सम्पादकीयः आत्महत्या घटाउन सामूहिक प्रयास

समाधान संवाददाता २०७९ भदौ २ गते १२:२६

विश्वले नै भोगिरहेको प्रमुख समस्यामध्ये एक हो आत्महत्या । व्यक्तिगत वा सामाजिक परिवेश वा अन्य कुनै अप्रत्यासित कारणले मानिसले आफ्नै हत्या गर्ने गरेको छ । आत्महत्याको दर पछिल्लो समय घट्नुको साटो अझ तीव्र गतिमा बढेको छ । नेपालमा आत्महत्या डरलाग्दो समस्या बनिसकेको छ । अहिले देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ । नेपालमा १० वर्षसम्म चलेको सशस्त्र युद्धमा १७ हजारको ज्यान गएको थियो । महाभूकम्पका कारण ८ हजार बढीको ज्यान गएको थियो ।

यी दुबैभन्दा पनि बढी नेपालमा हरेक वर्ष आत्महत्याका कारणले मानिसको ज्यान जान थालेको छ । विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । भौतिक आवश्यकता बढ्दै जाने र सोहीअनुरुप आपूर्ति गर्न नसक्ने अवस्थाले पनि आत्महत्यालाई बढाएको छ । यो गम्भीर सामाजिक समस्याको रुपमा देखिएपछि यसलाई न्यूनीकरण गर्न राज्य र समाजले विशेष पहल गर्नै पर्छ । आत्महत्या न्यूनीकरणका उपायबारे सोंच्न र लगानी बढाउन आवश्यक देखिएको छ । आत्महत्याका अनेक कारण हुन सक्छन् ।

सम्बन्धित व्यक्तिकै मृत्यु भइसक्ने हुनाले वास्तविक कारण पत्ता लगाउन धेरै कठिन हुन्छ । अधिकांश अवस्थामा यसका कारण अनुमान गरिन्छन् । पारिवारिक विखण्डन, डिप्रेसन, अप्रत्यासित समस्या, आर्थिक दूरावस्था, कुण्ठा, बेचैन, नैराश्यता, दिग्दारीपन, बेराजगारी जस्ता समस्याले यसलाई बढावा दिएका छन् । दीर्घरोग, प्रियजन गुमाउँदा, घरपरिवार, कार्यालय वा साथीबाट समान अनुभूतिको व्यवहार नपाएमा, व्यापार तथा व्यवसायमा घाटा भएमा, दैवी प्रकोपको चपेटा लगायतका कारणले पनि मानिसले आत्महत्या गर्ने गरेको देखिएको छ ।

Advertisement

मानिस चिन्ताको कारणले डिप्रेसनमा पुग्छ र डिप्रेसन बढ्दै गएपछि कि पूर्ण पागल हुन्छ, कि आत्महत्या गर्छ । तनाव बढ्दै जाँदा मानिसले आफू बाँचेको वर्तमान पूरै अँध्यारो देख्छ । उसले अगाडि बढ्ने कुनै बाटो देखेन र बाँच्नुको औचित्य सकिएको महसुस गरेको खण्डमा आत्महत्या गर्न पुग्छ । आत्महत्या डरलाग्दो मनोरोगको परिणाम हो । यसको उपचार कुनै औषधिले भन्दा पनि मनोसामाजिक क्रियाकलापबाट मात्रै सम्भव छ । डिप्रेसन भएको थाहा पाए वा आफन्त, साथीभाइ कुनै समस्याले बिचलित भएको थाहा पाएमा उचित साथ र उपचार जरुरी हुन्छ ।

हामीकहाँ मानसिक समस्या र मानसिक रोगीलाई हेयपूर्ण दृष्टिले हेरिन्छ । यस कारणले पनि सकेसम्म डिप्रेसनको समस्या बाहिर आउदैन, भित्रभित्रै दबाएर निकै गम्भीर अवस्थामा पुगेपछि थाहा हुन्छ । मान्छेको पुनर्जन्म पुष्टि भएको छैन । यसर्थ, एक पटक प्रकृतिको उपहारको रुपमा प्राप्त जीवन खेर फाल्नु हुँदैन । आपसी सहयोग, आत्मीयता, पारिवारिक प्रेम अभिवृद्धिले यो समस्या घटाउँछ । आत्महत्या घटाउन समाजका सबै क्षेत्रको एकीकृत प्रयास आवश्यक देखिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया