नयाँ अनुहारका चुनौती र सम्भावना

सन्तोष अधिकारी २०७९ असार २९ गते १३:३९

कोही मान्छे राजनीतिमा किन आउन चाहन्छ ? वास्तवमा बाहना जे जे बनाए पनि सत्ता र शक्तिको प्रयोगकै लागि मान्छे राजनीति गर्न चाहन्छ । राजनीतिको यो परिभाषा कुनै भूगोल या समुदायमा सीमित छैन । हामीले रामराज्य देखेका समृद्ध देशदेखि रोग, भोकसँग लडिरहेका कंगाल मुलुकमा पनि राजनीति गर्नेहरुको स्वार्थ र सपना समान देखिन्छन् । फरक यति हो कोही शक्तिको सदुपयोग गरेर देश बनाउन सफल हुन्छन् त कोही दुरुपयोग गरेर देश बिगारिरहेका हुन्छन । यो एउटा विश्वव्यापी मान्यता नै हो । यो महत्वाकांक्षी यात्रामा होमिनेहरु कति सफल हुन्छन्, कति बीच बाटोमै अलप हुन्छन् ।

पछिल्लो स्थानीय तहको निर्वाचानको परिणामपछि राजनीतिको राजमार्गमा होमिने युवाको जमात नेपालमा बढ्दो छ । उनीहरु कति गन्तव्यमा पुग्लान्, त्यो भने हेर्न बाँकी नै छ । नयाँ दल निर्माण, विनिर्माण र स्वतन्त्र उम्मेदवारी घोषणाको श्रृखंला जारी छ । यो रहर र लहरको संख्या मंसिरसम्म पुग्दा कति हुन्छ, अहिले नै यकीन गर्नु हतार हुनेछ । खास गरेर राजधानीमा बालेन्द्र शाहको विजयले केही युवामा एकाएक राजनीतिक मोह जगाइदियो । सुदुर पश्चिममा गोपाल अनि पूर्वमा हर्कको जितले थप भोक जगाउने काम गर्‍यो ।

राजनीतिमा नवप्रवेशीको लहरलाई रुचाएकाहरुले पुरानो दलको विस्थापनका लागि नयाँ र स्वतन्त्रको उदय अपरिहार्य रहेको टिप्पणी गरेका छन् । यता, आलोचकहरुले भेलमा ढडिया थापेर माछा मार्ने तिकडम गरेको आरोप लगाएका छन् । पुराना दलका धेरै कमजोरी हुँदा हुँदै पनि नयाँका अगाडि अग्लो चुनौतीको पहाड ठडिएको वास्ताविकतालाई नकार्न हुँदैन । बालेन, हर्क र गोपालहरुको जितबाट हौसिएरमात्रै कोही यो यात्रामा होमिएको छ भने त्यो मूर्खता हुनेछ ।

Advertisement

सबैभन्दा पहिला त पुराना राजनीतिक दलले स्थानीय तहमा पाएको मतलाई विश्लेषण गर्न जरुरी छ । कांग्रेस ,एमाले, माओवादीले दलगत रुपमा प्राप्त गरेको पपुलर मत घटेको देखिँदैन । यसरी हेर्दा मंसिरको निर्वाचनमा यो मत यति छिट्टै डाइभर्ट भईहाल्ने सम्भावना कम छ । यसभन्दा अघि बनेका नयाँ दलतर्फ पनि त्यो जनमत डाइभर्ट भएन । यसको ज्वलन्त उदाहरणको रुपमा डा बाबुराम भट्टराईले बनाएको नयाँ शक्ति र रवीन्द्र मिश्रको साझा विवेकशिल पार्टी नै हुन् । दुबै चर्चित अनुहारले बनाएका यी पार्टी केही वर्षसमेत टिक्न सकेनन् । यस पछाडिका कारण विविध होलान् । तर विगत ३ दशकदेखिको ट्रेन्ड हेर्दा जनमत कांग्रेस र कम्युनिस्ट इतरको विकल्पमा बाँडिएको देखिँदैन । यसर्थ मंसिरमा मोह पूरा गर्ने नयाँहरुको महत्वकांक्षा बालेनको नजिरलाई हेरेरमात्र सहज देखिँदैन ।

अर्कातर्फ राजनीतिमा संगठनको ठूलो महत्व हुन्छ । राम्रोसँग संगठित दल नै शक्तिशाली बन्न सक्छ । स्वतन्त्र या नयाँ दल सांगठनिक रुपमा ६ महिनामै पुरानालाई टक्कर दिने ठाउँमा पुग्लान् ? यो अर्काे यक्ष प्रश्न हो । अझ स्वतन्त्रको त संगठन हुने कुरै भएन । स्वतन्त्र उठनेहरुले योजनाबद्ध भन्दा पनि हतार र उच्च महात्वकांक्षी भएर उम्मेदवारी घोषणा गरेको देखिन्छ । अधिकांशमा मान्नुस् या नमान्नुस् बालेनले जितेकाले आफुले पनि जितिहालिन्छ नि भन्ने भ्रम छ । कतिपयमा त आफूहरुले नजिते देश कसैले बनाउनै नसक्ने भन्ने दम्भ पनि होला ।

Advertisement

पुरानाको विरोध नै जितका लागि काफी छ भन्ने एकांगी सोचले पनि कति राजनीतिको रंगमञ्चमा हेलिएका छन् । खास गरेर व्यक्तिगत महत्वकांक्षा बोकेर लहडकै भरमा स्वतन्त्रहरुले उम्मेदवारी घोषणा गरेका हुन् भने यो अर्को उनीहरुका लागि कठोर चुनौती बन्नेछ । हो मजबुत संगठन विना नै पनि कोही, कसैले चुनाव जित्लान् । तर आम रुपमा बलियो उपस्थिति देखाउन नयाँ दल या स्वतन्त्रलाई फलामको चिउरा चपाएसरह हुनेछ । दोस्रो तथ्य हो मुद्दा । अहिले दल खोल्ने र उम्मेदवार घोषणा गर्नेहरु सबैले सुशासन र भ्रष्टाचार विरोधी इस्युलाई नै प्राथमिकतामा राखेका छन् । यी अरुले नउठाएका, कुनै नौला विषय होइनन् । यी समस्या न्यूनीकरण गर्ने वैज्ञानिक र प्राविधिक आधार के हो उनीहरुले प्रष्ट पारेका छैनन् । यसर्थ जनमत बोलेकै भरमा परिवर्तन भईहाल्छ भनेर सोच्नु भ्रम हुनेछ ।

स्थानीय तहको चुनाव र संघको चुनाव फरक विषय हुन् । स्थानीय तहमा व्यक्तिगत सम्बन्ध, निकटता र भोलिका दिनमा आफ्ना दैनिक काम, कारबाही कुन व्यक्तिको जितले सहज हन्छ ? त्यसलाई पनि मतदाताले मूल्यांकन गरेका हुन्छन् । तसर्थ संघको चुनावमा क्षेत्र, समुदाय या पेशा विशेषको प्रभावमात्रै निर्वाचन जित्न पर्याप्त हुन्छ भन्न सकिँदैन । तेस्रो उदाहरण हो हाम्रो प्रवृत्ति । हामी केही नयाँ हुनेबित्तिकै हौसिएर कसैको देवत्वकरण गर्न लाग्छौं । अनि केही कमजोरी गर्‍यो भने दानवीकरण गर्न पनि पछि पर्देनौं । केही दिन अघिसम्म वाहीवाहीका पात्र भएका बालेनको क्रेजमा एउटै सालिक निर्माणको घोषणाले धक्का दियो ।

सामाजिक सञ्जालमा उनलाई भरपूर समर्थन गरेको ठूलो जमात उनको त्यो निर्णयको खण्डनमा उत्रियो । यसले के देखाउँछ भने बालनहरुले आगामी दिनमा यस्तै थप विरोधाभाषपूर्ण निर्णय गर्दै गए भने स्वतन्त्रहरुको समर्थक घटने निश्चित छ । अनि राजनीतिको सगरमाथा आरोहण गर्न आएका अरु नयाँलाई पनि त्यसले झड्का दिनेमा दुईमत छैन । परिणामतः जुन जोगी आए पनि कानै चिरेका भन्ने सन्देश गयो भने केही थान नेता थप्नका लागि जनमत नबदलिन सक्छ । स्थानीय निर्वाचनमा स्वतन्त्रको जितले परिवर्तनका केही संकेत भने दिएको छ । लुई चौधौ जस्तै ‘आइ एम अ स्टेट, स्टेट इज आई’ भन्ने नेताका लागि स्वतन्त्रहरुको उपस्थिति कम पेचिलो भने बन्ने छैन । स्वतन्त्रको जित पुराना दललाई कि सच्चिए कि खुम्च भन्ने सन्देश पनि हो ।

राजनीतिलाई सेवा होइन, पेशा बनाएकालाई झडका पनि हो । राजनीतिप्रति अनास्था राख्ने युवा जमात अहिले जबर्जस्त आकर्षित पनि भइराखेको छ । यसले ठूला हुँ भन्ने दल नसच्चिए उनीहरुको प्यारामिटर खुम्चने निश्चित पनि छ । यो परिणामले अब कम्तीमा उम्मेदवार बन्न चाहनेलाई आफनो क्षमता र योग्यताका बारेमा सोच्न बाध्य बनाएको छ । आफनो विगत र वर्तमानलाई स्व विश्लेषण गर्न पनि दबाब दिएको छ । दलले टिकट दिँदैमा चुनाव जितिन्छ भन्ने भ्रमको पर्दा हट्दै छ । साम, दाम दण्ड भेदको दुरुपयोग गरेर उम्मेदवार बन्ने मोह भंग हुन जरुरी छ । किनकी आफ्नो गढ, प्रभाव क्षेत्र सधै आफ्नै पकडमा रहन्छ भन्ने दलहरुको भ्रमलाई धक्का दिएको छ ।

दलहरु उम्मेदवार चयन गर्दा पैसा र पहुँचको प्रभावलाई प्राथमिकता दिन्थे । तर अब इमान्दारिता, योग्यता, दक्षता र क्षमताको मूल्यांकन गर्नुपर्ने बाध्यतामा दलहरु पुगेका छन् । परिणामतः पुराना राजनीतिक दल पनि आगामी दिनमा योग्यलाई अवसर दिन बाध्य हुनैपर्छ । अनुभव र योग्य हुँदाहुँदै पनि सदा अवसरबाट वञ्चित भएकालाई विद्रोह गर्ने आँट पनि स्वतन्त्रको विजयले दिलाइदिएको छ । जनताले दिएको यो सन्देश योग्यहरुबाट शासित हुन चाहन्छौं भन्ने पनि हो । आगामी दिनमा चुनौती नयाँ र पुराना दुबैलाई छ । तर योग्यहरुको उपस्थिति वर्तमानको आवश्यकता हो । अनि छान्ने जिम्मेवारी जनताको हो । जनमत पात्रालाई होइन, उसको योग्यतालाई रुचाउछ भन्ने केही बाह्य देशको ट्रेन्ड पनि हेरौं ।

कुनै बेला संसारकै गरिब देश भनेर चिनिएको इथियोपियालाई अहिले डा अवी अहमेदले हाँकिरहेका छन् । सन २०१८ मा ४२ वर्षमा प्रधानमन्त्री भएका नोवेल शान्ति पुरस्कार विजेता डा अहमेदले विज्ञान, सूचना तथा प्रविविको क्षेत्रमा काम गरेर अलग्गै पहिचान बनाएका थिए । सक्रिय राजनीतिमा आउनुपूर्व नै उनले एक सफल नेतृत्वकर्ता, अध्यता र अनुसन्धानकर्मीको छविसमेत बनाएका थिए ।

प्रधानमन्त्री बनेसँगै उनी दुई दशक लामो इरिट्रयासँगको रक्तपातपूर्ण युद्धको अन्त्य गर्न सफल भए । परिणामतः उनी नोबेल शान्ति पुरस्कारको हकदार बने । यो एउटा सफल पात्रा एजेन्डासहित इमान्दारीपूर्वक राजनीतिमा प्रवेश गर्‍यो भने उसले परिवर्तनका राजमार्गहरु खन्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो । भलै इथियोपियामा अहिले कुनै समस्या छैन भन्ने होइन । विकास, संस्कार, संस्कृति चेतनाको स्तर ओभर नाइट बदलिई हाल्ने कुरा पनि होइन । मात्र नेतृत्व सही भए क्रमिक रुपमा परिवर्तन हुँदै जान्छ ।

अर्का दृष्टान्त हुन फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोन । सक्रिय राजनीतिमा आउनुपूर्व उनले एक सफल व्यवस्थापक र बंकरको छवि बनाएका थिए । उदार राज्य र उदार अर्थनीतिको नारासहित सन् २०१७ मा निर्वाचनमा गएका उनलाई फ्रेन्च मतदाताले अनुमोदन गरिदिए । ४० वर्षकै उमेरमा फ्रान्सको राष्ट्रपति बनेका म्याक्रोनको पार्टी त झनै नयाँ थियो । जनताले पार्टीको इतिहास, स्थापनाको पात्रो हेरेरमात्र नेतृत्वको अनुमोदन गर्दैनन् भन्ने दृष्टान्त पनि हो यो । अहिलेको जनमत नेतृत्वको एजेन्डा, अनुभव र कार्यक्षमतामा रिफलेक्सन हुन्छ भन्ने उदाहरण पनि हो । हुन त अहमेद र म्याक्रोन जस्ता फरक पृष्ठभूमिबाट राजनीतिमा आएर नायक बनेका अरु थुप्रै उदाहरण पनि छन् ।

यी दृष्टान्त हुँदा नेपालमा पनि नयाँ प्रयोग नहोला भन्न सकिदैन । असफल निरन्तरताको क्रमभंगता वर्तमानको आवश्यकता पनि हो । यसका केही लक्षण पनि देखिँदै गएका छन् । यसो भन्दैमा विश्वासिलो आधार र योजना विना अहमेद र म्याक्रनको जस्तै अभ्युदय नयाँका लागि सहज छैन । अहिले सतहमा देखिइरहेका पात्रामा पनि भाइरल र महत्वकांक्षाभन्दा भिन्न अर्को विशिष्ट योग्यता/अनुभव के छ ? त्यसले पनि उनीहरुको आगामी यात्रा कहाँसम्म भन्ने निर्र्दिष्ट गर्नेछ ।

सन्तोष अधिकारी

पोखराका पत्रकार अधिकारी अचेल युरोप बस्छन् । 

तपाईको प्रतिक्रिया