पाेखरा महानगरका करार कर्मचारीको भविष्य के ?

रिखिराम जिसी २०७९ साउन २ गते १०:१६

पोखरा ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै स्थानीय तहमा जागिर खाएका करारका कर्मचारीको म्याद सकिएको छ । देशका धेरैजसो स्थानीय तहले ०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका कर्मचारीलाई हटाउने निर्णय गर्दा कतिपय स्थानीय तहले म्याद थपेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि पालिकाले व्यहोर्नु परेको आर्थिक भार घटाउन करारका कर्मचारी हटाइएको दाबी गर्छन् । करार कर्मचारी पंक्ति भने राजनैतिक भागवण्डा र खिचातानीका कारण नयाँ जनप्रतिनिधि आएसँगै आफू्नजिकलाई नियुक्ति दिन करारका कर्मचारी हटाइएको तर्क गर्छन् ।

म्याद सकिँदासमेत पोखरा महानगरका ३५९ करार कर्मचारीबारे निर्णय हुन सकेको छैन

Advertisement

दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीको गत असार २९ गते म्याद थप नगर्ने निर्णय गर्‍यो । यो निर्णयविरुद्ध कर्मचारी शुक्रबारदेखि आन्दोलित छन् । शुक्रबार आन्दोलित कर्मचारीको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि विवाद भयो । प्रदर्शनमा प्रहरीले गोली चलाउदा ३ कर्मचारी गम्भीर घाइते भएका छन् । गाउँपालिकाको यो निर्णयले झण्डै २ सय कर्मचारीको जागिर गएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डबी गाउँपालिकामा पनि धेरैजसो करार कर्मचारीलको म्याद नथप्ने निर्णय भएको छ । स्वर्गद्वारीले ३४ र माण्डबीले २१ जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेका छन् । जसको विरोधमा माण्डबी गाउँपालिकाका कर्मचारीले २ दिने अल्टिमेटमसहित अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । एकलौटी ढंगले पूर्वाग्रहबाट पे्ररित भई पूर्व जानकारीसमेत नदिई एक्कासि जागिरबाट बर्खास्त गर्ने गाउँपालिकाको निर्णय गैरजिम्मेवार भएको ज्ञापनपत्रमा उल्लेख छ ।

Advertisement

कर्मचारीको म्याद सकिँदासम्म पनि पोखरा महानगरपालिकाले भने कुनै निर्णय लिन सकेको छैन । मेयर धनराज आचार्यले भने यो विषय अध्ययनको क्रममै रहेको प्रतिक्रिया दिए । अध्ययन पछिमात्र यसबारे के गर्ने भन्ने निर्णय आउने उनले बताए । यस्तो अवस्थामा म्याद सकिएका कर्मचारीको जागिर के हुने भन्नेमा महानगर अझै अन्योलमा छ । पोखरा महानगरपालिकामा ३ सय ५९ जना करार कर्मचारी छन् । करार कर्मचारीले म्याद थप नभए पनि काम भने गरिरहेको सूचना अधिकारी भरतराज पौडेलले बताए । ‘म्याद असार ३२ देखि सकिएको छ, महानगरबाट केही निर्णय आइसकेको छैन ।

करारका कर्मचारीले नियमित काम गरिराख्नुभएको छ,’ पौडेलले भने । म्याद थपबारे निर्णय आउन अझै केही दिन लाग्ने पौडेलले जनाए । महानगरमा स्वास्थ्यतर्फ १ सय ९ र अन्यतर्फ २ सय ५० गरी ३ सय ५९ करारका कर्मचारी छन् । करारका कर्मचारीको तलव, भत्तामा वार्षिक स्वास्थ्यतर्फ ९ करोड र अन्यतर्फ १० करोड खर्च हुने गरेको छ । करार कर्मचारीको तलव, भत्तामा मात्र महानगरको वार्षिक १९ करोड खर्च हुन्छ ।

म्याद थपबारे महानगरबाट कुनै जानकारी नआएको महानगरमा कार्यरत करार कर्मचारी रेशम जिसीले बताए । ‘फोहोर साल म्याद थप भएको हो, महानगरमा काम गरेको १८ वर्ष भयो,’ उनले भने, ‘यसपालि म्याद थप्ने कुनै जानकारी आएको छैन, नियमित काम गरिराखेको छु ।’ करार कर्मचारी कटान गर्दा एकतर्फ पालिकालाई परेको अर्थभार कम हुन्छ भने अर्काेतर्फ एकै पटक धेरै जनाको जागिर खोसिन्छ । कर्मचारीलाई स्वच्छिक अवकाश दिन यो आर्थिक वर्षमा पोखरा महानगरले १३ करोड विनियोजन गरेको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया