बागलुङ उद्योग वाणिज्य संघ अध्यक्षमा कँडेल

समाधान संवाददाता २०७९ असार ५ गते १३:५३

बागलुङ ।
बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन् । संघको १८औं महाधिवेशनबाट कँडेल अध्यक्ष चुनिएका हुन् । संघका निवर्तमान महासचिव समेत रहेका कँडेल र पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ ‘बासु’ अध्यक्षका लागि प्रतिस्पर्धामा थिए । शनिबारका लागि निर्धारित मतदान सुरु हुनुअघि कँडेलको नाममा सहमति जुटेको हो । दुवै जना नेपाली कांग्रेस निकट हुन् ।

अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गरे पनि राजनकुमार शाक्य र शशिकपुर श्रेष्ठले कँडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्ष र दुईजना उद्योग सदस्य बाहेक खुला १४ सदस्य र २ महिला सदस्यमा पनि यस अगाडि नै सहमति जुटिसकेको थियो । अध्यक्ष र उद्योग सदस्यमा निर्वाचन हुने अन्तिम तयारीमा रहँदा सर्वसम्मतको प्रयासले मूर्त रुप लिएको हो ।

अध्यक्षका दुवै आकांक्षी नेपाली कांग्रेस निकट भएका कारण अन्तिम समयमा सर्वसम्मत नेतृत्वको चयनका लागि पार्टीले भूमिका खेलेको बताइएको छ । उम्मेदवारहरुको सहमतिमा बनेको कार्यदलले नरेश कँडेललाई अध्यक्षमा सर्वसम्मत बनाएको थियो । यसपटक सर्वसम्म नेतृत्व चयनका लागि विगतबाटै प्रयास भएको थियो ।

Advertisement

बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताए । उनले सबैलाई समेतटेर उद्योगी व्यवसायिको हितमा लाग्ने सुनाए । संघको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषि राम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया