क्यामरुनी टोली एभिनियर फाइनलमा

समाधान संवाददाता २०७९ असार १० गते १२:४०

पोखरा ।
क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेमजा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा प्रवेश गरेको हो ।

हेमजा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगिताको चौथो मिनेटमा नै चर्च ब्वाइजले पहिलो अग्रता लिएको थियो । चर्च ब्वाइजका कप्तान मिलन राईले हेडमार्फत गोल गरे । चर्च ब्वाइजले फ्रिकिकमा गोल गरेको हो । त्यसको ३ मिनेटपछि एभिनियरले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सामेसामेले प्रहार गरेको बलले विवेक पौडेलको हातमा लागेपछि ७ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । एभिनियरका आनिसेले उक्त पेनाल्टीको सदुपयोग गर्दै सहजै गोल गरेका थिए ।

हेमजा अन्तर्राष्ट्रिय गोल्ड कप उपाधिका लागि एभिनियरले आयोजक हेमजा युनाइटेडसँग भेट पक्का गरेको छ

Advertisement

यसअघि छैटौं मिनेटमा एभिनियरका सामेसामेकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । २१ औं मिनेटमा एभिनियरले पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्नबाट चुक्यो । चर्च ब्वाइजका विवेकले नै एभिनियरका टिम्बाटिम्बालाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । नेल्सनले प्रहार गरेको उक्त फ्रिकिक निकै बाहिरियो । २९ औं मिनेटमा चर्च ब्वाइजका अञ्जन विष्टको हेडरलाई एभिनियरका गोलरक्षक कोभास्सिले उत्कृष्ट बचाउ गर्दा चर्च ब्वाइज अग्रता गर्नबाट चुक्यो ।

४४ औं मिनेटमा अर्को अवसर खेर फाल्यो । आशीष चौधरीको पासमा कप्तान मिलनको प्रहारलाई पुनः गोलरक्षक कोभास्सीले बचाउ गर्दै गोल गर्ने अवसर विफल पारिदिए । खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा भने एभिनियर खेलमा हाबी भयो । खेलको ५१ औं मिनेटमा चर्च ब्वाइजका दिनेश राजवंशीले एभिनियरका स्टेफनलाई लगाएपछि विवाद भएको थियो । मुख्य रेफ्री सन्तोष गुरुङले उनीहरु दुवैलाई रातो कार्ड दिए ।

Advertisement

त्यसपछि दुवै टोली १० खेलाडीमा सिमित बने । दोस्रो हाफमा चर्च ब्वाइजलाई निकै दबाबमा राखेको एभिनियरका लागि साङ्गले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । उनले ७६ औं मिनेटमा २ डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । एभिनियर यसअघि एपिएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
जितसँगै एभिनियर उपाधिका लागि आयोजक हेमजा युनाइटेडसँग भिड्ने भएको छ ।

आयोजक हेमजाले क्वटरफाइनलमा वीरगञ्ज युनाइटेडलाई र सेमिफाइनलमा खुमलटार युथ क्ल्बलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । उपाधि भिडन्त भने शनिबार हुनेछ । विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया