‘उद्योग चलाऔं, रोजगारी बढाऔं’

समाधान संवाददाता २०७९ असार २८ गते ११:३९

पोखरा ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्कीले गण्डकी प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन लामो समयदेखि बन्द रहेका ठूला उद्योग सञ्चालनमा ल्याउन गण्डकी प्रदेश सरकार समक्ष माग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सोमबार बुझाएको ज्ञापनपत्रमा भृकुटी कागज कारखाना र गोरखकाली टायर उद्योग लगायत प्रदेशका महत्वपूर्ण उद्योग यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरिएको संघका कास्की अध्यक्ष हरि बरालले जानकारी दिए ।

ज्ञापनपत्रमा लाखौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गर्न माग गरिएको छ । ‘गण्डकी प्रदेशमा एक पालिका एक उत्पादन, एक जिल्ला एक औद्योगिक करिडोर र उत्पादनको बजारीकरणको नीति अवलम्बन गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘वैज्ञानिक भू–उपयोग नीति लागू गरी कृषिमा आधुनिकीकरण, औजारीकरण तथा औद्योगिकीकरण गरी निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरियोस् ।’

विश्वबजारको मागलाई मध्यनजर गरी निर्यातजन्य वस्तुको पहिचान गरी उत्पादन गर्न आग्रह गर्दै ज्ञापनपत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान हुने गरी वस्तु उत्पादन गरी ‘प्रदेशको उत्पादन प्रदेशको शान’कार्यक्रम लागू गर्न माग गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय महासचिव ढाकाराम पौडेलले नीतिगत भ्रष्टचारका कारण देशको अर्थतन्त्रमा खराब प्रभाव बढ्दै दाबी गर्दै ज्ञापनपत्रमा भ्रष्टचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गरिएको बताए ।

Advertisement

खुला अर्थ व्यवस्थाका कारण विदेशी उत्पादनको सहज रुपमा भएको आयातले स्वदेशी उत्पादनहरु प्रतिस्पर्धा गर्न नसकेर विस्थापित हुँदै गएको दाबी गर्दै उनले स्वतन्त्र र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको उत्थान गर्ने नीति विना नेपाली उद्योग व्यवसायीको विकास सम्भव नभएको उल्लेख गरे । कम्तिमा एक पालिकामा कृषिलाई पर्यटनसँग जोड्न एग्रोटुरीजम कार्यक्रम लागू गर्न माग गर्दै ज्ञापनपत्रमा वास्तविक किसान पहिचान गरी उनीहरुका परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनु पर्ने अडान राखिएको छ । ज्ञापानपत्रमा कृषिमा गरिने योगदानको आधारमा किसानलाई पेन्सनको व्यवस्था गर्न समेत माग गरिएको छ ।

मुलुकको अर्थतन्त्रले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था रहेको औल्याउँदै संघले स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाएर प्रदेश संरचना खारेज गर्न माग गरेको छ । मुख्यमन्त्री पोखरेलले उद्योगी व्यावसायीले राखेका धेरै माग अनुसार गण्डकी प्रदेशले काम गर्दै आएको र केही मागलाई योजनामा राखेको जानकारी दिए । उनले भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग फेरि सञ्चालनमा ल्याउन संघ सरकारसँग समन्वय गरिरहेको सुनाए ।

Advertisement

विदेशी तथा ठूला कर्पोरेट उद्योगसँग साना उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सहुलियत र अनुदानको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार घरेलु, साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिए । उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलमा गण्डकी प्रदेश सभाका सदस्य पियारी थापा, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालसमेत सामेल थिए ।

तपाईको प्रतिक्रिया