
- —प्रदेश बजेटमा थुप्रै छन् ५ लाखका योजना
—आफ्ना मातापिताको नामको बजेट हटाइदिन मन्त्री श्रेष्ठको आग्रह
कार्यक्रम बजेट
पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन भन्ने गर्थे, ‘प्रदेशले १ करोडभन्दा मुनिका योजना ल्याउनु हुन्न ।’ सानासाना योजना पालिकाले, मझौला प्रदेश सरकारले र ठूला योजना संघले बनाउनुपर्ने उनको भनाइ सार्वजनिक कार्यक्रममा दोहोरिरहन्थ्यो । तर आगामी आर्थिक वर्षका लागि आफैंले ल्याएको बजेटमा अर्थमन्त्री बरालले १ करोडमुनिका असंख्य योजना राखेका छन् ।
आमा समूहका भवन, सामुदायिक भवनदेखि क्लबका लागिसम्म बजेट छुट्याएर अर्थमन्त्री बरालले पैसाको कनिका छरेका छन् । वडाले गर्नुपर्ने योजना र कार्यक्रममा पनि प्रदेशले बजेट राखेको छ । यो बजेटले प्रदेश र स्थानीय तहबीच फरक नै नदेखिएको पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र प्राध्यापक गर्ने नवराज बराल बताउँछन् । ‘प्रदेशका मन्त्रीहरुले आफूलाई वडाध्यक्ष सम्झनुभयो । जसले गर्दा त्यहाँभन्दा माथिको भिजन लिन सक्नुभएन,’ उनले भने ।
प्रदेश सरकारले आफ्नो उपस्थिति कहाँ भन्ने नै बुझ्न नसकेको उपप्राध्यापक बरालले औंल्याए । बजेट तर्जुमा गर्दा बजेटको सिद्धान्त कुनै पनि अंगीकार नगरिएको नवराज बताए । ‘कृषि मन्त्रालयको योजनामा कृषि कार्यालयको बाटो ढलान गर्ने, कृषि कार्यालयमा चर्पी बनाउने समावेश गरिएको छ, त्यसलाई कसरी कृषिको बजेट कसरी भन्ने,’ उनले भने । चुनावमुखी बजेट ल्याउँदा केन्द्रीय बजेटसँग कुनै पनि संयोजन नभएको उनीले बताए ।

अर्कातिर मन्त्री र सत्तारुढ पार्टीका नातागोताको नामका कोषलाई बजेट छुट्याइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोबद्र्धन शर्मा पोखरेलको नामको कोषलाई ५० लाख विनियोजन भएको छ । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका मातापिताको नाममा १ करोड, कांग्रेस नेता अर्जुन जोशीका पिताको नाममा २० लाख विनियोजन भएको छ । त्यस्तै पर्वतका अर्का नेता डिल्लीराम लामिछानेको कोषको नाममा २० लाख रुपैयाँ छ । जनमोर्चा सांसद पियारी थापाको पारिवारिक कोषका लागि पनि ६० लाख रुपैयाँ बजेट परेको छ ।
असार १ गते अर्थमन्त्री बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएका थिए । अर्थमन्त्री बरालले पूर्वाधार विकास कार्यक्रम हटाइएको भन्दै चौतर्फी विरोध भयो । सोही कारणले सदन चल्न नदिइएपछि माग सम्बोधन गर्दै उक्त कार्यक्रम समावेश गरेर अगाडि बढ्ने अर्थमन्त्रीले प्रष्टीकरण दिएका छन् । आइतबारको प्रदेशसभा बैठकमा मन्त्री बरालले सत्तापक्ष र प्रतिपक्ष दुवैबाट उक्त कार्यक्रम समावेश गर्न माग गरेपछि सदुपयोग गर्ने गरी समावेश गरिने बताए ।
प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको भन्दै आलोचना भइरहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेखलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले भने आफ्नो बुवाआमाको नाममा दर्ता रहेको ट्रस्टको लागि छुट्याइएको बजेट हटाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
- ५ लाखका केही योजना
- होमस्टेहरुको गुणस्तर मानक निर्धारण तथा मूल्यांकन
- गण्डकी प्रदेशको पर्यटकीय प्रोफाइल तयार
- प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार कार्यक्रम
- घरेलु तथा साना उद्योग कार्यालय तथा कर्मचारीलाई क्षमता अभिवृद्धि
- लाँकुरीडाँडा पर्यटकी पूर्वाधार विकास पोमनपा २६
- दलित, विपन्न तथा परम्परागत सीप भएकालाई व्यावसायिक विकासका लागि उपकरण तथा प्रविधि हस्तान्तरण
- मत्स्य पोखरी निर्माण अनुदान
- विद्यालय आयुर्वेद तथा योग शिक्षा योजना म्याग्दी
- बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम म्याग्दी
- नयाँ बगैंचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम म्याग्दी
- नजेरे गाउँबाट कपुरगाउँ जाने पदमार्ग निर्माण लमजुङ
- दोर्दी दूधपोखरी पदमार्ग निर्माण लमजुङ
- बिरुवा डाँडादेखि दोबाटेसम्म गोरेटोबाटो निर्माण लमजुङ
- मसलाबाली विकास कार्यक्रम गोरखा
- फलफूल नर्सरी तथा स्रोत केन्द्र गोरखा
- गुम्दा माझगाउँ पहिरो नियन्त्रण गोरखा
- भैरवीचौर पर्यटन पूर्वाधरा निर्माण गोरखा
- सहिद स्मृति पर्यटन पार्क निर्माण गोरखा
- स्थानीय तहमा कृषि शिविर सञ्चालन तनहुँ
- स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना कार्यक्रम मनाङ
- बेमौसमी तरकारी उत्पादन सम्बन्धी तालिम पर्वत
- कोलडाँडा रामतोला चौतारी निर्माण बागलुङ
- सुम्निमा पार्क निर्माण नवलपुर
- आरनदेखि साहुँडाँडा पदमार्ग खौला नवलपुर
- उद्यमशीलता विकास तालिम नवलपुर

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया