हाइ अल्टिच्युड रंगशालालाई २५ हेक्टर जग्गा

समाधान संवाददाता २०७९ साउन ११ गते १०:५७
छेङ्गुरमा तालिम केन्द्रका लागि जग्गा नापजाँच गर्दै प्राविधिक ।

जोमसोम ।
हाइ अल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र २ छेङ्गुरमा २५ हेक्टर सार्वजनिक पर्ति जग्गा सरकारको नाममा दर्ता भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा पर्वतीय खेलकुद क्षेत्रको विकास तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हाइ अल्टिच्युड खेलकुद तालिम केन्द्र स्थापना गर्न गएको जेठ ३ गते नेपाल सरकारको नाममा २५ हेक्टर जमिनको लालपुर्जा प्राप्ति भएको नापी कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथको उत्तरतर्फ वारागुङ मुक्तिक्षेत्र २ अन्तर्गत पर्ने छेङ्गुर आधारभूत विद्यालयबाट पूर्वतर्फ तथा अन्नपूर्ण पैदलमार्गबाट पश्चिमतर्फको पाखोमा केन्द्र निर्माणको प्रयोजनार्थ जग्गा प्राप्ति भएको हो । यसअघि स्थानीयबासी ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, स्थानीय जग्गा सिफारिस समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयले आ–आफ्नै ढंगले यसका लागि पहल गरेका थिए ।

हाइ अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन नेपाल सरकारको नाममा २५ हेक्टर जमिनको लालपुर्जा बनेको छ

Advertisement

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभाग र नापी कार्यालय मुस्ताङले केन्द्रका लागि जग्गा नापजाँचको काम गरेको नापी कार्यालय मुस्ताङका सूचना अधिकारी मदन श्रेष्ठले जानकारी दिए । तालिम केन्द्र निर्माणका लागि आवश्यक जग्गा नापजाँच गर्न २ महिना लागेको नापी कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार केन्द्रका लागि जग्गा नापजाँचसम्बन्धी सबै प्रक्रिया पूरा गर्न नापी कार्यालय मुस्ताङका प्राविधिक टोली सम्बन्धित स्थानमा पुगेको थियो ।

नापी कार्यालयका प्राविधिक मदन श्रेष्ठ, विष्णु पौडेल, शिवचन्द्र यादव, सरोज बुढा र कार्यालय सहयोगी अशोक कुमार प्रर्सेलाको टोलीले छेङ्गुरमा पुगेको थियो । टोलीले सुरुआतमा ३० हेक्टर जग्गा नापजाँच गरे पनि जग्गा काँटछाँट गरेपछि २५ हेक्टर जग्गा केन्द्रका लागि सिफारिस गरेको थियो । तालिम केन्द्र निर्माणका लागि बनेको २५ हेक्टर जमिनको लालपुर्जा अहिले नापी कार्यालय मुस्ताङमा आइसकेको छ । नापी कार्यालयले अनुकूल समय मिलाएर लालपुर्जा जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई हस्तान्तरण गर्ने कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Advertisement

केन्द्र निर्माणका लागि जग्गाको टुंगो लागेपछि सरकारलाई पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न सहज हुनेछ । केन्द्र निर्माणका लागि जग्गा नापजाँच गर्न ०७८ कात्तिक ७ गते सूचना प्रकाशित गरेको थियो । वारागुङ मुक्तिक्षेत्र र सरोकारवाला निकायको रोहबरमा छेङ्गुरमा केन्द्रका लागि जग्गा नापजाँच गर्ने काम भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । जग्गाका लागि अघिल्लो आवमा जग्गा प्राप्तिको कामअघि बढाइएको थियो ।

भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागबाट मुस्ताङको छेंगुमा तालिम केन्द्र पूर्वाधार निर्माणका लागिसरकारको नाममा जग्गा नापजाँच गर्ने निर्णय भएको थियो । त्यस बेला जग्गा नापजाँचको काम गर्न भूमि व्यवस्था तथा अभिलेख र नापी विभागले जग्गा नापजाच गर्ने पत्र कार्यालयलाई पठाएको थियो । समुद्री सतहदेखि ३ हजार ८ सय मिटरमा रहेको छेंगुरमा ०७५ फागुनमा हाइ अल्टिच्युड खेल पूर्वाधारको लागि आवश्यक जग्गा पहिचानका गर्न गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली मुस्ताङ आएको थियो ।

राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने थोरङलापास तलको फेदी छेङगुरमा जग्गा हेर्न गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङ छेङ्गुर पुगेका थिए । प्रदेशले जग्गा छनोट गरेको ४ वर्षपछि हाईअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि जग्गा प्राप्ति भएको हो । यसअघि सामाजिक विकास मन्त्रालय गण्डकीले ०७६ मंसिर २६ गते जग्गा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र वारागुङ मूक्तिक्षेत्र गापालाई पत्रचार गरेको थियो । त्यसपछि वारागुङ मुक्तिक्षेत्रले ०७६ पुस ६ गते आवश्यक ७ सय २० रोपनी जग्गा उपलब्ध गराईदिन स्थानीय जग्गा सिफारिस समितिलाई पत्र पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्थानीय जग्गा सिफारिस समितिले ०७६ पुस २० गते स्थानीय तहले सिफारिस गरेको ७ सय ३० रोपनी जग्गा सो स्थानमा नभएको उल्लेख गर्दै सो स्थानमा ५ सय ४४ रोपनी जग्गा सिफारिस गर्ने निर्णय गरेको थियो । पर्वतीय खेल क्षेत्रको प्रर्वद्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय कनेक्टिभिटी जोड्ने उद्देश्यले गण्डकी प्रदेशले मुस्ताङमा हाइअल्टिच्युड तालिम केन्द्र पूर्वाधार निर्माणको परिकल्पना गरेको थियो ।

प्रसिद्ध धार्मिक स्थल मुक्ति क्षेत्र नजिकै पर्ने छेङ्गुरमा हाइ अल्टिच्युड खेल पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति भइसकेकाले सरकारलाई पूर्वाधार निर्माणको कामअघि बढाउन सहज भएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । तुलाचनले पूर्वाधार निर्माण भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तालिम अभ्यास तथा खेल खेल्न मुस्ताङ आउने र यसले मुस्ताङको समग्र पर्यटन विकासमा टेवा पुग्ने जनाए ।

तपाईको प्रतिक्रिया