रेडक्रसमा २ करोड १३ लाखको संस्थागत कोष

समाधान संवाददाता २०७९ असार ५ गते ११:२३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले संस्थाको कार्यक्रम तथा सेवा प्रवाहलाई नियमित र दिगो बनाउन २ करोड १३ लाख रुपैयाँको संस्थागत कोष खडा गरेको छ ।

प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितको राहात तथा उद्दारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए । सभापति पाण्डेले १ करोड ५० लाखको कर्मचारी उपदान कोष स्थापना गरेको बताए । रेडक्रस कास्कीको शनिबार भएको ३८ औं वार्षिक साधारण सभामा कोषाध्यक्ष सुरेन्द्र गुरुङले १८ लाखको असाहय रक्त सहायता कोष, १० लाखको आकस्मिक उपचार कोष र ५ लाखको जुनियर अक्षय कोष स्थापना गरेको उल्लेख गरे ।

रेडक्रसका मन्त्री धर्मराज अधिकारीले विपत व्यवस्थापन चक्रका सबै चरण, विपद् पूर्व तयारी, प्रभावितलाई सहयोग तथा मानवीय सेवा उपलब्ध गराउन उपशाखाहरुले समेत विपद् राहत कोषको व्यवस्था गरेको जानकारी दिए । ‘शाखाबाट राहत सामाग्री १ सय परिवारलाई तत्काल सहयोग गर्ने गरी तयारी अवस्थामा राखिएको छ । ३० लाख पूर्व तयारी स्वरुप मुद्दती खातामा राखिएको छ,’ मन्त्री अधिकारीले भने, ‘रेडक्रसका उपशाखाहरुले क्षमता अनुसार ३० हजारदेखि २ लाखसम्मको विपद् व्यवस्थापन कोष बनाएर महत्वपूर्ण काम गरेका छन् ।’

Advertisement

कास्कीमा हरेक वर्ष बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, चट्याङ, हावाहुरी लगायतका विपद्का घटनाले मानवीय र भौतिक क्षति भएको जानकारी दिँदै मन्त्री अधिकारीले विपद् जोखिम न्यूनीकरण सचेतना अभिवृद्धि, विपद्को पूर्व तयारी, योजना निर्माण र कार्यान्वयनमा रेडक्रसले ध्यान दिएको बताए । मन्त्री अधिकारीले यस वर्ष कास्कीमा आगलागीबाट प्रभावित २७ परिवार, चट्याङबाट ५ परिवार, हावाहुरीबाट ८ परिवार, अन्य ३ परिवार, बाढीपहिरोबाट प्रभावित २ सय २६ परिवार सहित २ सय ६९ प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले रेडक्रसले विपद् व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा काम गरेको बताए । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माल, नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति गेहेन्द्रेश्वर कोइराला, कास्कीका उपसभापति डण्डराज शर्मा, पोखरा २३ उपशाखाका सभापति गीता विक, पोखरा १८ उपशाखाका सभापति सूर्यप्रसाद तिमिल्सिना लगायतले बोलका थिए ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य तथा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, जिल्ला समन्वय समिति कास्की सदस्य राजु अधिकारी र रेडक्रस कास्कीका पूर्व उपमन्त्री प्रकाशलाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया