मूर्ति बनाउन ५५ लाख बजेट

समाधान संवाददाता २०७९ असार २७ गते १०:२४

पोखरा ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रस्तुत गरेको बजेट करिब १ महिना पुगिसक्दा पनि विवादको भुमरीबाट निस्कन सकेको छैन । कहिले ऐन, नियम मिचिएको त कहिले मन्त्रीका आफन्तलाई बजेट बाँडिएकोमा आलोचना भएको छ । बजेटमा प्रतिपक्षको रोष त हुने नै भयो, सत्तारुढ सांसद पनि असन्तुष्ट छन् ।

प्रदेश संरचनाप्रति नै वितृष्णा जगाउने गरी प्रदेश सरकारले बजेट ल्याएको भन्दै कतिपय अर्थविदबाट आलोचना भइरहेको छ । उनीहरुले अनुत्पादक क्षेत्रमा कनिका छरेजस्तो बजेट ल्याएको भन्दै अर्थमन्त्री रामजीप्रसाद बरालको आलोचना गरेका छन् । प्रदेशले ल्याएको बजेट चुनावमुखी देखिन्छ । जनताको भावना बुझ्नेभन्दा कार्यकर्ताको माग पूर्ति गर्नेतर्फ बजेट लक्षित छ ।
अर्थमन्त्री बरालले आमा समूहका भवन, सामुदायिक भवनदेखि क्लबका लागिसम्म बजेट छुट्याएका छन् । वडाले गर्नुपर्ने खालका साना योजना र कार्यक्रममा पनि प्रदेशले बजेट राखेको छ ।

अर्थमन्त्री बरालले प्रदेशका जिल्लामा मूर्ति निर्माणका लागि ५५ लाख बजेट विनियोजन गरेका छन् । प्रदेशका सबै ११ जिल्लामा ५ लाखका दरले धन्वन्तरी मूर्ति निर्माणका लागि बजेट विनियोजन गरिएको छ । धन्वन्तरी पूर्वीय चिकित्सा जगतका सूत्राधार र हिन्दू धर्ममा देव पद प्राप्त चिकित्सक मानिन्छन् । धन्वन्तरी राक्षसको बिगबिगी भएको बेलामा भगवानलाई उपचारको लागि जन्मिएका थिए । देव–असुर संग्राममा राक्षसबाट पीडित भएका देवतालाई जोगाउन उनले भूमिका निर्वाह गरेका थिए । उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखेर पूजा गर्ने गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया