फिल्म समीक्षा
गोलीको छायाँमा आत्मघाती गोल
युद्ध र बदलाको खेलमा जुन पोस्टमा गोल हाने पनि आत्मघाती नै हुन्छ । फुटबललाई बिम्बको स्वरुप दिएर निर्देशक अनुप बरालले सुन्दर सिनेमा बनाएका छन् ।

पहिलो विश्वयुद्ध ताका सिनेमा साहित्यमा एउटा शैली भित्रियो–जर्मन एक्सप्रेसनिज्म । उसो त एक्सप्रेसनिज्म मुभमेन्ट सिनेमाअगावै चित्रकलामा प्रयोग भएको थियो । रङ, हेभी एट्मसफियर, डिप स्याडोज अर्थात् क्यारोसक्युरो लाइटिङ, क्यामरा एंगलको अद्भुत प्रयोगमार्फत भाव–बिम्ब झल्काउने कलात्मक शैलीबाट विचार सम्प्रेषण गर्ने शैलीलाई जर्मन एक्सप्रेसनिज्म भनियो ।
तत्कालीन समयमा फिल्म मेकरले यही शैली इस्तमाल गर्दै युद्धको रापमा बाँचेका मान्छेको भाव पर्दामा उतारे । शुक्रबारदेखि देशव्यापी प्रदर्शन भएको चलचित्र दोखले यही शैली अनुशरण गरेको देखिन्छ । निर्देशक अनुप बरालले यो शैली पछ्याएको देखिन्छ । कथा बुनिनु अघिका महत्वपूर्ण आधार टाइम (काल खण्ड) र स्पेस (स्थान) हुन् । यो कथा द्वन्द्वकालीन कालखण्डको हो । स्थान पूर्वी नेपाल । टाइम र स्पेस स्थापित भएपछि पात्र जन्मिन्छन् । अनि पृष्ठभूमि तयार हुन्छ । त्यसपछि कथाले आकार लिन्छ । प्रस्तुत कथाका पात्रहरु रुक्की (दीया मास्के), रोनित (मनिष निरौला), पात्रे (लोकमणि सापकोटा), घनश्याम (माओत्से गुरुङ), कमरेड संगीत (सुरज मल्ल), नाइके (रोय दीप), गुजी (कमल देवकोटा), डल्ले (साजन थापा मगर), रोहन (सेवान्त लुइटेल ) इत्यादि हुन् ।
सशस्त्र युद्धका कारण समय खुम्चिएको छ । पूर्वका दुई गाउँ भकुण्डे र सल्लेबीचको विवाद चुलिएको छ । विवादको कारण हुन्छ–चुथ्रे सामुदायिक वन । गाउँ बीचको किचलोमा माओवादी प्रवेश हुन्छ । कलह साम्य पार्न माओवादी कमान्डरले जुक्ति निकाल्छ–फुटबल प्रतियोगिता आयोजना । खेलमा जित्नेले वन उपभोग गर्न पाउने शर्त हुन्छ । युद्धको कथामात्र होइन दोख । सशस्त्र युद्धका कारण साधारण मान्छेको जीवनशैलीमा परेको असरको पनि कथा हो । मनोविज्ञानमा परेको प्रभावको कथासमेत हो । राजनैतिक मुद्दा हैन । साधारण मान्छेको मनोस्थितिमा फिल्म केन्द्रित छ । फिल्ममा युद्धको भुमरीमा डुबेका मान्छेको मनोदशालाई मिहिन रुपमा देखाउन निर्देशक सफल छन् ।
बदलाको बाटो हिंडेर कहीं पुगिँदैन । युद्धले कसैले फाइदा गर्दैन । मुख्य मुद्दा यही हो । फिल्ममा द्वन्द्व, विद्रोह, बदला, भय, प्रेम अनि खेल समावेश छन् । फिल्मले सशस्त्र द्वन्द्वको त्रासदीपूर्ण कालखण्डलाई नै दोख मानेको छ । क्यामेराले स्टोरी टेलिङमा उम्दा भूमिका खेलेको छ । प्रतिकूल समय देखाउन त्यस अनुरुपका सट प्रयोग भएका छन् । कहीं कतै सुन्दर ल्यान्डस्केप समावेश छैन, देखेका वाइड सटहरु उजाड, फिक्का देखाएको छ । पात्रको मनोदशा र निसासिएको समय अनुरुप कलरटोन प्रयोग भएको छ ।
क्यारोसक्युरो लाइटिङको प्रयोगले दृश्यलाई बिछ्ट्टै कलात्मक र यथार्थपरक देखाएको छ । डिप स्याडोज कन्ट्रास्टमार्फत तत्कालीन समय र मान्छेहरुको मनोभाव दर्शाउन खोजिएको छ । पात्रहरुको प्राकृतिक अभिनय गरेका छन् । चरित्रमा बाँचेका छन् । यस्तो लाग्छ, ती पात्र हामी वरपरबाट टपक्क टिपिएका हुन् । फिल्ममा माओवादी कमान्डरको हातमा महंगो घडी र चस्मा लगाएको देखाइएको छ । यसलाई निर्देशकले बिम्बको रुपमा प्रयोग गरेका छन् । घडी भनेको समय हो अनि चस्मा भनेको दृष्टिकोण अर्थात् विचार । समयलाई हातमा लिएर कसरी विचार लाद्न खोजेको भन्ने देखाउन खोजेको छ । क्रान्तिलाई हेर्ने दृष्टिकोण र उद्देश्य सबैको उस्तै छैन । एउटा बाउको छोरा गुमेको बदला, छोराको बाउ गुमेको बदला लिनु छ । एउटा अबोध फुच्चेको नजरमा क्रान्ति ‘सिको फाइभ’ घडी अनि कालो रिबन चस्मा प्राप्ति गर्नुबाहेक अरु केही हैन ।
निर्देशकले बिम्बात्मक दृश्य भाषामार्फत् कथा भन्ने प्रयास गरेका छन् । एउटा दृश्य छ, रोनित र रुक्की स्कुल जाँदा सानो काठेपुल क्रस गरेको । पुल आसपास उन्मेषित फूल पनि दृश्यमा समावेश छ । जसबाट उनीहरुको भाव प्रकट गर्न खोजेको देखिन्छ । अर्को रातको एउटा दृश्य छ, रुक्कीले चर्केको ऐना हेरिरहेको । चर्केको ऐना देखाएर रुक्कीको भाव कलात्मक तवरले अभिव्यक्त भएको छ ।
तत्कालीन कालखण्ड महसुस गराउन स–साना कुरामा ध्यान दिइएको छ । प्रोप्स प्रयोग भएको छ । जस्तो भट्टीमा तत्कालीन समयका खाद्य पदार्थ, पर्समा टाँसेको सिक्का, झुण्ड्याएको चेन इत्यादि । त्यस्तै, चुरोटमार्फत् बिम्बात्मक रुपमा सम्बन्ध जोडिन र तोडिनलाई आकर्षक दृश्य समावेश छ । युद्धमा बाबु गुमाएको विद्यार्थी रोहन भण्डारीप्रति रोनितले देखाएको सहानुभूतिले भावुक बनाउँछ । शिक्षक रोनितले रोल नम्बर ७ अनुपस्थित हुँदा पनि हाजिरी जनाउँछन् । अर्को कुरा, खेलमा ७/७ जना खेलाउँछन् । ७ विवादास्पद नम्बरको प्रतीक हो । संख्याको बिम्ब प्रयोग गरेर फिल्मलाई कलात्मक बनाइएको छ ।
निर्देशकले पूर्वेली सामाजिक अवस्था, भाषा, आर्थिक तथा राजनीतिक अवस्थालाई चलचित्रमा उतार्ने प्रयास गरेका छन् । फिल्ममा हियारी भाकाको एउटा गीत छ । गीतले दोखको परिवेश किराँत समुदाय भन्ने पनि बुझाउँछ । रैथाने संगीतका खोजकर्ता झुमा लिम्बुले स्वर दिएको यस गीतले युद्धको भयले थिचिएकी महिलाको वेदना पोखेको छ । गीत कवि श्रवण मुकारूङले लेखेका हुन् । फिल्मको ध्वनि डिजाइन राम्रो छ । एमबियन्ट साउन्ड, ब्याकराउन्ड स्कोरले कथावाचनमा सहयोग पुर्याएको देखिन्छ । विपिन स्थापित, ज्योति राना, पुष्प संगमले साउन्डमा काम गरेका छन् ।
मनोज अधिकारी र सविन ज्ञवालीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता ओम गुरुङ, भीम न्यौपाने र रञ्जु वाग्ले थापा हुन् । सन्तोष पाठक, धर्म अधिकारी, प्रवीण पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ । एउटा प्रतिस्पर्धामा राजन कठेतको पटकथाले विजय हासिल गरेपछि त्यही कथामा दोख बनेको हो । पटकथा भित्रको ‘कथाको समस्या’ भन्नु गाउँबीचको किचलो हो । तर त्यसलाई मिहिन रुपमा प्रस्तुत गर्न सकिएको छैन । चुथ्रे वनमा घटेको एउटामात्र घटनाले ‘कथाको समस्या’लाई बलियो बनाउन नसकेको भान हुन्छ । लेखक यसमा चुकेका छन् । फिल्मको पहिलो हाफ सुस्त भएको महसुस हुन्छ । कथा अल्झिरहन्छ ।
लेखकले कमरेड संगीतको चरित्र निर्माणमा समय नदिएको भान हुन्छ । क्रान्तिकारी कमान्डरलाई हल्का रुपमा देखाइएको जस्तो अनुभूत हुन्छ । माओवादी क्रान्तिकारी भन्ने बित्तिकै मानसपटलमा आउने डरलाग्दो, कट्टर कमान्डरको आकृति झल्किँदैन । माओवादीले तत्कालीन समयमा दिएको यातना, कारबाही मिहिन रुपमा नगएको हो कि ? न बन्दुक बोक्ने नसक्ने बच्चालाई बन्दुक भिराएको थियो । ती दृश्य यथार्थपरक लाग्दैनन् ।
फिल्मको पात्र नाइकेले फुटबल अभ्यासका क्रममा केल्मी ब्रान्डका जर्सी लगाउँछन् । केल्मी ब्रान्ड नेपालमा बढी प्रयोगमा आएको धेरै भएको छैन । तत्कालीन समयमा पूर्वी जिल्लाको गाउँको पात्रलाई केल्मी ब्रान्डको जर्सी लगाईदिंदा अवास्तविक देखिन सक्छ । सिनेमामा युद्धको दृश्यलाई रियाल्स्टिक देखाउन प्रायः रातमा अथवा लाइटिङको प्रयोगमार्फत देखाउने गरिन्छ । तर घमाइलो दिनमा भएको अन्तिम युद्धको दृश्य भयभित हुने गरी देखिएको छैन । यसमा भिज्युअल इलिमेन्ट नपुगेको हो कि ?
केन्द्रीय पात्र मनिष निरौलाको प्रस्तुतिकरण औसत देखिन्छ । उनीभित्र पीडा छ । खराब मनस्थितिमा छन् । तर उनको प्रस्तुतिकरणले त्यो गहिरो रुपमा देखाउन सकेको छैन । सिनेमा हेर्दा उनको व्यथाले दर्शकलाई दुखित तुल्याउदैन । जति रहस्यमय देखिनु पथ्र्याे र अन्तमा रहस्य खोलिनु पथ्र्यो तर सुरुदेखि नै रिभिल गर्दै गएको छ । त्यस्तै, पात्रको मनोविज्ञानमा दर्शकलाई घुसाउन पनि मुस्किल पर्छ ।
फुटबल खेलमात्र होइन, रणनीति हो । राजनीति हो । फिल्ममा विवादको आगो निभाउन खेल आयोजना हुन्छ । तर खेलमा एक पक्षमा सरकारका मान्छे अर्काेतर्फ विद्रोही पक्ष घूसपेठ हुन्छ । अनि खेलले अर्कै मोड लिन्छ । युद्ध र बदलाको खेलमा जुन पोस्टमा गोल हाने पनि आत्माघाती नै हुन्छ । घाटा दुवैलाई हुन्छ । फुटबल खेललाई बिम्बको स्वरुप दिएर निर्देशक अनुप बरालले सुन्दर सिनेमा बनाएका छन् । समग्रमा दोखको प्रस्तुतिकरण सरल र यथार्थपरक छ । विश्व सिनेमाको अभ्यास नेपाली सिनेमामा प्रयोग गर्ने उनको आँट तारिफ योग्य छ ।
विचार, मेहनत, शैली, प्रयोग र कलाको समागमले बनेको सुन्दर सिर्जना बनेको छ–दोख ।
तपाईको प्रतिक्रिया