अनेरास्ववीयुको मुख्यमन्त्री र मन्त्रीलाई रु एक दान संकलन अभियान

समाधान संवाददाता २०७९ असार २७ गते १३:०१

पोखरा ।
गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको बजेट हटाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मुख्यमन्त्री र मन्त्रीको परिवारलाई रु एक रुपैयाँ दान संकलन अभियान गरेको छ । बजेटमा जोडिएका मुख्यमन्त्री, मन्त्री तथा नेताको तस्विर आफ्नो अनुहारमा टाँसेर सोमबार पोखरा रत्नचोकमा उनीहरुले आन्दोलन गरेका हुन् ।

राज्यको सम्पत्ति फिर्ता गर, बाबुआमाको नाममा लगाइएको रकम फिर्ता गर, गण्डकी प्रदेश गरिब हो , राज्यको धुकुटी फिर्ता गर जस्ता नारासहित मुख्यमन्त्री, मन्त्रीको राजिनामा माग गरेका छन् । मन्त्रिपरिषदबाट निर्णय गरेर त्यस्ता ट्रस्टको बजेट फिर्ता नलिएसम्म रु १ दान अभियान जारी राख्ने बताए । अहिले उक्त अभियान गण्डकीका ११ जिल्लामै चलाइएको अनेरास्ववियु गण्डकी सचिव आरके पोखरेलले बताए । संकलित रकम गण्डकी सरकारको बैंक खातामै दाखिला गरिदिने अनेरास्ववियुले जनाएको छ । दानपेटिकामा पैदलयात्रु, सवारी साधन रोकेर समेत पैसा राखिदिएका थिए ।

कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोबद्र्धन शर्मा पोखरेलको नामको ट्रस्टलाई ५० लाख, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका मातापिताको ट्रस्टलाई १ करोड, जनमोर्चा सांसद पियारी थापाको पारिवारिक कोषलाई ६० लाख, कांग्रेस नेता अर्जुन जोशीका पिताको नाममा २० लाख, कुस्मा नगरपालिकाकी पूर्वउपमेयर सीता काफ्ले लामिछानेका श्रीमान् डिल्लीराम लामिछानेको स्मृतिमा २० लाख रुपैयाँ छुट्टाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया