भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १ हप्तापछि स्वास्थ्य बिमा र फार्मेसी सेवा सुरु

रिखिराम जिसी २०७९ साउन ८ गते १८:३४

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ६ मा रहेको भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १ हप्तापछि स्वास्थ्य बिमा र फार्मेसी सेवा सुरु भएको छ । जनशक्ति अभावका कारण १ साउनबाट रोकिएको सेवा आइतबारदेखि सञ्चादन भएको हो ।

वडा नं ८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत सिनियर अहेव लक्ष्मण दाहाललाई भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्र पठाएसँगै सेवा चलेको वडा नं. ८ का वडाध्यक्ष रामबहादुर गुरुङले बताए । ‘गाउँपालिकाबाट अर्काे सूचना नआएसम्म दाहाललाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका छौँ, रिक्त पदमा परिपूर्तिको तयारी गाउँपालिकाले गरेको छ,’ उनले भने ।

दाहालको भेडाबारी प्राथमिक स्वास्थ्य केन्दमै दरबन्दी रहेको गुरुङले सुनाए । ‘दाहालको दरबन्दी भेडाबारी मै हो, यता आधारभूत स्वास्थ्य केन्द्र खुलेपछि कार्यालय प्रमुखको रुपमा आउनुभएको थियो,’ उनले भने ।

Advertisement

भेडाबारी प्राथमिक स्वास्थ्य केन्दको स्वास्थ्य बिमा र फार्मेसी सेवामा कार्यरत कर्मचारी फार्मेसी सहायकलाई पनि हटाइएपछि गत साउन १ गतेदेखि स्वास्थ्य बिमा र फार्मेसी सेवा बन्द थियो । स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको शनिबार बिहान बैठक बसी अर्काे सूचना नभएसम्मका लागि फार्मेसी सेवा बन्द गर्ने निर्णय गरेको थियो । साथै समस्याबारे गाउँपालिकालाई जानकारी गराउने निर्णय भएको थियो ।

सेवा बन्द हुँदा स्वास्थ्य केन्द्रमा दैनिक सेवाग्राही आएर फर्किनुपरेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिकामा कार्यरत केही करार कर्मचारी हटाइएका छन् । साउन १ गतेबाट करार कर्मचारीले हाजिर गर्न पाएका छैनन् ।

Advertisement

गाउँपालिकामा ६३ करारका कर्मचारी थिए । गाउँपालिकाको साउन ३ गतेको बैठकले १६ करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया