बर्खायाममा बेनी–जोमसोम सडकमा सास्ती

सुन्दरकुमार थकाली २०७९ भदौ २३ गते १०:४८

जोमसोम ।
बेनी–जोमसोम ७६ किमी सडकमा बाढी/पहिरो र नदी कटानका कारण मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारी साधनले निकै सास्ती पाउँने गर्छन् । बर्खायामको समयमा बेनी–जोमसोम सडकको ठाउँठाउँ बाढीपहिरो र नदी कटानले सडक संरचनामा क्षति हुने गर्दा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारी साधनलाई बर्सेनि सास्ती हुने गरेको छ ।

उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग कोरलानाका हुँदै व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले सरकारले २०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडक स्तरोन्नति थालिएको थियो । त्यसअघि २०५७–०५८ सालमा नेपाली सेनाले मुस्ताङबाट म्याग्दीतर्फ सडक ट्रयाक ओपन गरेको थियो । बेनी–जोमसोम ७६ किमी सडकको कुल लागत मध्ये २ अर्ब २० करोड रुपैया खर्च भईसक्दा आयोजनाको भौतिक प्रगती ७५ प्रतिशत छ । बेनी–जोमसोम सडकको ४ खण्ड मध्ये प्याकेज १,३ र ४ मा गरी २६ किमी सडकमा कालोपत्रे विस्तार भईसकेको छ । पछिल्लो समय मालढुङ्गा –बेनी १३ किमी सडक र जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडकको योजना थपिएका छन् ।

बेनी–जोमसोम सडकको भौतिक प्रगती भईरहेको जनाईएपनि अहिले यो सडकमा बर्खायाम सुरु हुँदा बर्सेनि पर्यटक तथा सवारी साधनले निकै तनाव व्यवहोर्न बाध्य छन् । बर्सेनि बेनी–जोमसोम सडकको दोस्रो खण्ड काभ्रेभीर र रुप्से झरनाको सडकले बर्खायाम लागेपछि दुख दिईरहन्छ । म्याग्दीको कमजोर भूबनोट, बाढी, पहिरो र कालिगण्डकी नदी कटानले बेनी–जोमसोम सडकमा बर्खायाम लागेपछि असहज परिस्थिती सृजना गरिदिन्छ । आर्थिक वर्ष २०७८÷०७९को असार देखि भाद्र महिनाको १५ गतेसम्म दर्जनौ पटक सडक संरचनामा क्षति पुग्दा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारी साधनले सास्ती भोग्न बाध्य भए ।
करिडोर सडक अन्तर्गत मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने काभ्रेभीरमा १६ सय मिटर दुरीमा रक कटिङ गरी सडक चौडा गरिदंै छ । काभ्रेभीर बेनी–जोमसोम सडकको सबै भन्दा अप्ठ्यारो र जोखिमयुक्त सडक हो । तलपट्टी कालिगण्डकी नदीको गल्छी र भिरोलो ठाउँबाट सडकको ट्रयाक विस्तार गरिदाँ त्यहाँ सडक चौडा गर्न रक कटिङ गर्नु परेको हो ।

Advertisement

यस्तै, २ वर्षअघि म्याग्दीको रुप्से खोलाको भिषण बाढीले सडक संरचना बगाउनुको साथै त्यहा निर्माणधिन पक्की पुल समेत बगाएको थियो । बेनी–जोमसोम सडकको अन्य ठाउँमा समेत बग्रेल्ती सडक सास्ती हुने गरेको पाईएको छ । म्याग्दी खण्डमा बढी मात्रामा वर्षा हुने भएकाले समेत सडकको अवस्थामा सुधार आउन नसकेको हो । पोखरा –काठमान्डौं देखि मुस्ताङ आएका पर्यटक बर्खायाममा हिलाम्मे सडकमा सवारी साधन फस्ने, सडक ट्रयाक बन्द हुदाँ यात्रु तथा सवारी साधन अलपत्र पर्ने समस्या छ ।

भौगोलिक अवस्था र बेनी–जोमसोम सडकको बैज्ञानिक प्राविधिक अध्ययन नगरी हुचुवाको भरमा आयोजना सुरु गर्दा बेनी–जोमसोम सडक यात्रु तथा सवारी साधनलाई असहज अवस्था सृजना भएको हो । म्याग्दी खण्डको कमजोर धरातलिय संरचना, रक कटिङ गर्दा बलौटी पथ्थरिलो माटोले गर्दा पटक/पटक सडक संरचनामा क्षति हुने गरेको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले उल्लेख गरे । ‘तल पट्टी कालिगण्डकी र भीर छ, सबबेस उठाउने ठाउँ छैन, सडक चौडा गर्न रक कटिङ गर्नुपछ, उनले भने,‘ रक कटिङ गरेको ठाउँमा रक स्टेबल हुन केही वर्ष लाग्छ, कटिङ गरेको स्थानमा रक स्टेबल नहुँदा बारम्बार पहिरो गएको हो ।’

Advertisement

उनले रक कटिङ गरेको स्थानमा सुरुआत चरणमा समस्या हुने गरेपनि केही वर्ष रक स्टेबल भई पहिरो जाने समस्या रोकिने बताए । ‘केही स्थानमा सडक एलाईमेन्ट परिवर्तन गर्नुपर्ने देखिन्छ, आयोजनाले ट्रनेल आदीको सर्वे डिजाईन गर्दैछ, उनले भने, ‘सडक विस्तार गर्दा भौगोलिक अवस्था र मौसम प्रतिकुलताका कारण सडक आवागमनमा समस्या देखिने गरेको हो ।’
प्रोजेक्ट म्यानेजर शर्माले बेनी–जोमसोम सडकमा बाढी,पहिरो र नदी कटानले समस्या निम्त्याउने गरेपनि निर्माण कम्पनीले निरन्तर सडक सफा गरी सडक खुलाउने काम गरेको बताए ।

गतवर्षको फागुन महिनामा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अनुगमनमा आएका राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दीको दुई वटा खण्डमा सुरुमार्ग आवश्यक रहेको औल्याएका थिए । आयोगका उपाध्यक्ष पौडेलले म्याग्दीको भीरकाटे र रुप्से झरनामा सुरुङमार्ग चाहिने अनुगमनका क्रममा बताएका थिए । उपाध्यक्ष पौडेलले म्याग्दीको भीर काटेमा ३५० मिटर र रुप्से झरनाको सडकमा सुरुङमार्ग निर्माण गर्न पहल गर्ने बताएका थिए । सो स्थानमा सुरुङ मार्ग भएमा सडक दीर्घकालिन हुने उपाध्यक्ष पौडेलले त्यसबेला उल्लेख गरेका थिए ।

तस्विरः ईन्द्रसिंह शेरचन

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया