आँधीखोलामा पिजिएस तालिम

समाधान संवाददाता २०७९ साउन २७ गते ११:१७

पोखरा ।
आपसी सहयोग केन्द्र स्याङ्जा तथा आँधीखोला कृषि उद्यम सहकारी संस्थाको संयुक्त आयोजनामा स्याङ्जाको आँधीखोला ६ मा प्राङ्गारिक कृषि उपजको प्रमाणिकरणका लागि २४ कृषकलाई तालिम दिइएको छ ।

उनीहरुलाई ३ दिने सहभागितामुलक गुणस्तर नियन्त्रण प्रणाली (पिजिएस) सम्बन्धी तालिम दिइएको हो । त्रिकोण डेनमार्कको आर्थिक सहयोगमा भिरकोट नगरपालिका र आँधीखोला गाउँपालिकामा सञ्चालित प्राङ्गारिक उन्मुख कृषि बाली प्रवद्र्धन आयोजनामा आबद्ध छनौटमा परेका कृषकहरुलाई तालिम दिइएको हो । सहभागीलाई प्राङ्गारीक कृषिको अवधारणा, महत्व र नेपालमा यसको अवस्था, प्राङ्गारिक प्रमाणीकरणको परिचय, महत्व र बिधिबारे सिकाइएको छ ।

यस्तै, स्याङ्जा पिजिएसको कार्यविधि, कृषि उपज प्रमाणीकरणका मापदण्ड, आचारसंहिता, पिजिएसको संरचना, प्राविधिक, निरिक्षकको भूमिका, फार्म अवलोकन, उत्पादित कृषि उपजको ग्रेडिङ, प्याकेजिङ, लेबलिङ र बजारीकरण, कृषि बिमा, कृषि फार्म दर्ता लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

Advertisement

तालिममा आपसी सहयोग केन्द्र स्याङ्जाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेल, कार्यक्रम प्रमुख हरिप्रसाद ढकाल, आँधीखोला कृषि उद्यम सहकारी संस्थाका व्यवस्थापक यदुप्रसाद पौडेल र सचिव तथा पिजिएस सहजकर्ता रबिन पौडेलले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया