आँधीखोला कृषि उद्यम सहकारीको व्यवसायिक योजना निर्माण तालिम

समाधान संवाददाता २०७९ भदौ २ गते १४:२०

स्याङ्जा l
आँधीखोला गाउपालिका वडा नं. ४ देखि ६ कार्यक्षेत्र भई स्थानीय दुध तथा प्राङ्गारिक उन्मुख कृषि उपजको बजारीकरण गरिरहेको आँधीखोला कृषि उद्यम सहकारी संस्थाले आफ्ना सदस्य लगायतका सहकारीकर्मीलाई सहकारी व्यवस्थापन, लेखापालन र व्यवसायिक योजना निर्माण सम्वन्धी तालिम दिएकाे छ ।

साउन २८ गतेदेखि दिनसम्म सञ्चालन भएको तालिममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेल कार्यक्रम प्रमुख हरीप्रसाद ढकाल, सहकारी बिज्ञ चिन्तामणी पौडेल, आँधीखोला गाउँपालिकाका अध्यक्ष बिश्व पौडेल, सहकारी प्रमुख कृष्ण पोखरेल, कृषि बिकास बैंकका ईश्वरीप्रसाद सुबेदी, जिल्ला बचत तथा ऋण सहकारी संघका रबिद्रप्रसाद श्रेष्ठ, आँधीखोला कृषि उद्यम सहकारी संस्थाका सचिव तथा पिजिएस सहजकर्ता रबिन पौडेलले सहजीकरण गरेका थिए ।

सहकारीको व्यवसायिक योजना निर्माण गरी व्यबसायिक कृषकहरुलाई प्राङगारीक कृषि उपजको उत्पादन, प्रमाणिकरण, प्रसोधन, लेबलिङ, ब्रान्डिङ गरी स्वच्छ बजारीकरण मार्फत सेयर सदस्य रोग दीगो आय–आर्जन साथै जीबिकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ तालिम दिइएको हो ।

Advertisement

तालिममा आँधीखोला कृषि उद्यम सहकारीका सञ्चालक समिति, उपसमिति साथै छनौटमा परेका सेयर सदस्य समेत गरेर २५ जनाको सहभागिता रहेको उक्त तालिममा सहकारी संस्थाको अवस्था विष्लेषण साथै विकासका क्षेत्र पहिचान, कृषि सहकारी र यसको संस्थागत विकास, सहकारीको लेखा तथा अभिलेख व्यवस्थापन, सहकारी शिक्षा र पालिकाको सहकारी विकासमा योगदान, बजारका किसिम, सहकारी बजार र यसको प्रकृया, विक्रयकला तथा उत्पादनको गुणस्तर, प्राङ्गारिक बालीको प्रमाणीकरण र यसको प्रकृया, कृषि बिमा बारे जानकारी एवम फाईदा, व्यवसायिक योजनाबारे जानकारी व्यवसायिक योजना लेखन र प्रस्तुतिकरण साथै कार्ययोजना निर्माण आदिबारे प्रशिक्षण गरिएको थियो ।

तालिम समापनको क्रममा बोल्दै प्रमुख अतिथी आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्माले आँधीखोला र स्याङ्जामै दिगो कृषि बजारको सञ्चालन नभएको अवस्थामा यस सहकारीको व्यवसायिक योजना निर्माणले कृषि बजारलाई सहकारी मार्फत दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

वातावरणमैत्री कृषि, गुणस्तरीय जीवनयापनमा टेवा, स्वच्छ बजार, नमूना सहकारी सदस्यहरुको पेवा भन्ने मुल नारा तय गरेको यो सहकारीले आफ्नो सेवालाई चुस्त र दुरुस्त बनाउदै आँधीखोला र स्याङ्जामा नमुना सहकारी बन्नेमा आफु ढुक्क रहेको र यसको परिकल्पनालाई पुरा गर्नको लागि सबैक्षेत्रको सकारात्मक सहयोग रहने अपेक्षा समेत गरे ।

तपाईको प्रतिक्रिया