पाेखरामा यही वर्ष ३३ स्मार्ट शौचालय

रिखिराम जिसी २०७९ भदौ १७ गते १०:२८

पोखरा ।
पोखरा महानगरपालिकाले ३१ असारमा महानगरभित्र भएका शौचालयलाई सार्वजनिक प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आव्हान गर्‍यो । त्यसअघि काठमाडौँ महानगरले व्यवसायी र संस्थाहरुसँग साझेदारीमा शौचालय सार्वजनिक प्रयोग गर्न साझेदारी सुरु गरेको थियो । कतिपयले पोखरा महानगरको यो प्रयासलाई चर्चामा आउनका लागि गरिएको स्टन्डको संज्ञा दिए ।


अहिले पोखरा महानगरपालिकाभित्र २७ सार्वजनिक शौचालय छन् । तीमध्ये धेरैजसो प्रयोगविहीन छन् । नियमित सरसरफाइ र मर्मतसम्भार नहुँदा सार्वजनिक शौचालय प्रयोगमा छैनन् । भएका शौचालयसमेत प्रयोग ल्याउन नसकेपछि महानगरको आलोचना भएको थियो । महानगरको आव्हानपछि ३२ आवेदन परेका छन् । ३२ व्यक्ति तथा संस्था आफ्ना शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छाले साथ महानगरमा आएका छन् । महानगरले ती सबै व्यक्तिसँग आवश्यक समन्वय गरी बिहीबारदेखि शौचालयको सार्वजनिक प्रयोग सुरुवात गरेको छ ।

योजना अन्तर्गत १ वर्षमा कम्तीमा ३३ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्छौ । आवश्यकता अनुसार त्यो भन्दा धेरै पनि हुन सक्छ ।
धनराज आचार्य
मेयर

Advertisement


पोखरा महानगरका मेयर धनराज आचार्यले अधिकांश क्षेत्रमा सार्वजनिक शौचाचयको सेवा सुरु भएको बताए । ‘सुन्दा सानो लाग्छ तर आफैंलाई अप्ठ्यारो परेका बेला पब्लिक ट्वाइलेट नपाउँदा कस्तो गाह्रो हुन्छ, मान्छेले किन आइस् यहाँ भनेर हेला गर्ने अवस्था पनि हुन सक्छ । त्यसैले अधिकांश क्षेत्रमा यो सेवा सुरु भएको छ,’ मेयर आचार्यले भने ।


महानगरले आफ्नै स्वामित्वकासार्वजनिक शौचालय व्यवस्थापन गर्न नसकी संघ, संस्थासँग साझेदारी गरेको कतिपयको तर्क छ । अहिले सार्वजनिक शौचालयको साझेदारी १ वर्षका लागि मात्र भएको छ । मेयर आचार्यले साझेदारी सुविधा सम्पन्न सार्वजनिक शौचालय नबन्दासम्म साझेदारी हुने बताए । ‘महानगरमा १ वर्षभित्र सुविधा सम्पन्न सार्वजनिक शौचालयहरु बनाउने योजना छ,’ उनले भने, ‘योजना सम्पन्न नभएसम्म विभिन्न संघ, संस्थासँग साझेदारी भइरहन्छ ।’

Advertisement


साझेदारीका लागि अन्य संघ, संस्था तथा बैंक, वित्तीय संस्थाले पनि प्रस्ताव राखेको मेयर आचार्यले सुनाए । कार्यक्रममा महानगरसँग साझेदार गरेको सिटी स्क्वायरका सल्लाहकार उमेश पराजुलीले जनताको सेवा गर्ने अवसर प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए ।


महानगरले यो आर्थिक वर्षमा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि ८ करोड बजेट विनियोजन गरेको छ । पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकका लागि ४/४ करोड बजेट छ । महानगरपालिमा १ वर्षभित्र कम्तीमा ३३ सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण हुने मेयर आचार्यले दाबी गरे । ‘स्मार्ट सार्वजनिक शौचालयको योजना अन्तर्गत १ वर्षमा सुविधा सम्पन्न कम्तीमा ३३ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्छौ,’ उनले भने, ‘आवश्यकता अनुसार त्यो भन्दा धेरै पनि हुन सक्छ ।’


१ वर्षभित्र महानगरका मुख्य चोक र केन्द्रमा सुविधा सम्पन्न शौचालय बनाउने उनको प्रतिबद्धता छ । स्मार्ट सार्वजनिक शौचालयको निर्माणको योजना टेन्डर प्रक्रियामा छ । ‘कुन कुन ठाउँमा कस्तो जग्गा छ, आवश्यकता कस्तो छ, सोही स्मार्ट शौचालय निर्माण गछौँ,’ मेयरले आचार्यले भने । पुराना सार्वजनिक शौचालयलाई स्तरोन्नति गरिने भएको छ ।


रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया