एयरपोर्ट चल्दा प्याराग्लाइडिङ नचल्ने चिन्ता

अभिषेक अधिकारी २०७९ असार ३० गते १०:३२

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दिननजिकिँदै गर्दा पर्यटन व्यवसायीमा एकथरी खुसी र अर्काेथरी चिन्ता एकसाथ देखिएको छ । अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ व्यवसायको भविष्य के होला भनेर व्यवसायी चिन्तित छन् ।

वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईले प्याराग्लाइडिङ पोखराको गहना भएको बताए । ‘भर्खरै बिहे गरेर आएकी महिलालाई तैंले गहना लगाउन पाउँदिनस् भनेजस्तो भा’छ,’ उनले भने, ‘एयरपोर्ट त आयो, तर पोखराको गहनै जान्छ कि भन्ने चिन्ता छ ।’ यो समस्या समाधान गर्न सबै व्यवसायी एकै ठाउँ हुनुपर्ने उनले सुझाए ।

प्याराग्लाइडिङको भविष्यको चिन्ता गर्दै नेपाल हवाई खेलकुद संस्था (ना) ले बुधबार अन्तक्र्रिया आयोजना गरेको थियो । कार्यक्रममा भट्टराईले प्याराग्लाइडिङबारे आवश्यक परे प्रधानमन्त्रीसम्मलाई गुहार्नुपर्ने विचार राखे । नाका पूर्वअध्यक्ष योगश भट्टराईले विदेशमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ उडान भएको सुनाए । ‘मैले न्युजिल्यान्डमा अन्तर्राष्ट्रिय विमानस्थल सँगै प्याराग्लाइडिङ भएको प्रत्यक्ष देखेको छु,’ उनले भने, ‘त्यसकै आधारमा केही समन्वय गरेर भए पनि पोखरामा नै प्याराग्लाइडिङ सञ्चालन गर्न सक्छौं कि भन्ने आशा छ ।’ उनले प्याराग्लाइडिङ अरु जिल्लामा लैजाँदा पोखराको आकर्षण घट्ने बताए । ‘अहिले हामी चिनियाँ पर्यटकमा निर्भर छौं, चिनियाँ पर्यटक प्याराग्लाडिङमा आकर्षित छन्,’ उनले भने ।

Advertisement

संस्थाका पूर्वअध्यक्ष तथा पहिलो नेपाली प्यारापाइलट राजेश बमजनले पोखरामा ३ सय ६५ दिन नै प्याराग्लाइडिङ उडान सम्भव रहेको बताए । ‘सराङ्कोटमा अनुकुल मौसम छ,’ उनले भने, ‘अन्त सिजनल रुपमा मात्रै अपरेट गर्न सकिन्छ ।’ नाका नवनिर्वाचित महासचिव खेमराज आचार्यले पोखरामा ६२ वटा प्याराग्लाइडिङ रहेको र ५ सय प्यारापाइलटले उडान भरिरहेको बताए ।

नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाडिङलाई विस्थापन होइन व्यवस्थापन गरेर लानुपर्नेमा जोड दिए । ‘विमान सहरमा होल्ड हुँदा कति उचाइमा रहन्छ भन्ने अध्ययन गरेर पनि प्याराग्लाइडिङ उडाउन सिकन्छ । सेफ्टीमा भने ‘जिरो टोलोरेन्स’मा नै जानुपर्छ,’ उनले भने । पोखरा पर्यटन परिषदका उपाध्यक्ष एवम् अल्ट्रालाइट व्यवसायी पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङ सँगै अल्ट्रालाइटको पनि उडान ठप्प हुने चिन्ता बढेको सुनाए । ‘हामी पनि प्लेन जस्तै एयरपोर्टको कन्र्टोल टावरबाट नै सञ्चालित छौं तर अन्तर्राष्ट्रिय विमानस्थलको चार्चासँगै अल्ट्रालाइट पनि विस्थापन हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ,’ उनले भने, ‘विदेशमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै हवाई गतिविधि पनि चलिरहेको छ भने पनि पोखरामा पनि त्यसको सम्भावना अध्ययन गरिनुपर्छ ।’

Advertisement

नेपाल हवाई खेलकुद संस्थाका नवनिर्वाचित अध्यक्ष सुनीलबहादुर भट्टराईले आफुले पोखरामा नै प्याराग्लाइडिङ बचाइराख्न हरसम्भव प्रयास गर्ने बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन मिति नजिकिँदै गर्दा यसलाई बचाई राख्न निकै ठूलो चुनौती छ,’ उनले भने, ‘यसमा सम्पूर्ण पर्यटन व्यवसायीका साथै संघ सरकार, प्रदेश सरकार, महानगरपालिका साथै समग्र पोखराबासीको सहयोगको अपेक्षा गर्दछु ।’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रोग्मीले प्रष्ट एजेन्डाका साथ सरकारसँग समन्वय गर्न सुझाव दिए ।

यसैबीच नेपाल हवाई खेलकुद संस्थाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन पनि बुधबार भएको छ । कार्यसमिति अध्यक्षमा सुनीलबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्षमा सोभित बानियाँ, उपाध्यक्षमा अनिल केसी, महासचिव खेमराज आचार्य, कोशाध्यक्ष अशोक पराजुली निर्वाचित भएका थिए । सदस्यमा शेरबहादुर गुरुङ, दीपक थापा, विजय गौतम, भेनिस थापा, यमनाथ देवकोटा छन् ।

तपाईको प्रतिक्रिया