सम्पादकीयः प्याराग्लाइडिङको बाटो

समाधान संवाददाता २०७९ असार २७ गते १२:०१

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा हुने चरणमा छ । यसपछि यहाँको आकाशमा उड्दै आएका प्याराग्लाइडिङको भविष्य के हुने हो ? टडकारो प्रश्न खडा भएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज आउने हो भने प्याराग्लाइडिङ उडान हुन सम्भव नहुने एकथरी विज्ञहरुको भनाइ छ भने कतिपयले भने समय मिलाएर वा कुनै ठाउँ तय गर्न सकिने बताएका छन् । पोखराको पर्यटनमा प्याराग्लाइडिङको छुट्टै महत्व छ । पोखरा घुम्न आउने पर्यटकका लागि हिमाल र तालको दृश्यले मात्रै होइन, यहाँका साहसिक गतिविधिले पनि तान्छन् । अचेल नेपाली होउन् या विदेशी धेरैको चाहना पोखरा आएर प्याराग्लाइडिङ गर्ने हुन्छ ।

पछिल्लो समय पोखराको पर्यटनको विशेष आकर्षण प्याराग्लाइडिङ हो । इन्जिन बिनाको ग्लाइडरमा आकाशमा उडेर चराको अनुभव हाँसिल गर्न जोकोही लालायित हुन्छन् । यस्तो सुविधा नेपालका अरु पर्यटकीय स्थानमा खासै चलेको छैन । प्रयासहरु धेरैतिर भए पनि पोखराको जस्तो आनन्द अन्त हुँदैन भन्ने अनुभवी पर्यटकहरु नै बताउँछन् । यसै पनि पोखरोको सराङकोटबाट हुने उडान विश्वका प्याराग्लाइडिङ हुने स्थानमध्ये उत्कृष्टभित्रै सूचीकृत भएको छ । फेवातालमाथिको आकाशमा विशेष प्रकारले हावाको प्रवाह हुँदा प्याराग्लाइडिङ उडान सजिलो र आनन्ददायक हुन्छ भन्ने विज्ञ र अनुभवीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनलाई उचाइमा पुर्‍याउन कोसेढुंगा नै हुने विश्वास गरिएको छ । २२ अर्ब रुपैयाँ खर्चेर र त्यो पनि विदेशी ऋण लिएर बनेको विमानस्थलको उपयोगिता उत्तिकै महत्वपूर्ण छ । पहुँच असहज भएकैले पर्यटक आएनन् वा कम आए भन्ने एउटा पिरोलो छँदैछ । अब विमानस्थल बनेपछि पर्यटक आउँछन् भन्ने विश्वास हो । पर्यटक आएर मात्रै भएन, उनीहरुलाई भुलाउने र डुलाउने माध्यम पनि चाहियो । त्यही माध्यम मध्येको एक प्याराग्लाइडिङ हो ।

Advertisement

तसर्थ प्राविधिक हिसाबले सही हुन्छ भने प्याराग्लाइडिङलाई पनि सँगसँगै जोगाउन जरुरी छ । तर अन्तर्राष्ट्रिय हवाई दुर्घटनाको जोखिमलाई निकै संवेदनशील रुपमा हेर्नुपर्छ । जोखिम भयो भने पर्यटक कोही आउँदैनन् । पर्यटकै नआएपछि न विमानस्थल न प्याराग्लाइडिङ वा अरु केही । प्याराग्लाइडिङ जोगाउने तर कसरी भन्ने विषय निकै गम्भीर हो । संवेदनशील हो । सराङ्कोटको विकल्प प्याराग्लाइडिङ उडाउने अर्काे कुनै ठाउँ हुन्छ वा समय तालिका र त्यसकाय नियमन गर्न सकिन्छ कि यसबारे अध्ययन गरी निर्णय लिनु हितकर हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया