पोखरामा आजदेखि महानगरपालिका मेयर सम्मेलन

समाधान संवाददाता २०७९ साउन १३ गते ११:५८

पोखरा ।
पोखरामा आजदेखि नेपालका ६ वटै महानगरपालिकाका मेयरहरूको सम्मेलन सुरु हुँदैछ । ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ नाराका साथ पोखरा महानगरका मेयर धनराज आचार्यको प्रस्तावमा प्रथम महानगर सम्मेलन २०७९  गर्न लागिएको हो । शनिबारसम्म चल्ने उक्त सम्मेलनमा सबै महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुनेछन् ।

सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरू आदान प्रदान गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

संघ र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु पहिलो आवश्यकता रहेको बताउँदै मेयर आचार्यले महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधारका बारेमा समेत छलफल हुने बताए ।

Advertisement

सम्मेलनमा महानगरहरू बिच आन्तरिक पर्यटक आदानप्रदान, स्थानीय उत्पादन र बजारीकरण, स्थानीय स्रोतसाधनको व्यवस्थित परिचालन, महानगरका योजना, चुनौती र व्यवस्थापन्बारेमा पनि छलफल हुनेछ । यस्तै जनहित र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका साझा सवाललाई सम्मेलनमा जोड दिइनेछ ।

सम्मेलनले साझा अवधारणा तयार पारी ‘पोखरा घोषणापत्र’ पनि सार्वजनिक गर्ने छ । आगामी २०८० सालको महानगरपालिका मेयर सम्मेलन भने ललितपुर महानगरपालिकाले आयोजना गर्नेछ । जसका लागि ‘महानगर मेयर सम्मेलन’ को लोगो अङ्कित झण्डा ललितपुरलाई हस्तान्तरण गरिनेछ ।

Advertisement

सम्मेलनमा सहभागी हुन काठमाण्डौ र भरतपुर बाहेक महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु पोखरा आईसक्नु भएको छ, भने काठमाण्डौ र भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु १२ ः ३० बजे भित्र पोखरा आउने कार्यक्रम रहेको छ । दिउँसो १ बजे होटल बाराहीमा स्वागत कार्यक्रम लगत्तै सम्मेलनका लागि सराङ्कोट प्रस्थान गर्ने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया