फोहोर व्यवस्थापनमा मेयर अझै अन्धकारमै

देश, विदेशको फोहोर व्यवस्थापनको मोडेल सुनाएका मेयर धनराज आचार्यसँग पोखराको फोहोर व्यवस्थापनको मोडल र ल्यान्डफिल साइटबारे स्पष्ट दृष्टिकोण देखिएन

समाधान संवाददाता २०७९ असार २८ गते ११:२७

पोखरा ।
पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिल साइट कहाँ बनाउने ? ल्यान्डफिल साइटको टुंगो नलागे पोखरा विमानस्थल सञ्चालन गर्न कठिन हुनेछ । किनभने अहिलेको ल्यान्डफिल विमानस्थलको ५ किलोमिटरभित्र छ, जुन अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ)को मापदण्ड विपरीत हो ।

नयाँ ल्यान्डफिल साइट पोखरा ३३ भरतपोखरीमा बनाउने चर्चा छ तर यकीन छैन । त्यसो भए कहाँ बन्छ त नयाँ ल्यान्डफिल साइट। यही प्रश्न मंगलबार पोखरा महानगरपालिका मेयर धनराज आचार्यतिर तेर्सियो । उनले फोहोर व्यवस्थापन गर्ने अहिलेको पोखरा १४ स्थित ल्यान्डफिल साइट बनाउने बेला दक्षिण एसियाकै नमुना भएको बताए । ‘तर अहिले सो ठाउँमा ल्यान्डफिल साइट सम्भव छैन,’ उनले भने ।

मेयर आचार्यले अब ल्यान्डफिल साइट बनाउने सन्दर्भमा देश र विदेशको उदाहरण पेस गरे । ‘नेदरल्यान्डमा एक दिन फोहोर आएन भने लोडसेडिङ हुन्छ, अर्काे दिन आएन भने, जर्मनीबाट फोहोर किन्छ,’ उनले भने । नेदरल्यान्डमा फोहोरबाट बिजुली निकालिएको प्रसंगपछि उनी स्वदेशको धरानतिर फर्किए । ‘धरानमा फोहोरबाट ग्याँस निकालिएको छ,’ उनले भने, ‘धरानमा चल्ने टेम्पुमा त्यही ग्याँस प्रयोग हुन्छ ।’ त्यसपछि उनले मकवानपुरको हेटौंडाको प्रसंग जोडे । उनकै भनाइमा हेटौंडामा फोहोर डढाइन्छ तर त्यसको धूवाँले वातावरण प्रदूषण हुँदैन । सफा पानी नै बाफ बनेर उड्छ ।

Advertisement

त्यतिका कथा हालेपछि मेयरले जोड दिएरै भने, ‘महानगरपालिकाको पहिलो कुरा फोहोर व्यवस्थापन हो ।’ त्यसो भए गर्छ महानगरले व्यवस्थापन ? अहिले नै फोहोर व्यवस्थापन गरिरहेका निजी संस्थाको म्याद केही समय थपिने जानकारी उनले दिए । भरतपोखरीमा प्रस्तावित ल्यान्डफिल साइटको ठाउँबारे वातावरणीय अध्ययन मूल्यांकन नहुँदै कहाँ हुन्छ भन्न नसकिने मेयर आचार्यले उल्लेख गरे । ल्यान्डफिल साइटबारे भरतपोखरीमा वातावरणीय अध्ययन भएको छैन । चाहिने प्रक्रिया पूरा नगरी दीर्घकालीन हिसाबले बनाइने ल्यान्डफिल साइट नबनाउने उनको भनाइ छ ।

आगामी वर्षदेखि फोहोर व्यवस्थापनमा महानगरपालिकाले अधिकतम प्रविधिको प्रयोग गरी घर घरबाटै वर्गीकरण गरेर उठाउने भन्न भने मेयर आचार्यले भ्याए । ‘प्रविधिले धेरै कोल्टो फेरिसकेको छ, थोरै मात्रै फोहोर काम नलाग्ने हुन्छ, त्यो पनि खाल्डाखुल्डी, भासिएको ठाउँ पुर्न प्रयोग हुन पनि सक्छ, अरु अधिकांश फोहोर रियुज गर्न सक्ने प्रविधि आइसकेको अवस्था छ,’ उनले भने, ‘अब हामी प्राप्त प्रविधिको प्रयोग गरी घर घरबाट फोहोरको वर्गीकरण गरेर उठाउने सोचेका छौँ ।’

Advertisement

मेयर आयार्चले फोहोर व्यवस्थापनमा विभिन्न संघ, संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरे । उनकै भनाइमा पोखरा महानगरपालिकाबाट हरेक दिन १ सय ८८ टन फोहोर उत्पादन हुन्छ । महानगरमा उत्पादन हुने फोहोरलाई प्रयोग गरी ग्यास उत्पादन गर्न सकिए पोखराका पार्टी प्यालेसलाई पुग्ने ग्यास उपलब्ध हुने उनले बताए । तर के त्यस्तै गर्ने सोच र योजना उनले बनाएका छन् त यसबारे भने केही बताएनन् ।

मेयर आचार्यले नगर सभाबाट आइतबार बजेट पारित भएपछि आगामी कार्यक्रमबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेका हुन् । त्यस अवसरमा उनले पोखरा उपत्यका नगर विकास समितिको विवादित जग्गा छानबिनका लागि नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको सुनाए । जसमा मेयर आचार्यले पोखरा उपत्यका नगर विकास समितिबाट विधि नपुर्‍याई जग्गा भाडामा दिएको पाइएको बताएका छन् । उनले भने, ‘विधि, प्रक्रिया पूरा नगरी जग्गा भाडामा दिएको पाइएको छ । जो सिस्टम पुर्‍याएरै टुंग्याउने सोचेका छौँ ।’

आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको मेयर आचार्यले बताए । सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाए पनि मापदण्ड विपरीत अनाधिकृत रुपमा बनाएका संरचनाबाट सरकारले दिएको अधिकार प्रयोग गरेर हामी थुप्रै जरिवाना स्वरुप राजस्व संकलन गर्छौँ,’ उनले भने । पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

तपाईको प्रतिक्रिया