नवलपुरकाे भिमसेन आदर्श नमूना मावि अनवरत अब्बल

समाधान संवाददाता २०७९ साउन २४ गते १२:४७

नवलपुर ।
कसैलाई तपाइले सोध्नुभयो,‘ तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘ यहिँको…..फलानो स्कुल जान्छ ।’ त्यसो त यहाँ यो ठिक वा त्यो बेठिक भन्ने पगरी गुथाउन खोजीएको होइन । यथार्थताको धरातलमा उभिएर नियाल्दा वर्ग विभेदको माध्यम पनि नबनेको होइन स्कुल(बोर्डिङ) ।

राम्रो विद्यालयमा शिक्षा दिउँ भन्ने रहर कुन बाबुआमालाई नहोला । सन्तानको उज्जवल भविष्यका लागि छाक टारेरै भएपनि अभिभावक शिक्षामा सम्झौता गर्दैनन् । महँगो मासिक शुल्कको भारी बोकेरै भएपनि नीजि विद्यालय पठाउँछन् । कारण, सरकारी विद्यालयसँग आम अभिभावक विश्वस्त हुन अझैपनि सकिरहेका छैनन् ।

तर देशमा यस्ता केही सामुदायिक/सरकारी विद्यालय छन्, जहाँ पुग्दा मात्रै पनि तपाइलाई ‘वाह १’ भन्न मन लाग्छ । त्यस्तै विद्यालय मध्येको एक हो नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । गौरवमय ५ दशक बढीको लामो इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले आम विद्यार्थी एवं अभिभावकको विश्वास जित्दै आएको छ । यहाँ यस क्षेत्रका मात्रै होइनन्, विभिन्न ९ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् ।

Advertisement

विसं २०२६ सालमा स्थापना भएको यस विद्यालयले २०६० सालबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुवात गर्यो । २०६७ सालको एसएलसी परिक्षामा आकाश न्यौपाने ‘नेपाल टप’ भएपछि विद्यालयको शिर थप उचोँ भयो । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयका विद्यार्थी पटक पटक जिल्ला प्रथम समेत हुँदै आएका छन् । उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानित समेत भएको यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा पनि घोषित भयो ।

अहिले झण्डै २ हजार विद्यार्थी यहाँ अध्ययन गर्छन् । विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टर छन् । विद्यार्थीहरु विद्यालय समयमा सिसिटिभिको निगरानिमा रहिरहन्छन् । अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन यहाँका शिक्षक, व्यवस्थापन समिति र समुदाय लागिपर्दै आएका छन् । नर्सरीदेखि १२ सम्म अध्ययन हुने यस विद्यालयका प्रधानाध्यापक हुन् अग्नि भुसाल । रोचक के छ भने, उनि यहिँका विद्यार्थी थिए । यहि विद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेका हुन् ।

Advertisement

योङ्ग, इनर्जेटिक, बोल्ड छवि बनाएका प्रधानाध्यापक भुसाल विद्यालयलाई थप उचाई दिन लागिरहेका छन् । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अब्बल रहेको उनि बताउँछन् । भन्छन्,‘कोर्स बुकहरु त भइहाल्यो, यसका अलवा हाम्रा विद्यार्थीहरु खेलकुद लगायतका क्रियाकलापहरुमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमि हुन दिएका छैनौँ । यहि भदौ १ गतेबाट जुनियर र सिनियर सुरक्षा तालिम पनि सञ्चालन गर्दै छौँ ।’

प्रधानाध्यापक भुसालले शिक्षामा सबैको समान पहुँच र गुणस्तरिय शिक्षा नै आफ्नो मुल उद्धेश्य रहेको बताए । ‘यस विद्यालयमा जुनसुकै र जस्तोसुकै परिस्थितीबाट पनि अध्ययनका लागि आउने विद्यार्थि सहज भर्ना हुन पाउँछन्,’ उनले भने,‘विद्यार्थीको क्षमताबारे अध्ययनका लागि ईन्ट्रान्स एक्जाम चाहिँ लिने गरेका छौँ । तर सबै भर्ना हुन पाउँछन् ।’ उनले भने ।

यस क्षेत्रको मात्र नभई आसपासका विभिन्न जिल्लाका अभिभावकहरुको पहिलो रोजाई हो भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । यहाँको सेवा, सुविधा र मुलतः गुणस्तरिय शिक्षाकै कारण आकर्षण बढ्दै गएको प्रधानाध्यापक भुसालको दाबी छ ।

‘हामी विद्यार्थीको मनोविज्ञानमा सदैव सजग छौँ । यहाँको सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ । फलस्वरुप हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’ उनले भने,‘हामी मात्रै उत्कृष्ट भएर हुदैँन, यहाँको नगरपालिका, जिल्ला र राष्ट्रमै सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
यस विद्यालयबाट एसईई परिक्षामा जिल्लामा सबै भन्दा बढी विद्यार्थी सहभागी थिए । सबै विद्यार्थी उत्तिर्ण पनि भए ।

विद्यालयले अहिले कक्षा ११ मा भर्ना खुलाएको छ । प्रधानाध्यापक भुसालले एसईई उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरे । उनले भने ‘अहिले कक्षा ११मा भर्ना खुलाएका छौँ । म सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई आह्वान गर्दछु ।’ अहिले यस विद्यालयमा लगभग ५ सय विद्यार्थी प्लस टू मा अध्ययनरत छन् ।

पूर्वाधार सम्पन्न यस विद्यालयले विद्यार्थीकालागि सवारी सुविधा पनि उपलब्ध गराएको छ । विद्यालयले विसं २०८० सालको अन्तसम्म सूचना प्रविधियुक्त विद्यालय र कक्षाकोठा घोषणा गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यहरु भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए ।

साथै, अन्य जिल्ला वा टाढाबाट आउने विद्यार्थीको सहजताका लागि यहि वर्षबाट सुरु हुने गरि आवास गृहका लागि तयारी थालिएको अध्यक्ष भुसालले बताए ।

तपाईको प्रतिक्रिया