रक्त सञ्चारको अवस्था र भविष्य

सुनीता लम्साल २०७९ साउन १२ गते १२:२५

जीवनको अस्तित्व सुरु भएसँगै रगत महत्वपूर्ण प्राण तत्वका रुपमा रहँदै आएको छ । रक्तदानलाई जीवनदानका रुपमा स्वीकार गरिनुको कडी नै जीवन र रगतबीचको यही ‘बायोलोजिकल’ सम्बन्ध हो । मानव सभ्यताका विभिन्न कालखण्डमा विकास भएका संस्कृति हुन् वा धर्मशास्त्र, जीवनतत्वका रुपमा रगतलाई सर्वाेच्च स्थान दिइएको छ । रगतको जैविक तत्वको पहिचान र अनुसन्धान हुनुअघि नै रगतलाई विभिन्न धर्म र संस्कृतिमा आध्यत्मिक मुक्तिका रुपमा पुज्न थालिएको हो ।

रक्त संकलन र सञ्चारका क्रममा मृत्युदर लगभग शून्य छ भने करोडौं मानिसले पुनर्जीवन पाएका छन्

मिजेस्की सिएमले आफ्नो पुस्तक इम्युनोहेमाटोलोजीमा उल्लेख गरे अनुसार प्राचीन रोम र इजिप्टमा शारीरिक तन्दुरुस्ती र आध्यत्मिक मोक्षका लागि रक्तस्नान र रक्तपानलाई विशेष महत्व दिइन्थ्यो । पोप आठौं स्वयंले मोक्ष र पुनर्जन्मको कामनासहित रक्तपान गरेको विषय सिएमले उल्लेख गरेका छन् । प्राचीन समयमा रक्तपानमार्फत पुनर्जन्म हुने विश्वास लिइए पनि रक्तदानमार्फत जीवनदान हुने स्वीकार गर्न भने २० औं शताब्दी नै कुर्नु पर्‍यो । यद्यपि आज पनि धेरै व्यक्ति यो तथ्यबाट विमुख नै रहेको पाइन्छ ।

Advertisement

रक्त सञ्चारको सुरुआत
मानव शरीरमा विकारको पहिचान गर्ने श्रेय हिप्पोक्रेटसलाई जान्छ । उनले विकारका चारवटा कारण पहिचान गरेका थिए । उनले पहिचान गरेका विकारमा रगत (ब्लड), खकार (स्पुटम), पहेंलो पित्त (एलो बाइल) र कालो पित्त (व्ल्याक बाइल) थिए भने रगतलाई सबैभन्दा महत्वपूर्ण कारण मानिएको थियो । यद्यपि समग्र रक्त प्रणालीको अध्ययन र अनुसन्धानविना रक्तजन्य विकारको उपचार वस्तुगत र प्रभावकारी देखिएको थिएन । रक्त प्रणालीको व्यवस्थित ज्ञानकै अभावका समयमा रक्तसञ्चारको अवधारणा शून्य प्रायः हुने नै भयो ।

सन् १६२८ मा विलियम हार्वेले रक्त सञ्चार प्रणालीको व्याख्या गरेपछि त्यसको ३८ वर्षपछि मात्र रिचार्ड लोअरले २ कुकुरबीच रक्त सञ्चार अर्थात् ब्लड टान्सफ्युजन गरी मानिसमा समेत त्यसको सम्भावना औंल्याइदिए । जनावरबाट जनावर हँुदै जनावरबाट मानिसमा रक्तसञ्चारको पटक पटकको असफल र निराशाजनक तर अथक र निरन्तरको प्रयासपछि सन् १७९५ मा मानिसबाट मानिसमा रक्त सञ्चार गरिएको किम ए जनातपुरले आफ्नो पुस्तक अ व्रिफ हिस्टी अफ ब्लड टान्सफ्युजनमा उल्लेख गरेका छन् । यद्यपि सन् १९०१ मा कार्ल ल्यान्डस्टेइनरले ए, बि र ओ ग्रुपको रगत पहिचान गरेपछिमात्र रक्त समूह र क्रस म्याचिङ लगायतका आधारमा रक्त सञ्चारको सम्भावनाको द्वार खुलेको मानिन्छ ।

Advertisement

ए, बि र ओ समूहका अतिरिक्त अन्य समूहको पहिचान, विभिन्न समूह भित्रको क्रस म्याचिङ र सोही समूह भित्रको मात्र रक्त सञ्चारको सम्भावनाको विकास, विस्तार र प्रयोगमा अनुसन्धानकर्ताहरु अल्फ्रेड डिक्यास्टेलो, रिचार्ड वेल, लुडभिग हेक्टन लगायतको अथक परिश्रम मिसिएको छ । यसैका आधारमा दोस्रो विश्व युद्धताका रक्त समूहमा आधारित व्यक्ति र जातिको स्वभाव र व्यवहारको अध्ययन र विश्लेषण गरिएको थियो । यद्यपि यो विश्लेषणले समयक्रमसँगै धेरै कोणबाट चुनौति र प्रश्नको सामना गर्नु परेको छ ।

रक्त समूहको पहिचान र समूहभित्रको रक्तसञ्चारको सफल प्रयोगपछि समेत रक्तसञ्चारको विषय जटिल र चुनौतिपूर्ण थियो । यसको सफलताको दर र रक्तसञ्चारका क्रममा हुने जटिलताका कारण यसको सहज र सरल विधिको खोजी तीव्रतर हुन थालेको थियो । रक्त सञ्चारका क्रममा ब्लड क्लोटिंङ अर्थात् रगत जम्ने विषय प्रमुख समस्याका रुपमा देखिएको थियो । साथै रक्तदाता र रक्त प्राप्त गर्ने व्यक्तिमा हुने अत्यधिक दुखाई अर्काे चुनौतिका रुपमा थियो ।

सन् १९१० को दशकको अन्त्यतिर सोडियम साइट्रेटको प्रयोगबाट ब्लड क्लोटिङको समस्या केही रुपमा समाधान गर्न सकिने पत्ता लाग्यो र यसको प्रयोगबाट केही दिनसम्म रगतको भण्डारणसमेत गर्न सकिने तथ्य पत्ता लाग्यो । यस तथ्यसँगै ब्लड बैंकको अवधारणासमेत विकास भई सन् १९२१ मा पहिलो तत्कालीन ब्रिटिस रेडक्रसको पहलमा ब्लड बैंक स्थापना भयो । प्रथम विश्वयुद्धताका घाइते भएका सैनिकमा भण्डारण गरिएको रगत सफलतापूर्वक प्रयोग गरियो । यस विधि दोस्रो विश्व युद्धमा समेत व्यापक प्रयोग गरिएको थियो भने विश्वयुद्धको अन्त्यतिर एसिड साइट्रेट डेक्सट्रोसको प्रयोग गरी भण्डारणको अवधि थप लामो बनाउन सकिने भयो ।

पहिलो ब्लड बैंकको स्थापना र स्वयम सेवक रक्तदाताको बढ्दो संख्यासँगै युरोपमा ब्लड बैंकहरु खुल्ने लहर नै चल्न थाल्यो । स्वयमसेवकको संख्या दिनानुदिन बढ्न थाल्यो भने रक्तदानपूर्व परीक्षणको दायरासमेत फराकिलो हुँदै गयो । विस्तारै रगतका कम्पोनेन्टहरुको विभाजन र भण्डारण गर्न थालियो । मानव शरीरबाट निकालिएको ‘होल ब्लड’बाट राता रक्तकोष, प्लेटलेट्स र प्लाज्मा निकाल्न र भण्डारण गर्न थालिएसँगै अब रक्त पदार्थको बहुआयामिक उपयोग गर्न सकिने भयो । विभिन्न किसिमका रक्त तत्वको संकलन र भण्डारणका लागि आज विधि र प्रविधि दुवैका हिसाबले विश्वले निकै छलाङ मारेको छ । रक्त संकलन र सञ्चारका क्रममा मृत्युदर विश्वमा नै लगभग शून्य प्रायः पुगेको छ भने विश्वका करोडौं मानिसले पुनर्जीवन प्राप्त गरेका छन् ।

अहिलेको अवस्था र जोखिम व्यवस्थापन
विश्वमा रक्त सञ्चारको क्षेत्रमा भएको विकास र विस्तारले अभूतपूर्व दूरी तय गरेको छ । मुख्यतः प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धमा रत्त mसञ्चारको विकासले धेरै सिपाहीको ज्यान बचाएको थियो भने हालसम्म विश्वमा करोडौं मानिसको ज्यान बचाएको छ । रक्त सञ्चारको क्षेत्रमा भएका अध्ययन र अनुसन्धानले यसलाई थप परिस्कृत र जोखिमरहित बनाउँदै लगेको छ ।
सन् १९२१ मा पहिलो पटक ‘बलड बैंक’को स्थापना भएयता करिब सय वर्षमा विश्वका १ सय ६९ देशका १३ हजार ३ सय वटा रक्त संकलन केन्द्रबाट १ सय ६ मिलियन पोइन्ट रक्त संकलन भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यसमध्ये न्यून आय भएका देशमा वार्षिक रुपमा औषत १३ सय युनिट रगत संकलन हुने गरेको छ भने उच्च आय भएका देशमा यो तथ्यांक २५ हजार ७ सय हुन आउँछ । यसले उच्च र निम्न आय हुने देशमा रक्त उपलब्धता र रक्तसञ्चारको आवश्यकताको तस्बिर प्रस्तुत गर्दछ ।

रगतको दैनिक माग विश्वव्यापी रुपमा ठूलो फरक नभए पनि उपलब्धतामा भने निकै ठूलो अन्तर देखिन्छ । नेपाल जस्ता निम्न आय हुने देशमा मागको तुलनामा आपूर्ति निकै कम छ । नियमित रक्तदाताको संख्या विस्तार गर्न नसक्ने हो भने भविष्यमा नेपालमा रगतको उपलब्धता चुनौतिपूर्ण हुने देखिन्छ । न्यून आय भएका करिब ६० देशमा प्रति हजार१० जनाले रक्तदान गर्ने गरेको संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । मुलतः विश्वव्यापी रुपमा ३ किसिमका रक्तदाता देखिएका छन् । यसमा स्वयमसेवी रक्तदाता, पारिवारिक रक्तदाता र रक्त बिक्रेता छन् । रक्तदाताको ठूलो हिस्सा स्वयमसेवी रक्तदाताको छ ।

नेपालको सन्दर्भमा स्वयमसेवी रक्तदातामार्फत रगतको आपूर्ति भइरहेको छ भने सिमित रुपमा पारिवारिक रक्तदाताबाट रक्त संकलन गर्ने गरिएको पाइन्छ । हालसम्म रगतको खरिद बिक्रीको अवस्था नेपालमा शून्यप्रायः छ । रक्त सञ्चारको गुणस्तर र जोखिम व्यवस्थापनका सम्बन्धमा विश्वव्यापी रुपमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डलाई आधार मान्ने गरिएको छ । संगठनले रक्त सञ्चार पूर्व एचआइभी, हेपाटाइटिस बि, हेपाटाइटिस सि र साइफिलिस अर्थात भिरिंगी गरी मुलतः ४ किसिमका संक्रमणको परीक्षणलाई अनिवार्य मानेको छ ।

यसका अलावा रक्त संकलन गरिसकेपछि रक्त समूह पहिचान र क्रसम्याचिङलाई प्रारम्भिक कार्यका रुपमा रहेको छ । आवश्यकता अनुसार संकलित रगतलाई ‘होल ब्लड टान्सफ्यूजन‘ अथवा ‘कम्पोनेन्ट टान्सफ्यूजन‘का रुपमा प्रयोग गर्ने गरिएको छ । रक्त संकलन र ‘प्रोसेसिङ’का आधारमा समेत विश्वले निकै दूरी तय गरिसकेको छ । रक्त सञ्चारका सुरुवाती दिनमा रक्त संकलन रक्तदाता र रगत प्राप्त गर्ने व्यक्तिका लागि पीडादायी रहने गरेको थियो । रक्त सञ्चारका क्रममा संक्रमण विस्तार हुने सम्भावना उत्तिकै थियो भने रक्त सञ्चारकै क्रममा मृत्युदरसमेत उच्च थियो । सन् १९१७ मा प्रथम विश्वयुद्धमा घाइते भएका सिपाहीमध्ये १७ जनामा ९ जनामा मात्र रक्तसञ्चार सफल भएको तथ्यांक छ ।

भविष्य र अपेक्षा
रक्तसञ्चारका क्षेत्रमा इतिहासले गौरवपूर्ण उपलब्धिको पुस्तान्तरण गर्दै आएको छ । प्राप्त उपलब्धिलाई थप परिष्कृत र व्यवस्थित गर्दै यसको बहुआयामिक उपयोगमा अझ विस्तार गर्नु भविष्यको कार्यभार हुन आउँछ । विभिन्न रोगका उपचारमा रगतका तत्वको बहुआयामिक उपयोग बढाउनु र रगतको उपलब्धतालाई विश्वव्यापी रुपमा सहज र सरल बनाउँदै लैजानु अबको चुनौति हो । प्रविधिको विकास र विस्तारले यी दुवै कार्यभारलाई थप सहज बनाउने आशा गर्न सकिन्छ ।
रगतजन्य तत्वको विश्लेषणमार्फत् धेरै रोगको पहिचान र निदान सम्भव हुँदै गएको अवस्थामा यसको अनुसन्धान र विश्लेषणलाई थप गहनतम बनाउँदै जानु आवश्यक छ ।

द इन्टरनेसनल सोसाइटी अफ ब्लड टान्सफ्यूजनको सम्पादकीयमा भ्यान लोंगेमको भनाइ छ, ‘ֲरक्तसञ्चारका क्षेत्रमा भएका अनुसन्धानहरुबाट भविष्यका दिनमा ‘ब्लड सेल केमेस्ट्री’का क्षेत्रमा थप आशा गर्न सकिन्छ । ‘हेमेग्लोबिन’ र ‘इन्जाइम’हरुसँग वंशाणुगत रुपमा सर्दै जाने रक्त कोष विभाजन र रक्त कोष नष्ट हुने समस्याका कारण देखिएको ‘हेमोलाइटिक एनेमिया‘को समाधानका क्षेत्रमा थप प्रगतिको आशा गरिएको छ । एमजे सेगात्सियनले आफ्नो लेख न्यु होराइजन्स इन ब्लड टान्सफ्युजन मेडिसिनः प्रिजेन्ट स्टाटस एन्ड फ्यूचर ट्रेन्ड्समा रक्तसञ्चारको भविष्यका सम्बन्धमा अनुसन्धानकर्ताबाट डिएनए प्रविधिमा आधारित संक्रमणको जोखिमरहित रक्तसञ्चारका क्षेत्रमा थप अपेक्षा गर्दछन् ।

विश्व्यापी रुपमा गरिएका प्रयास र अनुसन्धानको लाभ भविष्यमा नेपाल जस्ता विकास अपेक्षी राष्ट्रले पाउने नै छन् । नेपालको सन्दर्भमा निकट भविष्यको अपेक्षा भने विकसित देशमा उपयोग भइरहेको प्रविधि भियाउनु र रक्तसञ्चारका क्षेत्रमा जोखिमको न्यूनिकरण गरी सहज र सुलभ रुपमा अधिकतम उपलव्धताको सुनिश्चित गर्नु नै हो । रगतको उपलव्धता र पहुँच विस्तारका सम्बन्धमा नेपाल र समानस्तरका देशहरुको आवश्यकता भनेको अधिकतम नागरिकसम्म रक्तसञ्चारको बहुआयामिक उपयोग, रोगको निदान र निराकरणमा रक्तसञ्चारको भूमिका र रक्तदानमार्फत जीवन दानको कल्याणकारी कार्यप्रति जानकार र उत्साहित बनाउनु नै हो ।

सूचना प्रविधिको उपयोगमार्फत रक्त समूहमा आधारित सञ्जाल निर्माण गरी ‘डिजिटल ब्लड बैंकिङ’को अवधारणामा जानु आवश्यक छ । दुर्लभ रक्तसमूहका व्यक्तिलाई यस्ता सञ्जाल विशेष महत्वका हुने भएकाले उनीहरुको संलग्नता र सहभागितामा प्रोत्साहन गर्नु आवश्यक छ । हाल भइरहेका ‘बलड बैंक’हरुको सञ्चिती क्षमता सिमित हुने भएकाले बढ्दो मागको सम्बोधन गर्न ‘डिजिटल ब्लड बैंकिङ’को अवधारणामा काम गर्नु जरुरी देखिन्छ । यस्ता भौतिक स्वरुपका ब्लड बैंकहरुलाई रक्त सञ्चारको संकलन र ‘प्रोसेसिङ’ कार्यमा मात्र नभई अनुसन्धानमा समेत क्रियाशील बनाउँदै लैजानु अबको कार्यभार र जिम्मेवारी हो ।

निस्कर्ष
रक्त समूहको पहिचान र क्रस म्याचिङका आधारमा व्यवस्थित रुपमा रक्त सञ्चारको कार्य सुरु भएसँगैे करोडौं व्यक्तिको जीवन जोगिएको छ । यसको थप परिस्कार र विकाससँगै कम्पोनेन्ट सेपरेसन र ट्रान्फ्युजनले रगतको उपयोगमा विविधिकरण हुँदै गएको छ । व्यवस्थित भण्डारणको विकाससँगै रगतको उपलव्धता र पहुँच सहज भएको छ भने सम्भावित संक्रमणको परीक्षणले सुरक्षाको सुनिश्चितता गरेको छ । यसरी हेर्दा रक्त सञ्चारका क्षेत्रमा क्रमशः नयाँ नयाँ आयाम र योगदान थपिँदै गएका छन् । यसै सिलसिलामा रक्त कम्पोनेन्टमाथि थप अनुसन्धान, रगतका माध्यमबाट रोगको पहिचान र निदान, यसको बहुउपयोग, संक्रमणको सम्भावनाको थप न्यूनीकरण, उपलब्ध अत्याधुनिक प्रविधिको विश्वव्यापी हस्तान्तरण र रगतको उपलब्धतालाई थप सहज, सरल र पहुँचयोग्य बनाउन उपलब्ध डिजिटल प्रविधिको उपयोगमा थप तीव्रता दिनु आगामी दिनको कार्यभार हो ।
लम्साल क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराकी वरिष्ठ प्राविधिक हुन्

तपाईको प्रतिक्रिया