको उनको भनाइ छ ।

३ अर्ब बढी कर तिर्न बाँकी
दि फूलबारीले सरकारलाई ३ अर्ब रुपैयाँ बढी कर तिर्न बाँकी रहेको छ । सर्वोच्च अदालतले फूलबारी रिसोर्टलाई मूल्य अभिवृद्धिकर (भ्याट) र राजस्व छुट दिन नमिल्ने फैसला २०७४ पुस १६ गते सुनाएको थियो । रिसोर्टका सञ्चालक पीयुषबहादुर अमात्यले हालेको रिट खारेज गर्दै तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले करमा छुट दिन नसकिने भन्दै सञ्चालक अमात्यले हालेको रिट खारेज गरेको हो ।

सर्वोच्चको यो फैसलापछि अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीको बक्यौता रकम साँवा, ब्याज र त्यसको हर्जानासहित सरकारलाई ३ अर्ब रुपैयाँभन्दा बढी बुझाएका छैनन् ।

फूलबारी रिसोर्टमा ०६२ असारदेखि ०६५ जेठ १५ सम्म नेपाल रिक्रियसन सेन्टरको नाममा क्यासिनो सञ्चालन गरिएको थियो। उक्त अवधिमा संकलन भएको रोयल्टी सरकारी खातामा जम्मा भएन । होटल सञ्चालक अमात्यले रोयल्टी रकम रिक्रियसन सेन्टरले तिर्नुपर्ने दाबी गरे भने सेन्टरले होटलको दायित्व भएको भन्दै पन्छिएको थियो ।

तपाईको प्रतिक्रिया