‘प्रेस मानवअधिकार मैत्री हुनुपर्छ’

समाधान संवाददाता २०७९ असार १६ गते १२:४०

पोखरा ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)गण्डकीले बुधबार मानव अधिकार प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तक्र्रिया गरेको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ कानुन विभागको समन्वयमा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कानुन विभागका प्रमुख सरिता तिमल्सिना पंगेनीले पत्रकार आचारसंहिता र राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंक खनालले मानव अधिकार र पत्रकारिता विषयमा सहजीकरण गरेका थिए ।

मन्त्री विन्दुकुमार थापाले सुशासन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण सूचनाको हक सम्बन्धी विधेयक ल्याउन लागेको जानकारी दिए । उनले प्रदेशले बनाउने ऐन तथा नीति नियमावलीलाई मानव अधिकार मैत्री बनाउने उल्लेख गर्दै उनले मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको बताए । उनले मानव अधिकारको हनन्बाट पीडितलाई उपचार दिलाउने काम प्रहरी प्रशासनको भएको जनाए ।

कास्कीका सहयाक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मानव अधिकारको प्रवद्र्धनमा नागरिक समाजको भूमिका रहने उल्लेख गरे । उनले पत्रकारले कुनै विषयवस्तुमा कहिले लेख्दा, कहिले नलेख्दा मानव अधिकारको प्रवद्र्धन हुने बताए । अग्रज पत्रकार नारायण कार्कीले मानव अधिकार मैत्री पत्रकारिताले जनताको अधिकारको संरक्षण हुने बताए । फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विषयवस्तु र पत्रकारिता फरक फरक भएको उल्लेख गर्दै कार्कीले भ्रामक र काल्पनिक सूचना दिने सामाजिक सञ्जालाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

Advertisement

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले मानव अधिकार र पत्रकारिता एक अर्काका परिपूरक भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, पत्रकार महासंघका कानुन विभागका सदस्य आरजु बिष्ट सल्यानी, क्रियाशील पत्रकार महिलाका केन्द्रीय सदस्य दुर्गा अधिकारी, संस्थाका गण्डकी प्रदेश उपाध्यक्ष रवीना आले, मानव अधिकार पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष ईन्द्रकुमारी शर्मा, डेमोक्रेटिक लयर्स एसोसियसन कास्की अध्यक्ष कपिलमणि दाहाल लगायतले लगायतले मानव अधिकार र पत्रकारिताका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया