सम्पादकीय: बाटो बिर्सेको बजेट

समाधान संवाददाता २०७९ असार २८ गते १२:०१

सोमबार गण्डकीका सडकमा अनौठा ‘भीखारी’ देखिए । सडकमा दानपात्र राखेका उनीहरु दान भने १ रुपैयाँ माग्दै थिए । यो महंगीमा १ रुपैयाँमात्र दान लिनेहरु खासमा विपक्षी एमाले निकट अनेरास्ववियुका नेता, कार्यकर्ता हुन् । गण्डकी सरकारले सरकारका मन्त्री र सत्तारुढ सांसदका आफन्तको नाममा खुलेका संस्थालाई ठूलै बजेट विनियोजना गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । राज्यकोषको रकम जथाभावी खर्च गर्ने प्रवृत्ति प्रदेश सरकारहरुले सिकेका छन् । संघमा यस खालको विकृति पहिल्यैदेखि हाबी छ । देश आर्थिक संकटको सम्मुखमा रहेका बेला नेताका आफन्तलाई मनोमानी रुपले बजेट दिन लागिएपछि यसको चर्काे विरोध भएको छ । यस्तो प्रवृत्तिले प्रदेश सरकारको औचित्यमाथि समेत प्रश्न उठाएको छ ।

आफ्नो आन्तरिक स्रोत निकै कम रहेको गण्डकी सरकारले बजेटका लागि स्थानीय तह र संघको मुख ताक्नुपर्छ । यसरी जम्मा भएको बजेट चुनावी वर्षमा जथाभावी बाड्न खोजिनुले प्रदेश नै बोझ बनेको भन्नेहरुलाई बल पुगेको छ । गण्डकीको बजेटमा बार्गेनिङ गरी आफ्ना योजना पार्ने र परिवारका नाममा खुलेका प्रतिष्ठानलाई रकम पार्नेमा मुख्यमन्त्री, मन्त्री, सांसद र नेताहरुसमेत छन् । यस्तो अनैतिक कामको जनस्तरमा विरोध भएपछि मुख्यमन्त्री र अर्का एक मन्त्रीले यस्तो बजेट अन्यत्र खर्च गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल नभएको राष्ट्रिय जनमोर्चाका एक सांसदको पारिवारिक संस्थालाई करोड बजेट विनियोजन भएको छ ।

अहिलेको सत्ता गठबन्धनका बेला मन्त्री दाबी गरेकी जसपा सांसदको संस्थालाई आधा करोड दिइएको खुलासा भएको छ । यसरी सत्ता टिकाउन, नयाँ समीकरण बनाउनकै लागि बजेट दिने सम्झौता भएको आरोप पुष्टि भएको छ । महामारीबाट आहात भएर लयमा फर्किइ नसकेका जनताले तिरेको करलाई यसरी दुरुपयोग गरिनुलाई सामान्य मान्न सकिँदैन । बजेट सरकारको वर्षभरिको आयव्ययको विवरण हो । यसै अनुसार प्रशासनिक र विकास, निर्माण सञ्चालन गरिन्छ । प्रजातन्त्रअघि नेपालमा राजाको हुकुम, राणशासनमा राणाको इच्छा अनुसार विकास, निर्माण र सरकारी काम हुन्थे । त्यो बेला बजेटको कुरै हुँदैनथ्यो ।

Advertisement

संघीय लोकतान्त्रिक गणतन्त्रमा देशका मन्त्री, नेताहरुले परिवारको नाममा बजेट विनियोजन गर्नु जनतामाथिको घात हो । यसले नेपालको शिशु संघीयतामाथि नै प्रहार गरेको छ । यसरी हुने विकास, निर्माण र अन्य कामले सुशासन कायम हुन सक्दैन । कार्यकर्ता पोस्ने, चुनाव खर्च जुटाउने, आफन्तको नामका कोष, संरचनाहरु बनाएर राजनीतिक उद्देश्य प्राप्त गर्ने क्रियाकलापलाई जायज मान्न सकिँदैन । यस्ता गलत प्रवृत्तिविरुद्ध सबैले खबरदारी गर्नैपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया