पोखरेली पर्यटन र पर्यटन बसपार्क

वासु त्रिपाठी २०७९ असार २७ गते १२:१८

पोखरा उपत्यकाको विकासका लागि विभिन्न समयमा अनेक प्रकारका योजना बने । तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाविद् इन्जिनियर पदमबहादुर खत्री लगायतका योजनाकारले २०३१ सालमा बनाएको ‘पोखराको भौतिक विकास योजना २०३१ नै सर्वाधिक महत्वपूर्ण प्रमाणित भएको छ । सो योजनाको मुख्य उद्देश्य सरकारलाई पनि आर्थिक भार नपर्ने र जनतालाई पनि घाटा नहुने गरी ल्यान्ड पुलिङ सिस्टम अर्थात् जनताको जग्गा लिने र त्यसमा पूर्वाधार विकास गरेर जनतालाई नै फिर्ता गर्ने विधिबाट विकास गर्ने थियो । यो योजना अनुसार नै पोखरामा भएका हालका सार्वजनिक जमिन जनताबाट अधिग्रहण गरिएको थियो ।

Advertisement

पोखराको भू उपयोगलाई समग्रमा ११ वर्गमा बाँडिएको थियो । पोखरालाई आवासीय क्षेत्र, व्यापारिक क्षेत्र, खेलकुद क्षेत्र, बसपार्क, विमानस्थल, औद्योगिक क्षेत्र, कार्यालय क्षेत्र लगायत ११ भागमा विभाजन गरी विकास गर्ने योजना ल्याइएको थियो । पोखराको गहनाको रुपमा रहेको न्युरोड यसै योजना अनुरुप जनताको बारीको बीचबाट डोजर चलाएर बनाएको थियो । तर जनता र सरकार दुवै पक्ष खुसी नै थिए । तत्कालीन योजना अनुसार पोखरालाई हरित बगैंचा सहरका रुपमा विकास गर्ने, पश्चिमी क्षेत्रलाई सहरीकरण गर्ने, उत्कृष्ट बासस्थानको सहर बनाउने र प्राकृतिक सम्पदा तथा सम्पत्तिको सौन्दर्यकरण र संवद्र्धन गर्ने दीर्घकालीन उद्देश्य थियो । सायद त्यतिखेर अहिलेको जस्तो पर्यटक आउने गरेको भए हाल पर्यटक बसपार्क भएको क्षेत्रलाई पर्यटक बसपार्क नै बनाउने स्पष्ट योजना बन्ने थियो होला ।

पृथ्वीचोकको बसपार्कमा बेला बेलामा पर्यटकले दुःख पाएकाले पर्यटककै लागि छुट्टै बसपार्क बनाउने अवधारणा अनुसार नेपालमै पहिलो पर्यटन बसपार्क पोखरामा बनेको थियो

Advertisement


नगर विकासको जग्गा कसरी उपयोग गर्ने ?
हाल पोखरा उपत्यका नगर विकास समितिको नाममा भएका जग्गा जनताबाट अधिग्रहण गरिएका हुन् । मुख्य उद्देश्य व्यवस्थित पोखरा बनाउने नै हो । तसर्थ महानगरपालिकाले वा उपत्यका नगर विकास समितिले शुद्ध व्यापारीले जस्तो भाडामा लगाउने र बढी भन्दा बढी पैसा कमाउने उद्देश्य राख्नु हुन्न । यी जग्गालाई बर्गीकरण गरी बसपार्क, पर्यटक बसपार्क जस्ता राम्रा काममा उपयोग भइरहेका जमिनको समुचित सदुपयोग भएको रुपमा हेरी पोखरा पर्यटन परिषद, होटल संघ, हान जस्ता गैर नाफामुलक संस्थालाई न्यून मूल्यमा हेरचाहको जिम्मा दिनु राम्रो हुन्छ । किनकि पर्यटक बसपार्कबाट आम जनताले सुरक्षित बस यात्राको सुविधा लिन पाउनु भएको छ । कतिपय निकट भविष्यमा आवश्यक पर्ने जस्ता जमिन भाडामा लगाउनु हुन्न । सहरको केन्द्र भागमा भएका, अन्य काममा खासै नआउने तर भाडा धेरै आउने साना साना जमिनलाइ मात्र भाडामा लगाउनु उपयुक्त होला ।

नेपाल भ्रमण वर्ष १९९८, पोखरा भ्रमण वर्ष २००७ र पोखरा पर्यटक बसपार्क
पोखरालाई पहिल्यैदेखि पर्यटनको राजधानी भन्दै आएको भए पनि नीतिगत रुपमा सम्बोधन भने निकै कम हुने गरेको छ । पर्यटनको राजधानी भनेरमात्रै भएन, पर्यटन मैत्री र पर्यटन केन्द्रित रुपले विकास, निर्माण हुनुपर्छ भन्ने कुरामा भने कुनै विवाद थिएन । यसै क्रममा नेपाल सरकारले सन् १९९८ लाइ नेपाल भ्रमण वर्ष घोषणा गर्‍यो । त्यसको संयोजक कर्ण शाक्य हुनु भयो । तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुख कृष्ण थापा हुनुहुन्थ्यो भने नगर योजना (जसलाई पछि उपत्यका नगर विकास समिति बनाइयो )को अध्यक्ष्य रमेशबहादुर भट्टराई हुनुहुन्थ्यो ।

Advertisement

यसै क्रममा कर्ण शाक्य पोखरा आएका बेलामा मेयर र नगर योजनाका अध्यक्षसँग भेट भयो । भ्रमण वर्षलाई पोखरामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा विचार गरियो । पृथ्वीचोकको बसपार्कमा बेला बेलामा पर्यटकले दुख पाएको, अन्योलमा परेको, एक ठाउँमा जाने भनेकोमा अन्तै लागिएको जस्ता गुनासा विभिन्न सञ्चार माध्यममा आइ नै रहेका थिए । पोखरा आगमन स्थलबाट नै पोखराको छवि सपार्ने भन्ने कुरामा यी ३ जनाबीच सहमति भयो र पर्यटकका लागि छुट्टै बसपार्क बनाउने निर्णय भयो ।

त्यसपछि नगर योजनाले निर्णय गरेर राष्ट्र बैंक चोक स्थित करिब १८ रोपनी जग्गालाई अर्को व्यवस्था नहुँदासम्मका लागि पर्यटक बसपार्क बनाउने निधो भयो । पोखराबाट काठमाडौँ, चितवन, सुनौली, बेसी सहर लगायतका ठाउँका लागि पर्यटक स्तरका बस छुट्न र आउन थालेका हुन् । तत्काल सो बसपार्क पोखरा होटल व्यवसायी संघ, पश्चिमाञ्चल होटल संघ, नाट्टा, ट्याक्सी व्यवसायी लगायतले मिलेर सञ्चालन गरेका थिए ।

समय बित्दै जाँदा नेपालको एकमात्र पर्यटक बसपार्क अलि अव्यवस्थित र लथालिङ जस्तो देखियो । चारैतिर खुला हुनाले सवारी पनि सुरक्षित नहुने भयो । द्वन्द्व कालमा –शायद २०६२ सालमा ) पर्यटक बसपार्कमा पर्यटकको सुरक्ष्यामा खटिएका प्रहरी जवानमाथि भौतिक आक्रमण भयो । ती सुरक्षाकर्मीको दुखद निधन भयो । चारैतिर खुला भएको हुनाले गोली हान्ने मान्छेहरु सजिलै भाग्न सफल भए ।

२०६२–६३ को आन्दोलन सफल भयो । पर्यटनका फेरि राम्रा दिन आउन थाले । प्रदीप ज्ञवाली पर्यटन मन्त्री, माधव घिमिरे पर्यटन सचिब र टेकबहादुर डाँगी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सन् २००७ लाई पोखरा भ्रमण वर्ष मनाउने निर्णय भयो । तत्कालीन पर्यटन बोर्डका सदस्य वासुदेव त्रिपाठी संयोजक, पूर्व सदस्य विश्वशंकर पालिखे र पोखरा पर्यटन परिषद्का अध्यक्ष्य सुन्दरकुमार श्रेष्ठ गरी २ जना सह संयोजक बन्ने तय भयो ।

पोखरा पर्यटन परिषदका महासचिव टीकाराम सापकोटा सदस्य सचिव, पश्चिमाञ्चल होटल संघका अध्यक्ष्य लक्ष्मीबहादुर भट्टराई कोषाध्यक्ष्य हुनु भयो । प्रमुख जिल्ला अधिकारी, पूर्वमेयरहरु, उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने लगायतका लब्ध प्रतिष्ठित व्यक्तिहरु सल्लाहकार बन्नु भयो । म संयोजक भएको हुनाले मेरै विशेष पहलमा पोखरा भ्रमण वर्ष २००७ का मुख्य उद्देश्य तपशिल बमोजिम तय गरिएको थियोः

१. अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याएको ३ हजार १ सय ६ रोपनी जमिनमध्ये मुख्य २ कार्की दाजुभाइको करिब ७० रोपनी जग्गाको मुआब्जा दिन बाँकी थियो । त्यसलाई टुंग्याउने भनियो । कास्कीका नेता खगराज अधिकारीको अध्यक्षता र देवेन्द्र केसीको सदस्य सचिवकत्वमा १८ सदस्यीय कार्यदल बन्यो । २६ दिनमा नै प्रतिवेदन पेश गरी अन्ततः यो समस्या समाधान भयो ।
२. पर्यटक बसपार्कलाइ विकसित र व्यवस्थित गर्ने
३. तत्कालीन विमानस्थलमा एक्सरे मेसिन जोड्ने
४. माथिल्लो सेती नदीलाई ¥याफ्टिङ अनुमति दिलाउने
५. पोखराबाट माथिल्लो मुस्ताङ, मनास्लु लगायतका नियन्त्रित क्षेत्रका लागि परमिट बनाउने ।
६. पोखरालाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि सुधार्ने
भ्रमण वर्षकै अवसरमा नेपाल पर्यटन बोर्ड पोखराको हलमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, बोर्डका पाँचै जना सदस्य, सल्लाहाकार लगायतको बीचमा भ्रमण वर्षका बारेमा बृहत अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रम सकिनासाथ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, बोर्डका पाँचै जना सदस्य, प्रमुख जिल्ला अधिकारी बिमलप्रसाद ढकाल लगायत पर्यटक बसपार्कको अवलोकन गर्न गयौं । तत्काल तारबार गर्न आवश्यक देखियो ।

नेपाल पर्यटन बोर्ड करिब ८ लाख लगानी गर्न पनि राजी भयो । तर एउटा प्राविधिक बिषय आयो । सो जग्गा १९९८ बाट नै पर्यटक बसपार्क को रुपमा प्रयोग हुँदै आएको भए पनि स्वामित्व भने उपत्यका नगर विकास समितिको नाममा थियो । उपत्यका नगर विकास समितिले सो जग्गामा पर्यटक बसपार्क सञ्चालन हुने नै छ भन्ने पत्र दिनुपर्ने भयो । त्यसैले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, बोर्डका पाँचै जना सदस्य लगायत उपस्थित सबैले अनुरोध गरेपछि उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले पोखरामा अर्को सुबिधा सम्पन्न पर्यटक बसपार्क नबन्दासम्म राष्ट्र बैंक चोक स्थित पर्यटक बसपार्कको रुपमा प्रयोग हुँदै आएको उक्त जग्गामा नै पर्यटक बसपार्क सञ्चालन गरिनेछ भन्ने आशयको पत्र दिनुभयो ।

पत्र दिएपछि नेपाल पर्यटन बोर्डले रकम दियो । बाँकी काम गर्ने जिम्मेवारी पोखरा पर्यटन परिषदलाई दिइयो । पोखरा पर्यटन परिषद र सम्बन्धित सबैको प्रयासमा तारबार तथा सौन्दर्यकरण गरेपछि पोखरा पर्यटक बसपार्कले नेपालको एकमात्र पर्यटक बस पार्कको पहिचान बनाउन सफल भयो । समयको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा पोखराबासीका प्रिय नेता रवीन्द्र अधिकारी पर्यटन मन्त्री बन्नु भयो । सो ठाउँ नै पर्यटक बसपार्कका लागि उपयुक्त भन्ने निधो भएपछि पर्यटन विभागको करिब ८ करोडको लागतमा सुबिधा सम्पन्न पर्यटक बसपार्क निर्माण भएर हालैमात्र पोखरा महानगरपालिकाका मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष्य धनराज आचार्यले पर्यटन विभागबाट यसको स्वामित्व ग्रहण गरिसक्नु भएको छ ।

यो जग्गा पर्यटक बसपार्कको रुपमा उपयोग गर्न दिने लगायत विगतमा विभिन्न क्षेत्रमा योगदान दिनुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपाल भ्रमण वर्ष १९९८, पोखरा भ्रमण वर्ष २००७, नेपाल पर्यटन वर्ष २०११ लगायतका पर्यटन प्रवद्र्धनका कार्यक्रमले पोखराको विकासलाई पर्यटनमैत्री बन्न सहयोग नै गरेका छन् । यो बसपार्कलाई सहज तरिकाले नेपालको एक सुविधा सम्पन्न पर्यटक बसपार्कको रुपमा परिचित गराउन र उपयोग गर्न सबै जिम्मेवार पक्षबाट सद्भाव, सहयोग जरुरी छ ।
त्रिपाठी पोखरा भ्रमण वर्ष २००७ का संयोजक थिए

तपाईको प्रतिक्रिया